काठमाडौं / संघीय संसद्का पदाधिकारी र सांसदले आफ्ना स्वकीय सचिव तथा सचिवालयका कर्मचारीको तलबभत्ता आफैंले बुझ्ने गरेको पाइएको छ । कर्मचारीको तलबभत्ता सबैभन्दा बढी बुझ्नेमा सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना छन् ।
संसद् सचिवालयले कर्मचारीको तलबभत्ताबापत महरा र तिमल्सिनाको खातामा मासिक १ लाख ९७ हजार ५ सय १० रुपियाँका दरले जनही जम्मा गर्ने गरेको छ ।
सचिवालयले पदाधिकारीका निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ताबापत मासिक एक करोड १७ लाख ४६ हजार २ सय ६९ रुपियाँ भुक्तानी गरिरहेको छ । यो रकम संघीय संसद्मा बहाल रहेका ३ सय ३२ सांसदलाई दिने पारिश्रमिकभन्दा ५४ लाख २५ हजार बढी हो ।
सचिवालयका अनुसार पदाधिकारी र सांसदको पारिश्रमिकमा मासिक १ करोड ७१ लाख ७१ हजार २ सय ९५ रुपियाँ खर्च हुन्छ । ‘संघीय संसद्का पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन’ अनुसार सचिवालयका कर्मचारीकै बैंक खातामा तलब पठाउनुपर्नेमा संसद् सचिवालयले सभामुख र अध्यक्षको खातामा मासिक जम्मा गरिदिने गरेको छ ।
सचिवालयले यो रकम महराको एभरेस्ट बैंकको खाता नम्बर ००१००५०१२०१९१७ र तिमिल्सिनाको यही बैंकको खाता नम्बर ००१२०५१६२००७४२ मा मासिक जम्मा गरिदिने गरेको छ । ऐनको अनुसूची २ अनुसार सभामुख र अध्यक्षले स्वकीय सचिव तथा सहसचिव तहको स्वकीय सचिव १ जना, उपसचिव १ जना, शाखा अधिकृत १ जना, कम्प्युटर अपरेटर १ जना, सवारी चालक २ जना र कार्यालय सहयोगी २ जना राख्न पाउँछन् । उक्त ऐनमा पदाधिकारीको निजी सचिवालयका कर्मचारी र सांसदको स्वकीय सचिवको तलबभत्ता सम्बन्धित व्यक्तिकै बैंक खातामा पठाउनुपर्ने व्यवस्था छ । ऐनको अनुसूची २ मा पदाधिकारी तथा सदस्यलाई दिइने अन्य सुविधाको व्यवस्थामा स्वकीय सचिवालयमा कसले कुन पदका कर्मचारीको तलबभत्ता पाउने भन्ने उल्लेख छ । ऐनमा भनिएको छ, ‘स्वकीय सचिवालयका कर्मचारीले सुरु स्केलअनुसारको तलब मात्र पाउनेछन् । कर्मचारीले यस ऐनबमोजिम प्राप्त गर्ने पारिश्रमिक निजहरूको बैंक खातामा उपलब्ध गराइनेछ ।’
त्यस्तै गत असार ३२ मा प्रकाशित राजपत्रअनुसार कामदार तथा कर्मचारीले पाउने पारिश्रमिक बैंक खातामार्फत अनिवार्य भुक्तानी गर्नुपर्ने सरकारले व्यवस्था गरेको छ । संघीय संसदका पदाधिकारी तथा सदस्यले असोजमा पाएको पारिश्रमिक र भत्ता बुझेको भर्पाइ विवरणअनुसार प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले मासिक पारिश्रमिक ६० हजार ९ सय ७० बाहेक निजी सचिवालयका कर्मचारीको तलबबापत १ लाख २६ हजार ८ सय ६० रुपियाँ बुझ्छन् ।
सचिवालयले यो रकम देउवाको एभरेस्ट बैंकको खाता नम्बर ००१००५१६२०५८५७ मा मासिक जम्मा गरिदिने गरेको छ । देउवाले उपसचिव तहको स्वकीय सचिव १, कम्प्युटर अपरेटर १, सवारी चालक २ र कार्यालय सहयोगी २ जनाको तलब भत्ता बुझ्छन् ।
तलब भत्ता सांसदकैखातामा हाल्न दबाब पदाधिकारी र सांसदका केही स्वकीय सचिवले पूरा पारिश्रमिक नपाएको गुनासो गरेपछि मंसिर १९ मा संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा छलफलसमेत भएको थियो ।
समितिकी सदस्य विन्दा पाण्डेले पदाधिकारी र सांसदका स्वकीय सचिवको तलब भत्ता सम्बन्धित व्यक्तिकै बैंक खातामा पठाउने व्यवस्था गर्नुपर्ने जनाएकी थिइन् । ‘हाम्रा स्वकीय सचिवहरूलाई पनि सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषबाट लाभान्वित गराउन उनीहरूले पाउने तलब भत्ता हाम्रो खातामा होइन, उनीहरूकै खातामा पठाउने व्यवस्था गर्नु जरुरी छ,’ उनले बैठकमा भनेकी थिइन्, ‘अरूको तलब लिएर मनलाग्दी गर्न पाउने हो कि होइन रु सचिवालयसँग पनि छलफल गरौं ।’
स्वकीय सचिवको तलब सम्बन्धित व्यक्तिकै खातामा पठाउनुपर्ने प्रस्तावलाई समितिका सबै सदस्यले विरोध गरे । स्वकीय सचिवको भत्ता आफ्नै खातामा हाल्नुपर्छ भन्ने सांसदकै बैठकमा बहुमत थियो । जिल्ला र काठमाडौंमा गरी २ जना स्वकीय सचिव राखेकाले एक जनाको मात्रै खातामा तलब राख्दा व्यवस्थापन गर्न अप्ठ्यारो पर्ने उनीहरूले बताएका थिए । समिति सचिव कृष्णहरि खडकाले बैठकमा यस विषयमा सचिवालयमा छलफल भइरहेको जानकारी गराएका थिए । कति जना स्वकीय सचिव राख्न पाउने भन्दै केही सांसद सचिवालयका महासचिवलाई सोध्नसमेत पुगेका थिए । कान्तिपुर दैनिक


















