– निशा तामाङ
यसपटक लेख्ने अरु विषयहरू हुँदा हुँदै पनि आफू काठमाडौंमा विद्यार्थी जीवन बिताइरहेको र पढाइकै लागि खर्च पु¥याउन पत्रकारिता पेशा गरिरहनु परेको अवस्थाबीच कोठा भाडा समेत तिर्नुपरेको पीडा भोगि रहेको विषयसंग कता कता मेल खाने खालको चर्चाले लेख्ने विषय रोजायो । जनताका बीचमा मत माग्न जाँदा हाम्रा माननीय सांसदहरूले आफ्नो घर हुँदा हुँदै घर भाडा पनि बुझेर बैंकमा राख्ने छु भनेर वाचा गरेजस्तो व्यवहार गरेका छन् ।
केही सांसदहरूले पत्र पत्रिकामा नाम प्रकाशित हुन थालेपछि लज्जाबोध गर्दै घर भाडा वापत बैंकमा दाखिला भएको रकम फिर्ता गर्ने वचन दिइरहेको अवस्थाले हाम्रो देशका नेताहरूको आचरणमा ठूलो प्रश्न खडा गरेको छ । राजधानीमा घर हुने सांसदले घर छैन भनेर संसद् सचिवालयबाट महिनैपिच्छे भाडा लिईरहेका रहेछन् भन्ने पुष्टि त भयो नै । यस्तो सुविधा लिनेमा उद्योेगी, व्यापारी र दलका चर्चित नेतासमेत परेका छन् ।
काठमाडौं उपत्यकामा घर भएका सांसदले घरभाडा लिन मिल्दैन भन्ने कुरा हाम्रा सांसद महोदयहरूलाई जानकारी नभएको पक्कै होइन । सत्तारुढ दलका सांसदहरूसंग विपक्षी दलका केही सांसदहरूले नियमविपरीत घरभाडा रकम बुझ्दै आइरहेको चर्चाले यी सांसदहरूलाई मत दिएका मतदाताहरूलाई कति पश्चाताप भइरहेको होला ? बुझ्न सकिन्छ । सत्तारुढ दल नेकपा (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभाका पूर्व सभामुख समेत रहेका सुवासचन्द्र नेम्वाङसमेतले घर भाडा वापतमा रकम बुझेको सार्वजनिक भएको छ । यो भन्दा लाज लाग्ने विषय के हुन्छ ? कानुनका ज्ञाता समेत रहेका नेम्वाङलाई यो कार्य कानुनविपरित भएको लाग्छ कि लाग्दैन ? कानुनविपरित काम गर्नेलाई उहाँ स्वयंको नेतृत्वमा बनेको संविधानले सजाय गर्न सक्छ कि सक्दैन ? सर्वसाधारणलाई लाग्ने कानुन सांसदहरूलाई लाग्ने कि नलाग्ने ? कानुनले नगर्नु भनेको काम गर्नुलाई अपराध ठान्दछ । सांसदहरूले लिन नहुने घर भाडा लिएपछि त्यो अपराध भयो कि भएन ? नैतिकता छ भने सांसदहरूले आफ्नो आचरण देखाउने मौका यही हो , भाडा बुझेको रकम फिर्ता होइन सासंद पदबाट राजीनामा गरे हुन्छ ।
घर भाडाको सुविधा लिनेमा सांसदको हैसियतमा रहेका मन्त्रीका श्रीमतीहरू समेत परेका छन् । पूर्व सभामुख समेत रहेकी ओनसरी घर्ती र सांसद सत्या पहाडी यस्तो सुविधा लिनेमा परेका छन् । मोटो रकम पार्टी नेताहरूलाई भेटि चढाएर सांसद बन्न पाएका लिटिल एन्जेल्स स्कुलका सञ्चालकसमेत रहेका कांग्रेस सांसद् उमेश श्रेष्ठको नाम पनि घरभाडा बुझ्नेको सूचीमा पाइयो । त्यस्तै पटक–पटक मन्त्री पदको सुविधा भोग गरेकी कांग्रेस नेतृ चित्रलेखा यादव, नेकपा सांसद् योगेश भट्टराई, पम्फा भुसाल, कांग्रेसका नारायण खड्का र कांग्रेसकै भिमशेनदास प्रधानसम्मले पनि झूटो विवरण पेश गरेर घरभाडा लिँदै आएको उजागर भयो । तत्कालीन वामगठबन्धनको सहयोग र समर्थनमा चुनाव जितेर सांसद बनेका भारतीय नाकाबन्दीका कट्टर समर्थक रहेका राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो र राजपाकै लक्ष्मण लाल कर्ण पनि घर भाडाको सुविधा लिने सांसद्को सूचीमा रहेका छन् । स्मरणीय छ उल्लेखित सबै सांसदहरूका काठमाडौं उपत्यकामा घर ठडिएका छन् ।
सार्वजनिक भएको विवरण अनुसार नेकपाकी गोमा देवकोटा, नवीना लामा, यज्ञराज सुनुवार र रामकुमारी झाँक्रीसमेतले घर भाडाको रकममा आफूलाई बेइज्जत गराएका छन् । सांसदहरूले कानुन बनाएका हुन् । यिनै सांसदहरूले संविधान बनाएका हुन् । यिनै सांसदहरूले कानुनको उल्लघंन गरिरहेका छन् । यिनै सांसदहरूको समर्थनमा पूर्व विशिष्टहरूलाई सुविधा बढाइएको छ । यिनै सांसदहरू मन्त्रीको हैसियतमा पुगेर आफ्नो तलब भत्ता बढाएका छन् । यिनै सांसदहरू मन्त्रीको भूमिकाबाट राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर खरिद गर्ने निर्णय गर्न पुगेका छन् । यिनै सांसदहरूले नेपाली जनतालाई तह तहमा करको भार व्यहोर्नु पर्ने अवस्था सृजना गराएका छन् । जनतालाई चुसेर आफ्नै महलमा बसेर घर भाडाको सुविधा लिएका छन् । धिक्कार छ यस्तो राजनीतिलाई ! [email protected]

















