बिहे गर्ने बेलामा सम्बन्धविच्छेद

151

तेह्रथुम /   जिल्लामा विद्यालय र क्याम्पस पढ्दै गरेका युवा युवतीले विवाह गर्ने उमेर नभई भागेर प्रेम विवाह गर्ने र पछि बिहे गर्ने उमेर हुँदै गर्दा सम्बन्धविच्छेद गर्नेको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला अदालतमा पछिल्ला वर्षमा सम्बन्धविच्छेदका मुद्दाको सङ्ख्या बढ्दै गएको र यसरी मुद्दा गर्ने महिला र पुरुषको उमेर १८ देखि ३० वर्ष छ ।

जिल्ला अदालतको तथ्याङ्कअनुसार पछिल्ला चार वर्षमा १२३ जोडीले सम्बन्धविच्छेद गरेकामा आव २०७४/०७५ मा मात्रै जिल्लाका ४१ जोडी पुगेका छन् । तीमध्ये आधाभन्दा बढी जोडीको विवाह कम उमेरमै भएको र पछि सम्बन्धमा दरार आएको पाइएको छ ।

सो समय सम्बन्धविच्छेद गर्ने ४१ जोडीमध्ये १८–२५ वर्षका पुरुष पाँच र महिला ११ रहेका श्रेष्तेदार अम्बिकाप्रसाद दाहालले जानकारी दिनुभयो । २५–३० उमेर समूहका छ महिला र पुरुष सात छन् । यस्तै ३१–४० वर्ष उमेर समूहका महिला ११ र पुरुष १२ छन् ।

सम्बन्धविच्छेद गर्ने जोडीमध्ये ४० माथिका महिला दुई र पुरुष पाँच रहेका जानकारी दिँदै श्रेष्तेदार दाहालले भन्नुभयो, ‘सम्बन्धविच्छेदका मुद्दा यसअघि महिलाले मात्रै दर्ता गर्न पाउँथे, पछिल्लो वर्ष फैसला भएका ४१ जोडीमध्ये १८ देखि ३० वर्षका महिलाको सङ्ख्या १७ छ ।’

उहाँले कानूनले सम्बन्धविच्छेदका लागि दर्ता भएका मुद्दामा बाल विवाह ठहर नगरे पनि सम्बन्धविच्छेदका लागि आउनेमध्ये अधिकांश कलिलैमा बिहे गर्ने, भागेर प्रेम विवाह गर्ने र सामाजिक सञ्जालमार्फत चिनजान भएर लोभ लालचमा बिहे गर्ने बढी भएको सुनाउनुभयो । ‘सम्बन्धविच्छेदका लागि आउने अधिकांशको प्रेम विवाह भएको पाइन्छ’, श्रेष्तेदार दाहालले भन्नुभयो, ‘त्यसमध्ये पनि फोन संवाद, सामाजिक सञ्जाल र कम चिनजानकै आधारमा भएका विवाह बढी हुन्छन् ।’

अदालतको तथ्याङ्कमा उल्लेख भएअनुसार आव २०७३/०७४ मा पनि १९ जोडीको सम्बन्धविच्छेद भएको थियो । जिल्लामा आव २०७२/०७३ मा ३६ जनाले सम्बन्धविच्छेद गराएका थिए भने आव २०७१/०७२ मा २९ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका थिए । जिल्ला अदालतमा पछिल्ला वर्षमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा नै सम्बन्धविच्छेदका रहेका छन्।

सूचना प्रविधिको दुरुपयोग, पारिवारिक बेमेल, एक–अर्कामा विश्वासको कमी र पश्चिमा समाजको प्रभावले पनि दाम्पत्य जीवनलाई सम्बन्धविच्छेदको अवस्थामा पु¥याउने गरेको छ । विद्यालय तहमा पढ्दा–पढ्दै विवाह गर्ने र जिम्मेवारी बढ्दै जाँदा सम्बन्धमा खटपट सिर्जना भई बिच्छेद हुने गरेको अधिवक्ता नारायण लुइँटेलको भनाइ थियो ।

कानूनले बाल विवाहलाई अपराध माने पनि युवा युवतीले परिवारलाई थाहै नदिई १५–१७ वर्षको उमेरमै विवाह गर्ने गरेका हुन् ।

अभिभावककै सहमतिमा हुने विवाहमा समेत उजुरी नपर्ने गरेकाले प्रहरी र अदालतको तथ्याङ्कमा बाल विवाह नदेखिए पनि गाउँ समाजमा बाल विवाह छ्याप्छ्याप्ती भएको पाइन्छ ।

हालै कार्यान्वयनमा आएको मुलुकी संहिताले विवाह गर्ने उमेर अझै बढाएर महिला पुरुष दुवैलाई २० वर्षको हद तोकेको छ तर अघिल्लो कानूनी व्यवस्थासमेत कार्यान्वयन नभएको अवस्थामा अहिलेको कानूनी व्यवस्था हुबहु कार्यान्वयन हुन कठिन देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here