पाकिस्तानलाई अब पुरानो नजरले नहेरौं

696

–निमकान्त पाण्डे

गत साता पंक्तिकारसहितको नेपाली मिडिया डेलिगेसनको टोलीलाई पाकिस्तानको राजधानी इस्लामावाद हुँदै लाहोर लगायतका महत्वपूर्ण स्थानमा महत्वपूर्ण भ्रमण गर्ने अवशर प्राप्त भयो । एक साता लामो भ्रमण निकै फलदायी भयो र पाकिस्तानले पछिल्लो पटक द्रूत गतिमा गरिरहेको विकासलाई पनि नजिकबाट नियाल्ने अवशर मिल्यो । करिब दुई वर्ष पहिले पंक्तिकारलाई उत्तरी छिमेकी मुलुक चीनको भ्रमण गर्ने अवशर प्राप्त भएको थियो । त्यो भ्रमणमा चीनले पछिल्लो समयमा गरिरहेको विकास र प्रगति देखेर आश्चर्य र लोभ समेत लागेको थियो । पछिल्लो पटक पाकिस्तानले गरिरहेको प्रगति पनि त्यत्तिकै लोभलाग्दो देख्न पाइयो ।

पाकिस्तानले भौतिक पूर्वाधारको विकास त द्रूत गतिमा गरि नै रहेको छ, जसलाई यस अघीको आलेखमा पनि उल्लेख गरिइसकेको छु । पाकिस्तानबाट सिक्नुपर्ने अर्काे कुरा भनेको यसले पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने सामाजिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धन हो । जसरी पछिल्लो समय चीनले विकाससँगै पर्यटकीय माध्यमबाट विश्वलाई आकर्षित गरिरहेको छ, मित्रराष्ट्र पाकिस्तानले पनि कहिँ न कतै त्यसलाई पछ्याइरहेको महसुस भयो । राम्रो कुरा जुनसुकै देश परिवेशको भए पनि पछ्याउँदा मुलुकलाई फाइदा नै हुन्छ जस्तो लाग्छ । त्यो कुरा पाकिस्तानले गरिरहेको पाइयो ।

बहुसंख्यक मुस्लिम बसोबास रहेको पाकिस्तानमा अन्य धार्मिक सम्प्रदायमाथि अनुदार रहेको आरोप र हल्लाहरू भइरहन्छन् । तर पाकिस्तान भ्रमणका क्रममा हिन्दु, बौद्ध लगायतका समुदायका धार्मिक आस्थाका केन्द्र मानिने मन्दिर र गुम्बाहरू लगायतलाई जसरी संरक्षण र प्रवद्र्धन गरिएको पाइयो, भ्रमणका क्रममा देखिएका पाण्डवले पानी खाने कुवा, पाण्डवहरूले बसोबास गर्ने भनिएको ठाउँ, विभिन्न हिन्दु मन्दिर, गौतम बुद्धले भ्रमण गरेको र बसोबाससमेत गरेको स्थानलाई निकै सजावट र संरक्षण गरेर राखिएको छ ।

हिन्दु मन्दिरहरूमा ठूला–ठूला आवाजसहित धार्मीक अनुष्ठान तथा भजनकीर्तन गरेको देख्न र सुन्न पनि पाइयो । मुस्लिमहरू मस्जिदमा आफ्नो धार्मिक परम्परालाई पछ्याइरेका छन् । फरक फरक सम्प्रदायबीचमा पनि सद्भाव देख्न सकिन्छ । सबै समुदायका धार्मिक आस्थालाई प्रवद्र्धनका लागि पाकिस्तानले पछिल्लो समय गरिरहेको प्रयासले पाकिस्तानमाथि लाग्ने गरेका आरोपलाई गलत सावित गरिदिन्छ । पाकिस्तानले मुलुक भित्र रहेका धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनले त्यहाँको पर्यटकीय क्षेत्रको विकासमा निकै ठूलो सहयोग पु¥याइरहेको महसुस गर्न सकिन्छ । नेपाल धार्मिक र सांस्कृतिक सम्पदाको खानी हुँदा समेत यसको सही सदुपयोग हुन नसक्दा पर्यटकहरूलाई आकर्षित गर्न सकिएको छैन, जुन पाकिस्तानबाट सिक्न आवश्यक छ ।

पाकिस्तान भ्रमणका क्रममा पंक्तिकारलाई आकर्षित गरेको एउटा अर्काे विषय त्यहाँको ट्राफिक व्यवस्थापन पनि हो । पाकिस्तानका चिल्ला सडकमा ट्राफिक प्रहरीहरू फाट्टफुट्ट देखिन्छन्, तर उनीहरूले प्रविधिको प्रयोगलाई यति धेरै चुस्त बनाएका छन् कि नियम उल्लंघन गर्नेलाई प्रविधिको सहयोगबाट केही समयभित्रमै कारबाहीको दायरामा ल्याइहाल्छन् । अर्थात सडकमा सवारीसाधन चलाउनेहरूले ट्राफिक प्रहरीको उपस्थिति नभए पनि नियम उल्लंघन गरेकोे खण्डमा सिसिक्यामेरामा कैद भइहाल्ने व्यवस्था निकै प्रभावकारी ढंगले विकास गरिएको पाइयो । यसको सिको नेपालको ट्राफिक व्यवस्थापनले पनि गर्न जरुरी छ जस्तो लाग्दछ । केही वर्ष पहिले पंक्तिकारले बेलायत भ्रमणका क्रममा अनुभव गर्न पाएको जस्तै पाकिस्तानमा महसुस गरियो । त्यसैले ट्राफिक व्यवस्थापनका लागि पाकिस्तानले गरेको विकासलाई नेपालले पनि पछ्याउन सक्ने हो भने त्यो निकै फलदायी हुन सक्नेछ ।

पाकिस्तानलाई विश्व जगतले हेर्ने सबैभन्दा अहम् पक्ष त्यहाँको शान्ति सुव्यवस्था हो । पाकिस्तान भन्ने वित्तिकै अशान्ति, असुरक्षा र आतंकवाद भन्ने जस्ता विषयमा प्रश्न उठ्ने गर्छन् । विश्वजगत र विशेष गरी विश्वभरका सञ्चारमाध्यमले पनि पाकिस्तानका बारेमा यस्तै सन्देश दिइरहेका हुन्छन् । जसले गर्दा पाकिस्तानलाई हेर्ने दृष्टिकोण केही फरक हुने गर्दछ बाहिरबाट । तर पछिल्लो समय पाकिस्तानलाई विगतकै ढंगले अनुमान, विश्लेषण र आरोप लगाउने हो भने त्यो पाकिस्तानमाथिको ठूलो अन्याय हुन जान्छ । विश्वजगतले विगतमा गरेजस्तो अनुमान वर्तमान पाकिस्तानमा छैन । अझ भन्ने हो भने पाकिस्तानको आन्तरिक कारणले अहिले त्यहाँ असुरक्षा महसुस गर्नुपर्ने अवस्था छैन ।

कतिपय ठाउँ जस्तै बलुचिस्तानमा भारतका कारण र अफगानिस्तानको सीमा क्षेत्रमा तालिवानका कारण केही असहजता पक्कै महसुस गर्न सकिन्छ । तर त्यो पनि आयातित कारण हो । जसले गर्दा पाकिस्तानलाई नै अशान्तिको कारण मान्ने परम्परालाई अहिलेको पाकिस्तानले स्वीकार गर्दैन र त्यस्तो कहीँ कतै देखिदैन । जुन एक साता लामो भ्रमणका क्रममा महसुस गर्न पनि सकियो ।

विशेष गरी नयाँ प्रधानमन्त्री इमरान खानले सत्ताको नेतृत्व गरेपछि पाकिस्तान विकासको नयाँ उचाइमा पुग्दैछ भन्ने महसुस हुन्छ । विकास मात्र होइन, शान्ति, सुव्यवस्थाका हिसाबले पनि नयाँ प्रधानमन्त्री खानले पाकिस्तानलाई नयाँ उचाइमा पु¥याउँदै छन्, जसका संकेतहरू पाकिस्तानमा देखिन थालेका छन् । आम जनसाधारणमा प्रधानमन्त्री इमरान खानको प्रभाव जबर्जस्त बनेको छ । सुरुआत नै भ्रष्टाचारविरुद्ध लक्षित छ र मितव्ययितालाई चरित्रको विषय बनाइएको छ । यसले गर्दा जनतामा सरकारप्रति आशा र विश्वास जगाएको छ भने आफ्नो काममा लगनशीलता र इमान्दारिता पनि विकसित गराएको छ । यो नै समृद्धिको मार्ग अवलम्बनको स्पष्ट संकेत हो । समृद्धि भयो भने अरु सबैखालका विकृति र विसंगतिहरू हराएर जाने विश्वास पाकिस्तानी जनतामा पाइन्छ ।

विगतमा सत्ताको नेतृत्वमा पुग्ने पाकिस्तानी नेतृत्वमा कतिपय अवस्थामा व्यक्तिगत स्वार्थ हावी हुँदा पाकिस्तानले गर्नुपर्ने जति विकास गर्न सकेको थिएन । मुलुक सत्ताको आन्तरिक खेलमा लाग्दा त्यसको असर समग्र मुलुक र शासन व्यवस्थामा पनि परेको थियो । तर, पछिल्लो समय क्रिकेटरको रूपमा विश्वमा ख्याती कमाएका खानको आगमनसँगै पाकिस्तान सत्ताको आन्तरिक खेलभन्दा बाहिर निस्किएर विकास, समृद्धि र सुशासनको बाटोमा अघी बढिरहेको छ । प्रधानमन्त्री खान पाकिस्तानलाई विकास र समृद्धिसँगै पाकिस्तानलाई विश्व समुदायले हेर्ने नजरियालाई पनि परिवर्तन गर्ने लक्ष्यका साथ अघि बढिरहेका छन् ।

पछिल्लो समय पाकिस्तान आफूलाई विश्वजगतले अनुमानको भरमा भन्दा पनि वास्तविकताका आधारमा मूल्यांकन गरोस् भन्ने चाहन्छ । त्यसका लागि पाकिस्तानले आफूलाई तयार गर्दै लगिरहेको पनि छ । पाकिस्तानले अवलम्बन गरिरहेको नीति, आर्थिक विकासको लहर, सुशासनजस्ता विषयमा भइरहेको उल्लेख्य सुधार यसका उदाहरण हुन्, नेपालमा त्यस्तो अभियान कहिले आउला ? पाकिस्तानमै बसेर परिकल्पनामा रमाउने बाहेक अरु विकल्प देखिंदैन । यता नेपालमा माक्र्सवादी राजनीतिक दर्शनका आधारमा राजनीति गरेका कम्युनिष्ट पार्टीले दुईतिहाइ बहुमतको सरकार सञ्चालन गरिरहेका बेला क्रिश्चियन धर्मको प्रचारमा सरकार स्वयं लागेको खबर सुन्नु पर्दा आफ्नो देश द्वन्दमा जाकिने पनि अनुमान गरियो ।

यस पंक्तिकारको पछिल्लो पाकिस्तान भ्रमणको निस्कर्ष के हो भने, अब पाकिस्तानलाई पुरानै नजरबाट हेरेर पुग्दैन । जसको झल्को पाकिस्तान भ्रमण गर्ने जो कोहीले पनि अनुभव र महसुस गर्न सक्छ । पाकिस्तान समृद्धि र सुव्यवस्थाको पथमा अघि बढिरहेको छ । र, बदलिँदो पाकिस्तानको तस्वीर सहजै देख्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here