काठमाडौं / माइतीघर मण्डलाको सडकपेटीमा मंसिर १७ गतेदेखि आमरण अनसन बस्दै आएका दश वर्षे जनयुद्धका क्रममा घाइते ६ जना पूर्व लडाकुहरुलाई प्रहरी प्रशासनले जेल हालेको छ ।
पाँच बुँदे माग राखेर अनसन बसिरहेका उनीहरुको माग जनयुद्धका घाइतेहरुलाई निशुल्क उपचार, शिक्षा र रोजगारिको व्यवस्था तथा सम्ममानजन बाज्ने आधारको ग्यारेण्टी गरिदिनुपर्ने लगायतका थिए ।
सरकारले पुरा गर्नै नसकिने माग पनि होइन यो तर पनि माग सुनुवाइ गर्नुको सट्टा आन्दोलनको नेतृत्व गरिरहेका पूर्व लडाकुलाई प्रहरी प्रशासनले जेल हालेको छ । त्यति मात्रै होइन पुस २ गते राति ११ वजेतिर गृहमन्त्रीको आदेशमा अनसन बसिरहेका पीडितहरुलाई जबरजस्ती प्रहरीले अनसनस्थलबाट उठाएर वीर अस्पताल लगेको छ । अहिले उनीहरुले वीर अस्पतालको आकस्मीक कक्षमै अनसन शुरु गरेका छन् ।
माओवादी जनयुद्धका घाइते काठमाडौंको यो चिसोसँग लड्दै आमरण अनशनमा छन् । मकवानपुरका मंगलसिंह प्रजा, बर्दियाका लीलाचन्द कामी, कालीकोटमा संग्रामी सार्की, दैलेखबाट नरवीर दमाई, जुम्लाबाट वीरबहादुर परियार र कालीकोटका मानबहादुर दर्जी अनशन बसिरहेका छन् ।
गणतान्त्रिक सरकराका मन्त्रीहरुले दैनिक यहीबाटो भएर पुल्चोक र सिंहदरवार आवात जावात गरे । चिसोको वेवास्ता गर्दै ६ जना पूर्व लडाकु माइतिघर मण्डलामा आमरण अनशनमा थिए तर अनशनस्थलकै बाटो एसीजडित गाडीमा दौडिने कुनै पनि मन्त्रीहरु अनशनकारीतिर आँखा पनि घुमाएनन् ।
माग पूरा नभएपछि एक पूर्व लडाकु कुल प्रसाद भट्टराईले त मंसीर ५ गते गृहमन्त्री रामबहादुर थापाकै अगाडि विष सेवन गरेका थिए । लडाकुका कमान्डर अहिले शक्ति र सत्तामा छन् । तर, असन्तुष्ट लडाकूका दु:ख सडकमै छन् ।
पाँच बुँदे माग राखेर उनीहरुको अनशन शुरु भएको छ । यहाँ अनशन बसेका मध्ये एक जनालाई प्रहरीले अनशसनस्थलबाटै लिएर गएको छ । पूर्वलडाकुले आफ्ना दु:ख राखेको धेरै भयो । त्यसैले माग सम्बोधन नभएसम्म अनशन कायम राख्ने उनीहरुको अडान छ ।
‘के हमीले जनयुद्ध लड्नु पाप थियो ? हामीलाई नेताहरुले कि त जनयुद्ध लडेर पाप गरेउ भनिदिनु पर्यो , त्यसपछि हामी आत्महत्या गर्न बाध्य हुन्छौं ।’ मन कटक्क खानेगरी आमरण अनसरमा बसिरहेका घाइते पूर्व लडाकु मंगलसिंह प्रजाले आफ्नो दु:ख पोखे । अर्का लडाकु चन्द्रलाल कामी भन्छन्, ‘हामीलाई मार्ने या बचाउने सरकारको हातमा छ ।’ घर गएर पनि बाँच्ने आधार नभएकाले सरकारले माग पुरा नगरे अनसन बसेरै मर्ने उनी जनाउन्छन् ।


















