काठमाडौं / उपसचिव इश्वरी प्रसाद पोखरेलले कर्मचारीहरुले नै राजनीतिक दल र नेताहरुलाई भ्रष्टाचार गर्न सिकाएको आरोप लगाएका छन् ।
कर्मचारी सरुवाका विषयमा फेसबुकमा स्टाटस लेख्दा शिक्षा मन्त्रालयले स्पष्टीकरण सोधेका उपसचिव पोखरेलले प्रधानमन्त्री, मन्त्रीदेखि सचिवसम्मलाई गम्भीर आरोप लगाएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छमा पोखरेलले सरकारले कर्मचारीमाथि विभिन्न आरोप लगाउने गरेकोप्रति अपत्ति प्रकट गरेका हुन् ।
फेसबुकमा पोखरेलको स्टाटस:
शिक्षा मन्त्री र सचिव उदाहरण बनुन, सलाम ठोकिन्छ तर अन्याय सहिन्न
कोही लेखिरहनु भाछ शिक्षा मन्त्रालयले शिक्षासेवाका कर्मचारीलाई सामाजिक सञ्जालमा शिक्षा मन्त्रालयको समर्थनमा लेख्न छुट रे असहमति र विमतिमा लेख्नेलाई विद्धुतीय सूचना कारोबार कार्य्विधि अनुसार निगरानीमा राख्ने र विभागीय कारवाही गर्ने भा छ रे ।
वाफ रे सुनेर डरले दिउँसो १।३० बजेदेखि थर थर कामेको शरीर साँझ ८:४५ बजे मात्र थामियो । फेसबुकमा हात चलाउन खोजे दिउँसोको शिक्षा सचिवको शुभकामना भाषण सम्झे । सबैको हितमा चाडपर्वको मान राख्ने सचिवजीको उदारता स्मरण गरेँ ।
शिक्षाका उपसचिवलाई कनिष्ठ उपसचिव र कतिपय स्थानमा अधिकृत मातहत नै शिक्षा शाखा प्रमुख वा खरिदार बनाएर स्थानीय तहमा खटाएझैँ हाम्रा श्रीमान सचिव ज्यू पनि कुनै प्रदेश मन्त्रालयको सचिवमा वा कुनै निर्देशनालयमा पो सरूवा भएर जाने हुन कि भनेर चिन्तित भएँ ।
गणतन्त्र कार्यान्वयनको लागि राजनीतिक र प्रशासनिक झोकमा माननीय शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री ज्यू पनि कुनै प्रदेश मन्त्रालयको कनिष्ठ मन्त्री पद स्वीकार छ भनी जाने त होइनन् भन्ने मनमा पलायो । अनि शिक्षाका उपसचिव त शिक्षा शाखा प्रमुख होइन कार्यालय सहयोगी भएर गए पनि हुन्छ भन्ने सन्देशको प्रवाह गर्न मन लाग्यो ।
कर्मचारी खटनपटन, पदस्थापना र जिम्मेवारी दिने कार्य्विधि, प्रक्रिया र मापदण्ड के हो रु सूचनाको हक प्रयोग गरी माग गर्दा २ महिनासम्म सूचना नदिने नेतृत्वले निरंकुश शैलीमा गणतन्त्र , प्रजातन्त्र र लोकतन्त्रको धज्जी उडाएर सार्वभौमसत्ता नागरिकलाई जागिरेको नाममा दोस्रो दर्जाको व्यवहार गर्ने तथा मुख बुझो लाउने धृष्टता नगरियोस् ।
मन्त्री ज्यू, प्रदेश मन्त्रालय र सचिव ज्यू प्रदेश निर्देशनालयमा जान स्वीकार्नु हुन्छ भने तपाईंले टाँस्नु भएको स्थानमा सलाम ठोकेर विमति नजनाएर गइन्छ । अन्यथा पेसागत मर्यादा र प्रतिष्ठाका लागि तपाईंको जेलनेल तयार पार्नु होस् । सबै स्वीकार्न तयार भएको घोषणा गरिन्छ ।
सरोकारवालाको मुख थुनेर, जागिरको नाममा निरंकुशताको प्रयोग गरेर खटिने कर्मचारीबाट जागिर खान्छ तर सकारात्मक नतिजा निकाली सुखी नेपाली समृद्ध नेपाल बन्न सक्दैन ।
यसर्थ दम्भ नपालेर शिक्षाको पदीय समस्या नेपाल सरकारको साझा सवाल बनाउने सद्बुद्धि उच्च राजनीतिक र प्रशासकहरूमा पलाएमा फेसबुके लेख र असन्तुष्टि आफै सदाका लागि बन्द हुने छ । अन्यथा जागिर बर्खास्त होला, सत्ता ,शक्ति र स्रोतका बलमा प्रताडित हुनु पर्ला, जेलनेल आइलाग्ला र अपराधीको हातबाट हत्या गराइएला र कुकुरको झै बेवारिसे लास हुनुपर्ला तर लेख्न रोकिने छैन । समग्र सामाजिक सञ्जाल नै बन्द भए फेरि किताबका माध्यममा विचार सार्वजनिक गरिने छ ।


















