नयाँ वर्षदेखि पाइपलाइनबाट डिजेल

213

काठमाडौं / नयाँ वर्ष २०७६ को पहिलो साता पाइपलाइनबाट तेल भित्रिने भएको छ । पहिलो चरणमा वैशाखदेखि नै पाइपलाइनबाट इन्धन झार्न नेपाल आयल निगमले केही साताअघि वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) पनि स्वीकृत गराइसकेको छ। ‘हामी वैशाखको पहिलो सातासम्ममा पाइपलाइनबाट डिजेल ल्याउन द्रुतगतिमा काम गरिरहेका छौं’, मोतिहारी–अमलेखगञ्ज पाइपलाइन आयोजनाका संयोजक भानु खनालले भने, ‘सबैभन्दा झण्झटिलो प्रक्रिया ईआईए पनि स्वीकृत भइसकेको छ। यो चरण पार भएसँगै कामले गति लिएको हो।’

ईआईएले पर्सा राष्ट्रिय निकुञ्जबाट पाइपलाइन ओछ्याउन ६ हजार पाँच सय ६३ वटा ठूला रूख काट्न मिल्ने गरी प्रतिवेदनसहितको स्वीकृति प्रदान गरेको छ। एउटा रूख कटान गरेबापत मन्त्रालयले तोेकेको स्थानमा २५ वटा रोपेर पाँच वर्षसम्म हुर्काउनुपर्ने सुझाव दिइएको छ। खनालका अनुसार निगमले वन क्षेत्रबाट पाइपलाइन लानका लागि रूख कटानीका विषयमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागमा पत्राचार गरिसकेको छ।

ईआईए स्वीकृत पश्चात् वन तथा वातावरण मन्त्रालयले रूखको पुनः ग्रेडिङ गरी मूल्यांकन गर्ने काम पनि सम्पन्न गरिसकेको छ। यसअनुसार पाइपलाइन ओछ्याइने रुटमा ६ हजार पाँच सय ६३ वटा रूखमध्ये आवश्यकताका आधारमा रूख कटान गर्न सकिनेछ। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा करिब आठ किलोमिटर पाइपलाइन ओछ्याइनेछ।

‘ईआईएसहितको रूख कटान गर्नुपर्ने विषयमा स्वीकृत मागसहितको पत्र हामीले प्रदान गरिसकेका छौं’, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले भने, ‘प्राप्त भएको पत्रको आधारमा यसै साता वन तथा वातावरण मन्त्रालयमा प्रक्रिया अघि बढाउन प्रस्ताव गर्दैछौं।’

खड्काका अनुसार रूख कटान गर्ने विषयमा मन्त्रालयले मन्त्रिपरिषद्बाट स्वीकृत गराएपछि रूख कटान गर्ने प्रक्रिया सुरु हुनेछ। खड्काले अर्को सातासम्म मन्त्रिपरिषद्बाट रूख कटानसम्बन्धी आवश्यक प्रक्रियाका विषयमा प्रस्ताव स्वीकृत भएर आउने जानकारी दिए। पर्सा राष्ट्रिय निकुञ्जको रूख कटान गर्नुपर्ने झन्झटिलो प्रक्रियाका कारण पेट्रोलियम पाइपलाइन रुटमा पाइप ओछ्याउने काममा अवरोध आएको थियो।

खनालका अनुसार सडकको १६ मिटरमाथिको भागमा पर्ने रूख कटान हुनेछ। भारतको रक्सौलस्थित इन्डो नेपाल सीमादेखि अमलेखगन्जको डिपोसम्मको दुरी ३६।२ किलोमिटर छ। यसमध्ये टुक्राटुक्रा गरी हालसम्म २६ किलोमिटरमा पाइप ओछ्याउने काम सम्पन्न भएको छ। अब वन क्षेत्रको आठ र अन्य गरी १० किलोमिटरमा ओछ्याउन बाँकी छ।

 रुट क्लियर भएका र रुट परेका भौतिक संरचनामा क्षति नहुने र खाल्डो नखनी आयोजनाले इन्डियन आयल कर्पोरेसनको सहकार्यमा होरिजेन्टल डाइरेक्सन ड्रिलिङ प्रविधिको सहयोगमा भित्रभित्रैबाट पाइप ओछ्याइएको छ। पाइप सन् २०१९ को मार्चसम्म ओछ्याइसक्नुपर्ने सीमा तोकिएको छ। अन्नपूर्ण पोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here