– निशा तामाङ
यसपटक महिला हिंसाका बारेमा केही लेख्न मन लाग्यो । हरेक दिन महिला हिंसा र हत्या तथा बलात्कारका घटना बढीरहेका बेला ‘लैङ्गिक हिंसा र दुव्र्यवहार:छैन हामीलाई स्वीकार’ भन्ने राष्ट्रिय नाराको साथ नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । विश्वका धेरै देशहरूमा प्राचिनकालदेखि नै समस्याको रूपमा देखिदै आएको लैङ्गिक हिंसा रोकथामबारे जति नै अभियान चलाएपनि सफलता हात लागेको छैन ।
महिला हक हित र अधिकारका जति धेरै कुरा ग¥यो त्यत्ति नै धेरै महिला माथि अन्याय र अत्याचार बढदै गइरहेको पाइन्छ । हुन त पितृ सत्तात्मक सोच रहेको हाम्रो समाजमा महिला सशक्तिकरणका कुरा पनि उठिरहेको पाइन्छ, तर जति गरेपनि महिलाहरू शारीरिक तथा मानसिक रूपबाट समाजमा प्रताडित भइरहेका देखिन्छन् । आफ्नै घर परिवारका पुरुष सदस्यहरूबाटै लैङ्गिक हिंसाको शिकार भएका छन् महिलाहरू ।
पछिल्लो समय यता देशमा लैङ्गिक हिंसाका साथै महिला तथा बालिका बलात्कारका घटना बढिरहेको पाइन्छ । हरेक दिन बलात्कार तथा यौन हिंसाका घटना भइरहेका सुनिन्छन् । महिलाहरूमाथि बलात्कार तथा यौन हिंसाका घटना बढ्दै गइरहेका छन् भन्ने यो नै प्रमाण हो । कति महिलाले दाईजो नल्याएका कारण यातना सहनु पर्ने, बोक्सीको आरोप लगाएर घर निकाला गरिने, बालविवाह, बहुबिवाह, देहव्यापार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जवरजस्ती करणी, वैैवाहिक बलात्कार, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनाता करणी, वैदेशीक रोजगारीको नाममा ठगी तथा यौन शोषण, अत्यधिक काम, यौन दुरूत्साहन र यौन शोषणका कारण महिलाहरू हिंसाका शिकार भइरहेका छन् ।
समाजमा हुने हिंसाका गतिविधि अझ शिक्षित महिलाहरू माथि समेत हुने गरेको समेत पाइन्छ । घरेलु हिंसाका कारण हुने घटनामा पीडित हुने महिलाहरूको संख्या उल्लेख्य छ । हाम्रो समाजमा आफ्नै घर परिवारबाट लैङ्गिक हिंसाको शिकार हुन पुगेका महिलाहरूले आफूमाथिको यातनालाई सार्वजनिक समेत गर्न सकेका हुँदैनन् । समाजमा अपहेलित हुनुपर्ने त्रासले गर्दा महिलाहरू यातनालाई सहेर बसेका हुन्छन् । त्यस्ता महिलाहरूको पीडा समाजमा हजारौं लाखौंको संख्यामा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
कतिपय महिला शिक्षित भएपनि आफू कार्यरत कार्यालयबाटै पनि हिंसाका शिकार हुने गरेका समाचार पढ्न र सुन्न पाइन्छ । शिक्षित महिलाहरू पनि आफ्नो कार्यालयमा हुने यौन हिंसाका घटनाहरूलाई सार्वजनिक गर्न नसक्ने अवस्था रहेको हुन्छ । वर्षौं बितेपछि मात्र शिक्षित महिलाहरू पनि खुल्न सकेका उदाहरण हालैका केही घटनाहरूले पुष्टि गर्दछन् । चर्चित नेता केशव स्थापित र मुख्य मन्त्रीको हैसियतमा पुगिसकेका नेता शेरधन राई माथि लागेको यौन हिंसाको आरोप दृष्टान्तका रूपमा लिन सकिन्छ ।
देशमा महिला हिंसा बढ्दै गइरहेको बेला महिला सहित बालिका समेत यसकोे शिकार बन्न पुगेका छन् । समाजमा बालबालिका सानो उमेरदेखि नै बलात्कारका शिकार हुन पुग्नु दुर्भाग्यपूर्ण हो । यो अवस्थाले महिलामाथिको विभेदलाई छर्लङ्ग पारेको छ । बढ््दो महिला हिंसाको निराकरण कसरी गर्ने भन्ने बारेमा सरकारी नीति बन्नु आवश्यक छ । तर दुर्भाग्य नै भन्नु पर्दछ नीति निमार्ण तहमै बसेका व्यक्तिहरू स्वयंबाट महिलाहरू पीडित भएका पाइन्छन् ।
पुरुषहरूबाट शिकार हुन पुगेका पीडितहरू न्यायको लागि जति नै दौडधूप गरेपनि अथवा जति सुकै उच्च तहमा आवाज पु¥याए पनि न्याय नपाएको गुनासो सुन्ने गरिन्छ । न्यायीक निकायले समेत पीडितलाई न्याय दिन सकिरहेको पाइदँैन । कनुनी प्रावधानहरूमा महिला हक हित अधिकार तथा महिला हिंसाका घटनाबारे कारवाहीको व्यवस्था रहेको भएतापनि पीडितहरूले न्याय पाउन नसक्नुमा न्यायीक निकाय कै कमजोरी स्पष्ट हुन्छ । कानुन भएपनि कानुन प्रभावकारी बन्न सकिरहेको छैन । कानुन कार्यान्वयनमा नेपालको जिम्मेवार निकाय निकै कमजोर मानिन्छ ।
महिला हिंसा गर्नेलाई हुने गरेको फितलो कारवाहीका कारण महिला हिंसा गर्नेहरूमा हौसला बढिरहेको अनुभव गर्न सकिन्छ । घटनाहरू बढ्नुको कारण पनि यही नै हुन सक्दछ । पीडितले न्यायको लागि कहिं कतै बोल्न समेत सकिरहेका छैनन् । बोल्ने कतिपयलाई पनि धम्की र डर देखाउने गरिन्छ, जसका कारण यस्ता घटनाले कानुनी उपचारको बाटो बन्द भएको बुझ्न सकिन्छ ।
हिंसा र बलात्कारका घटनाविरुद्ध सामाजिक सञ्जालमा बोल्दा समेत धम्कीको दबाब आउने गरेको पाइन्छ । यस्ता घटना हाम्रो समाजमा दिनहुँ भइरहेका हुन्छन् । महिला अधिकारकर्मी समेतको भूमिकामा आफूलाई प्रस्तुत गर्न चाहने आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौंका अध्यक्ष राज्यलक्ष्मी शाक्यको दाबी अनुसार ‘जम्मा १० प्रतिशत महिला हिंसाका घटना बाहिर आउने गरेका छन् । बाँकी ९० प्रतिशत घटना घरपरिवारको दबाब, इज्जत र प्रतिष्ठामा आँच आउँछ भन्ने डर तथा चेतनाको अभाव आदिका कारणले बाहिर आउँदैनन् ।’
महिला हिंसा बढ्नुको प्रमुख कारण जनचेतनाको अभाव नै हो । शिक्षित महिलाहरू समेत रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताका कारण हिंसाका शिकार बन्ने गरेका छन् । यस्ता सोचलाई अन्त्य गर्दै यस्ता घटना विरुद्ध आवाज उठाउन जरुरी छ । महिलालाई पुरुष सरह सोच्न सबैभन्दा पहिले परम्परागत रूढीवादी सोच हटाउन आवश्यक छ । जबसम्म महिला शिक्षामा पछि पर्छिन् तबसम्म महिला कुनै न कुनै किसिमका हिंसाबाट पीडित भइरहन्छिन्।
हामी आधा आकाश र आधा धर्तीका कुरा गर्छौ, हामी रथका दुई पाङ्ग्रा पनि भन्छौं तर त्यो हैसियतमा महिलालाई पु¥याउने जिम्मेवारी बहन गर्न हामी सकिरहेका छैनौं । पुरुषबाट परिचालित हुनुपर्ने र पुरुषमै आश्रीत हुनुपर्ने अवस्थाले महिला लैङ्गिक हिंसाको शिकार बनिरहेका छन् ।
अहिलेको अवस्थामा महिला मात्र नभइ पुरुषलाई समेत प्राथमिकतामा राखेर महिलाले भोग्ने हरेक किसिमका हिंसाका घटनाबारे जागरण अभियान आवश्यक छ । महिला मात्रले यस्ता अभियानमा लागेर समस्याको समाधान गर्न सकिने अवस्था छैन । हिंसाका घटना निर्मूल पार्न पुरुष जनचेतना जागरण हुन पनि जरुरी रहेको छ । महिला हिंसाका घटनामा पुरुषहरू नै कारण हुने भएकाले हरेक पुरुष सचेत भएमात्र महिला हिंसाका घटनामा कमि आउन सक्ने कुरा ठोकुवाका साथ दाबी गर्न सकिन्छ ।[email protected] जनधारणा साप्ताहिक


















