काठमाडौं / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने जनाउनुभएको छ ।
महानिरीक्षक खनालले भन्नुभयो, ‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौँ, अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो तर यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन, प्रमुखका रुपमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।’
कञ्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले आज प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो ।
महानिरीक्षक खनालले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशङ्का देखिएको उल्लेख गर्नुभयो ।
समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’ जस्तो कमजोर भयो भनी प्रश्न गरेका थिए । समितिका सदस्य सरिता प्रसाईंले प्रश्न गर्दै भन्नुभयो, ‘जनताले शान्ति र स्थिरताका लागि दुई तिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन, प्रहरीलाई निष्पक्ष छानबिन गर्न केले रोकेको छ ?’
सांसद विमला राई पौडेलले साँचो अपराधी पत्ता नलागेसम्म प्रमाण नष्ट गर्नेलाई थुनामा राखेर कारवाही गर्न र अनुसन्धानको प्रगति विवरण दैनिक सार्वजनिक गर्न माग गर्नुभयो ।
समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भए पनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नष्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशङ्का देखिएको जिकिर गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणमा पनि ठूला मान्छेलाई जोगाउने काम भएको आरोप लगाउनुभयो ।
प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानूनी कारवाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

















