–निमकान्त पाण्डे
भ्रष्टाचार विरुद्ध प्रधानमन्त्री केपी ओलीका शब्दहरू सुन्न पाउँदा अब नेपाल साँच्चै नेपाली जनताले चाहेकै जस्तो बन्ने आशा गर्न सकिने अवस्था देखिन्छ । भ्रष्टाचार गर्नेले भ्रष्टाचार गर्दैछु भनेर सूचना दिँदैन । यो यथार्थलाई प्रधानमन्त्री ओलीले स्वीकार गर्नुभएको छ । आफूले भ्रष्टाचार गरेको छु, भ्रष्टाचार गरेरै मैले सम्पत्ति जोडेको छु र विलासी जीवन बिताउन सफल भएको छु भनेर कुनैपनि व्यक्तिले स्वीकार गर्दैन । यो कुरा प्रधानमन्त्री ओली स्वंयले व्यक्त गर्नुभएको सुनियो । यस्ता शब्दहरू प्रधानमन्त्रीको अभिव्यक्तिमा आउनु भनेको देशमा भ्रष्टाचार विरुद्ध कदम चाल्ने योजना सरकारले बनाइरहेको संकेत हो । आम जनसाधारणले यस्तै कुरा बुझ्नुपर्ने हुन्छ ।
सायद भ्रष्टाचार चाहेर मात्र गरिदैँन । भ्रष्टाचार गरेको प्रमाण भेटाउन विरलै मात्र सकिन्छ । भ्रष्टाचार एउटा यस्तो कर्म हो जो नचाहेर पनि गरिएको हुन्छ । भ्रष्टाचारको प्रमाण सम्बन्धित व्यक्तिसंग रहेको सम्पत्ति र उसले गरिरहेको कारोबार नै हो । कारोबारबाट कति आय आर्जन भएको छ ? कारोबार गरेबापतमा प्राप्त मुनाफाले वैद्यता प्राप्त गरेको छ कि छैन ? र साथै स्रोत देखा पर्छ कि पर्दैन ? यत्ति मात्र छानबिन गर्ने हो भने भ्रष्टाचारको प्रमाण सहजै खुल्न जान्छ । आर्थिक आर्जन गर्ने कुनै कारोबार छैन तर हैसियत निकै विलासी देखिन्छ भने त्यो भन्दा गतिलो प्रमाण भ्रष्टाचारका लागि अरु आवश्यक पर्दैन । यस सन्दर्भमा स्वयं प्रधानमन्त्री केपी ओलीले आफूलाई स्पष्ट गर्नु आवश्यक हुन्छ । केपी ओलीको झापाको आर्थिक हैसियत र आजको आर्थिक हैसियत तुलना गर्ने हो भने उहाँ स्वयंलाई आफूप्रति भ्रष्टाचार गरेको अभियोगमा आत्मालोचित हुनुपर्ने अवस्था छ । ओलीको आयश्रोत के हो ? कसरी उहाँको आर्थिक हैसियत चुलियो ? यी प्रश्नको उत्तर दिन ओलीजीसंग हिम्मत छैन ।
केपी ओलीको जीवन पारदर्शी छ । उहाँको कारोबार पारदर्शी छ । तर उहाँले जोडेको सम्पत्ति पारदर्शी छैन । किन ओलीले सम्पत्ति जोड्ने मोह गर्नुभयो ? यो नै भ्रष्टाचार हो । ओलीको जीवन अब धेरै लामो छैन भन्ने कुरा स्पष्ट छ । ओलीलाई सम्पत्ति मोह हुनुपर्ने कुनै कारण छैन । उहाँका छोराछोरी नै छैनन् । छोराछोरी नभएपछि कसको लागि सम्पत्ति जोड्ने ? देशको विकास गर्नु जत्ति ठूलो सम्पत्ति प्रधानमन्त्री ओलीका अरु केही हुन सक्दैन । यो कुरा प्रधानमन्त्री ओलीले नबुझ्नुभएको होला भन्न सकिंदैन । तर पनि कुन्नी किन हो उहाँलाई सम्पत्तिको मोह बढिरहेको छ । जनताले जनताका नेतालाई देशको दुईतिहाई बहुमतसहित सरकारको नेतृत्वमा पु¥याएको महसुस गरेका थिए , तर प्रधानमन्त्री ओलीले आफ्नो हैसियतलाई बुझ्न सक्नु भएको छैन । जनतामाथि विश्वासघात गरिरहनुभएको छ । उहाँ किन यसो गरिरहनु भएको छ सबैमा आश्चर्य देखिन्छ ।
केपी ओली १४ वर्ष जेल बिताएका व्यक्ति हुनुहुन्छ । त्यही १४ वर्षको जेल जीवनले उहाँलाई नेता बनायो । त्यो लामो जेल जीवन कुन उद्देश्यका निम्ति भोगिएको हो ? प्रधानमन्त्रीको हैसियतमा पुगेपछि बिर्सनु हुँदैनथ्यो । ओलीले आफ्नो राजनीतिक जीवन प्रारम्भ गर्दा देश र जनताको निम्ति के सोच्नु भएको थियो । निधारमा हात राखेर एक मिनेटमात्रै स्मरण गर्न सक्ने हो भने प्रधानमन्त्री ओलीले भ्रष्टाचार विरुद्धको अभियान आफैबाट सुरु गनुपर्ने आवश्यकता महसुस गर्नुहुनेछ । आफूले आर्जन गरेको सम्पत्तिको स्रोत देखाउने आधार प्रधानमन्त्री ओलीसंग छैन । कुनै कारोबार नभएको व्यक्तिले यति आश्चर्य लाग्दो किसिमबाट आर्थिक प्रगति गर्न सक्दैन । त्यसैले प्रधानमन्त्री ओलीले पाकिस्तानका प्रधनमन्त्री इमरान खानको जस्तो सरकारी सुविधाको प्रधानमन्त्री निवास त्याग गर्न नसकेपनि आफ्नो आयश्रोत देखाउन नसकिने सम्पत्ति राज्यका नाममा दाखिला गरिदिनु भ्रष्टाचार विरुद्धको सशक्त कारबाही प्रारम्भ गरेको सन्देश देशव्यापी रूपमा मात्र नभएर विश्वव्यापी पनि हुनेछ । प्रधानमन्त्री ओलीलाई कसैले कारबाही गर्न सक्ने अवस्था छैन । आफू विरुद्ध आफैले कारबाही गरेको देखाएर नेपाली जनतामा भ्रष्टाचार विरुद्धको रक्तसंचार गराउने हैसियत पनि प्रधानमन्त्री ओलीसंग अहिले छ ।
ओलीले राजनीति सुरु गर्दा ‘सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ’ भन्ने शिक्षा लिनुभएको थियो । त्यहि आधारमा हतियार बोकेर ‘वर्गशत्रु सफाया अभियान’ले १४ वर्षको जेल सजाय भोग्न उहाँलाई बाध्य हुनुपरेको हो । बन्दुक बोकेरै जेल पुग्नु भयो , हजारैं वीर योद्धाहरूले बन्दुक बोकेरै जीवन बलिदान गरेका छन् । त्याग र बलिदानीबाटै अहिले सत्ता प्राप्त भएको छ र ओली देशको प्रधानमन्त्री बन्नुभएको छ । सत्ता प्राप्त गरेपछि जनताको निम्ति केहि गर्न सकिदैन भने किन सत्तामा ओलीहरू नै पुग्नुप¥यो ? परम्परागत शैलीकै जनविरोधी शासन जनतालाई आवश्यक छैन । जनताले बलिदानी परम्परागत शैलीको शासनको निरन्तरताका लागि गरेका होइनन् । यो कुरा प्रधानमन्त्री ओलीले बिर्सिनु हुँदैन । हुनत अन्तमा चुनावमार्फत शान्तिपूर्ण राजनीतिले सत्ता प्राप्त गराएको छ । परन्तु यो सत्ता प्राप्तिका पछाडि झापा विद्रोहको इतिहास महत्वपूर्ण छ । झापाबाट सशस्त्र विद्रोहको सुरुवात नभएको भए केपी ओलीकोे राजनीतिक व्यक्तित्व कहाँ खुम्चिएर बसेको हुन्थ्यो होला ? कल्पना गर्न सकिन्छ । झापाबाट सशस्त्र विद्रोह सुरु नभएको भए न त ओलीले त्यो विद्रोहमा सहभागिता जनाउनुहुन्थ्यो न त १४ वर्षसम्म उहाँलाई जेलमा नै बस्नुपर्दथ्यो र न त उहाँ कम्युनिष्ट पार्टीको नाममा जनताको मत प्राप्त गरेर दुई तिहाई बहुमत सहितको प्रधानमन्त्री नै बन्न सक्नु हुन्थ्यो । त्यसैले केपी ओली प्रधानमन्त्री पदमा पुग्नुका पछाडि सशस्त्र विद्रोहको भूमिका र हजारौं नेपाली नागरिकहरूको बलिदानी नै महत्वपूर्ण छ भन्ने कुरा कमसेकम केपी ओलीले सम्झन सक्नुपर्दछ ।
निश्चय पनि शान्तिपूर्ण तरिकाले केपी ओली देशको कार्यकारी प्रमुख बन्न सफल हुनुभएको छ । त्यसो त १० वर्षसम्म जनयुद्ध लडेर आएका प्रचण्ड र बाबुराम भट्टराईदेखि लिएर एमालेकै नेताहरू झलनाथ खनाल र माधव नेपाल पनि नेपालको कार्यकारी प्रमुख बनेकै हुन् । कम्युनिष्ट पार्टीको नेताको हैसियतले देशको कार्यकारी प्रमुख बनिसकेपछि आफ्नो राजनीतिक आदर्श अनुरूपको व्यवहार गर्न सकिदैन भने त्यो सत्ता किन चाहियो ? कम्युनिष्ट नेताहरूलाई देशको कार्यकारी प्रमुखका रूपमा पाउँदा पनि नेपाली जनताले पञ्चायतकाल र कांग्रेसी शासनकालका भन्दा फरक अनुभूति गर्न पाउँदैनन् भने त्यो जति लाजमर्दो कुरा के हुन्छ ?
देशमा कम्युनिष्ट नेतृत्वको दुई तिहाई बहुमतको सरकार बनिसकेपछि भ्रष्टाचार विरुद्धको अभियान अवश्य पनि पहिलो सर्त हो । त्यसपछि जनतालाई रोजगारीको प्रत्याभूति हो । शिक्षा र स्वास्थ्य कम्युनिष्ट सरकारको प्राथमिकतामा पर्नु जरुरी हुन्छ । भ्रष्टहरूलाई पुरस्कृत गरिन्छ र शिक्षा र स्वास्थ्यमा लूट मच्चाउने छुट दिइन्छ भने त्यस्तो सरकार कम्युनिष्टको सरकार हुन सक्दैन । रुस र चीनमा ठूला–ठूला युद्धबाट विजयी भएर कम्युनिष्टहरू शासनसत्तामा पुगेका भए पनि ती देशहरूमा साम्यवादी समाज निर्माण हुन सकेको पाइएन । बरु प्रतिक्रान्ति भएर उल्टो यात्रा सुरु भएका छन् । त्यसैले युद्धमा विजयी भएर प्राप्त गरिएको सत्ताबाट मात्र देशको विकास गर्न सकिन्छ भन्ने तर्क सत्य होइन भन्ने इतिहासले पुष्टि गरिसकेको छ । देशको विकास हुनु र जनताको आर्थिक अवस्थामा सुधार आउनु नै राजनीतिक सफलता हो भन्ने कुरालाई मनन गरेर काम गर्ने हो भने असम्भव कुरा केही छैन ।
प्रधानमन्त्रीमा आसीन भएपछि केपी ओलीले केही आशालाग्दा प्रतिबद्धताहरू व्यक्त गर्नुभएको थियो । परन्तु कार्यान्वयनतर्फ गति देखिएन । त्यसैले अब आफै विरुद्धको कार्बाहीबाट नै सुशासनको गन्तव्य प्रभावकारी हुनसक्ला । अन्यथा जनता निराश भइसकेका छन् । आगे चेतना भया !- जनधारणा साप्ताहिक

















