पृथ्वीनारायण, बिसे नगर्ची र बहादुर शाहलाई सम्मान गरौं

431

– राज्यलक्ष्मी शाक्य

आजको ठीक एक महिनापछि नेपाल एकीकरणकर्ता नायक पृथ्वीनारायण शाहको जन्म जयन्तीको मिति पर्दछ । नेपाल एकीकरणको महत्वलाई घटाउने जतिसुकै दुस्प्रयासहरू भइरहेपनि एकीकरणको महत्व झनै बढिरहेको छ । नेपाललाई विखण्डन गर्न तम्सिएकाहरूका तस्बिर पनि सार्वजनिक भइरहेका छन् । पृथ्वीजयन्तीका रूपमा विगत धेरै लामो समय राष्ट्रिय एकता दिवस मनाइँदै आएकोमा देश गणतन्त्रमा गइसकेपछि यो दिवसको महत्व घटाइएको छ । नेपालका राजनीतिक दलका नेताहरूले राष्ट्रिय एकता दिवसलाई किन अवमूल्यन गर्न खोजेका हुन् ? यो बुझ्न सकिएको छैन । नेपालमै राजनीति गर्न खोज्ने , नेपालकै शासक बन्ने तर नेपालको एकीकरण अभियानलाई अस्वीकार गर्ने जस्तो मुर्खतापूर्ण काम अरु हुन सक्दैन । नेपाल एकीकरणको विरोध गर्नेहरूको जतिसुकै निन्दा गरेपनि कमै हुन्छ । उनीहरूको बारेमा बहस गर्नुको कुनै आवश्यकता छैन ।

यतिबेला सबै दलका नेताहरूले देश विखण्डन हुने खतरा देखिरहेका छन् । सबै नेताका मुखबाट राष्ट्रिय एकताको आवश्यकतामा जोड दिएको पाइन्छ । त्यसैले पनि राष्ट्रिय एकता दिवसको महत्व कति रहेछ भन्ने कुरा स्पष्ट हुन्छ । इतिहास कहिल्यै मर्दैन । वर्तमान नेपालको राजनीतिक, भौगोलिक, जातीय तथा क्षेत्रीय मागका बारेमा उठेका विषयहरूलाई आज लेखाजोखा गर्दा नेपालका लागि संघीयता ठीक छैन भन्ने प्रमाणित हुनुका साथै पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियान अत्यन्त आवश्यक थियो भन्ने पनि पुष्टि हुन्छ । वर्तमान नेपालको अवस्था पृथ्वीनारायण शाहको एकीकरण अभियान भन्दा पूर्वको अवस्थातर्फ जादैँ गरेका संकेत देखिन थालेका छन् । प्रदेश राज्यहरू अराजक बन्दैछन् । यो अवस्थाले नेपाल एकीकरणको सार्थकता झनै पुष्टि हुन्छ ।

हामी नेपालीहरूले आफ्नो धरातल हेर्न सक्नु पर्दछ । पृथ्वी नारायण शाहले नेपाललाई दुई ढुङ्गाबीचको तरुल किन भनेका रहेछन् भनेर बुझ्नु पर्ने अवस्थामा हामी आइपुगेका छौं । आज हामी कहाँ छौँ ? नेपालका राजनीतिक दलका नेताहरूले छातीमा हात राखेर सोच्ने हो भने पृथ्वीनारायण शाहको सम्झना नगरेर बस्न सकिने अवस्था छैन । राणा शासकहरूले पनि पृथ्वीनारायण शाहलाई उपेक्षा गरेरै देशमा शासन गरेका हुन् । पञ्चायतकालको सक्रिय राजतन्त्रकालमा पनि राष्ट्रिय एकता दिवसले त्यति महत्व पाउँदैनथ्यो । सामान्य रूपमा औपचारिकता निर्वाह गरेर पञ्चहरूले पनि यो दिवसलाई सरकारी विदाका रूपमा मात्र मनाउने गर्दथे । नेपाल एकीकरण भएको दिनको रूपमा मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वीनारायण शाहकै उत्तराधिकारी राजाहरूले समेत महत्व नदिएपछि अरुले झन् महत्व दिने प्रश्नै भएन । तर पृथ्वीनारायणले निर्माण गरेको नेपालमा शासक बनेर बस्ने रहर भने सबैले गरिरहेको पाइन्छ, यो विडम्बना नै हो १ पूर्वराजा फेरि पनि राजा बन्न चाहन्छन् । पृथ्वीनारायण शाहको उत्तराधिकारीको हैसियतमा बस्न चाहन्छन् उनी । पृथ्वीनारायण शाहलाई धिक्कार्ने नेपालका नेताहरू नेपालकै राष्ट्रपति , प्रधानमन्त्री र मन्त्री बन्न चाहन्छन् । पृथ्वी नारायण शाहले नेपालको एकीकरण नगरेको भए यहाँ न कोही राजा बन्न पाउँथे , न कोही राष्ट्रपति बन्न पाउँथे , न कोही प्रधानमन्त्री बन्न पाउँथे न त कसैले नेपाली हुँ भन्ने अधिकार नै पाउँथे । सबैले सम्झनु पर्ने व्यक्तित्व नेपालीका नाताले पृथ्वी नारायण शाह हुन् भन्ने कुरा बिर्सनु हुँदैन ।

हाम्रो देशमा पृथ्वी नारायण शाहको विरोधसंगै जातीय मुद्दालाई उठाएर नेपाली नेपालीबीच काटमार गराउने प्रयासहरू भइरहेका छन् । यसको बीजारोपण किन, कसले र कसरी ग¥यो भन्ने विषय गम्भीर अनुसन्धानको विषय बनेको छ । जातीय विवादले उग्ररूप लियो भने त्यसलाई कुनै पनि राजनीतिक दर्शनले मत्थर पार्न सकिने छैन । यो कुरा समयमै बुझेर उपयुक्त कदम चाल्न जरुरी भइसकेको छ । पृथ्वीनारायण शाहले एउटा दमाईबाट देश निर्माणका लागि चन्दा नबटुलेका भए हामी आज नेपालीका रूपमा चिनिन पाउने थिएनौं भन्ने कुरा सबै नेपालीले आत्मसात गर्न जरुरी छ । वर्तमान समयमा बिसे नगर्चीका कुन सन्तानलाई हामीले उचित स्थानमा सम्मान गर्न सकेका छौं ? कहाँ छन् बिसे नगर्चीका सन्तान ? कतै दलितको रूपमा हेपिएरै बसेका पो छन् कि? हामी सबैले आत्मसमीक्षा गर्नुपर्दछ । आजभन्दा साढे दुई सय वर्षअघि बिसे नगर्ची नाम गरेको दमाईको एक मोहर सहयोगबाट पृथ्वीनारायण शाहले नेपाल एकीकरण अभियान थालेका हुन् भन्ने इतिहास पढ्दा पनि शीर ठाडो हुन्छ । पृथ्वी नारायण वास्तवमै जातपातविरोधी थिए भन्ने कुरा स्पष्टै बुझ्न सकिन्छ । नेपाल एकीकरणका अभियन्ता बिसे नगर्चीका सन्तान दमाईहरू देशमा सम्मानित हुनुपर्नेमा अझै पनि दलितका नाममा अपहेलित भइरहेकोतर्फ हाम्रो ध्यान किन पुगिरहेको छैन ?नेताहरूले आत्मसमिक्षा गर्नु जरुरी छ ।

पृथ्वीनारायण शाहकै सन्तान बहादुर शाहले नेपालको एकीकरण अभियानलाई निरन्तरता दिएर पश्चिममा सतलज र पूर्वमा टिष्टासम्म पु¥याएका थिए । यो सत्यलाई आत्मसात् गर्न हामी किन कञ्जुसी गरिरहेका छौँ ? बहादुर शाहले एकीकरण गरेको नेपाली भूमि आज कहाँ छ ? त्यो भूमि खोजी गर्ने हामी नेपालीहरूको अभिभारा होइन र ? त्यो भूमि ब्रिटिश शासकहरू भागेर जाँदा किन भारततिर प¥यो ? नेपालीको भूमि नेपालले किन नपाउने ? पृथ्वीनारायण शाहका सन्तानले एकीकरण गरेको त्यो भूमि भारतमा किन गयो ? राष्ट्रिय एकता दिवसको महत्व बुझ्नेहरूले भारतसँग त्यो भूमि फिर्ता लिन सक्नु पर्दछ । वास्तवमा यतिबेला देशभक्तहरूबीच एकताको आवश्यकता छ ।- जनधारणा साप्ताहिक

[email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here