काठमाडौ, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आउँदो दश वर्षपछि नेपालमा आर्थिक सामाजिक क्रान्तिको परिणाम सजिलै देख्न सकिने बताएका छन् । कपिलवस्तु उद्योग वाणिज्य सङ्घले वाणगङ्गामा आज आयोजना गरेको दशौँ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष दाहालले चालू दश वर्षलाई सरकारले समाजवादको आधार निर्माणको दशकका रुपमा अघि बढाएकोे बताए । अध्यक्ष दाहालले ल्हासादेखि लुम्बिनीसम्मको रेलमार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग निर्माण, हुलाकी सडक निर्माणजस्ता भौतिक पूर्वाधारहरु चालू १० वर्षमा शुरु गर्ने तयारीमा सरकार अघि बढेको बताए । उनले नेपाल, भारत र चीनबीच त्रिदेशीय आर्थिक साझेदारीको नयाँ रणनीतिका साथ सरकार आर्थिक विकास र समृद्धिको दिशामा अघि बढेको बताउँदै चीनसँग चार वटा बन्दरगाहा सम्मको पहुँच अब नेपालको सहज हुने दावी गरे । दाहालले अब देश भूपरिवेष्ठित देशको रुपमा होइन, समुन्द्रसँग जमीनबाट जोडिएको देशको रुपमा पहिचान स्थापित गर्ने बताए ।


















