– राज्यलक्ष्मी शाक्य
यस वर्षको जनवरी एक पनि टोपी दिवसका रूपमा धुमधामका साथ मनाइयो । छैठौं टोपी दिवसका रूपमा यस वर्ष अलि प्रभावकारी रूपमा टोपी दिवस सम्पन्न भएको महशुस गरियो । टोपी दिवसले नेपाली जनमानसमा नेपालको राष्ट्र पोषाकलाई अन्तर्राष्ट्रिय जगतमै परिचित गराउने महत्वपूर्ण दिनको स्थान लिने सम्भावना बढ्दै गएको छ । यस वर्ष पनि टोपी दिवसलाई महिलाहरूले समेत मनाएको पाइयो । पंक्तिकार स्वंय पनि टोपी दिवसमा सहभागी हुने अवसर जु¥यो । महिलाहरूको उपस्थितिले टोपी दिवसलाई विशेष शोभायमान पनि बनाएको महशुस गरियो ।
नेपाली टोपी संसारभरिनै प्रख्यात छ । टोपीको पहिरनले मात्र पनि नेपालीको पहिचान दिन्छ । राष्ट्रिय पोषाकका रूपमा रहेको दौरा–सुरुवाल र कोटलाई शोभायमान गराउने टोपीको इतिहास बेग्लै छ । निरंकुश शासकका रूपमा स्थान बनाएका जंग बहादुर राणाकी बहिनीले आफ्नो दाजुलाई टोपी उपहार दिएपछि टोपी प्रचलनमा आएको भन्ने मान्यता रहेको छ । जुनसुकै कारणले टोपीको सुरुवात भएको भएपनि टोपी नेपाल र नेपालीको पहिचान बनिसकेको छ । त्यसैले पनि टोपी दिवसको महत्व बढिरहेको छ ।
गत वर्ष भन्दा यस वर्षको टोपी दिवस अलि व्यापक नै भयो । सांगठनिक रूपमै टोपी दिवस मनाउन नारी पुरुषहरू सडकमा उत्रिएको देखियो । हामी सबै नेपाली हौं भनेर पोषाकबाटै परिचय दिनसक्ने हैसियत टोपीमा रहेको छ । नेपाली टोपी जस्तो आकारको टोपी संसारका कुनैपनि जात, धर्म र सम्प्रादयका मानिसहरूले लगाएको पाइदैन । त्यसैले नेपाली टोपी अलि फरक खालको भएकाले नै यसले नेपालीको परिचय दिन सक्दछ । टोपीकै आधारमा मात्र संसारका कुनै मुलुकका नागरिकलाई चिन्न सकिदैन । तर नेपाली टोपी लगाएको देखेपछि नेपाली नागरिक हो भन्ने कुरा छुट्याउन सजिलो हुन्छ ।
दौरा–सुरुवाल र कोट नलगाएपनि नेपाली टोपी शीरमा लगाए मात्र पनि नेपालीको पहिचान विश्व स्तरमै बन्न सक्दछ । त्यसैले नेपाली टोपीमा नेपालको राष्ट्रियता झल्किन्छ भन्नु अन्यथा नहोला । नेपाली टोपीले कुनैपनि जात जातिहरूको पोषाकलाई पनि सुहाउने गराउँछ । नेपाली टोपी हिमाल, पहाड, तराई जताततैका बासिन्दाले लगाउने पोषाकसंग मेल खान्छ । तराइका धोती लगाउनेहरूको शीरमा पनि नेपाली टोपीले शोभा बढाएको हुन्छ । पहाडतिरका गुरुङ, मगर, राई, लिम्बु, तामाङ लगायतका जातहरूमा पनि आ–आफ्नो पोषाक संगै नेपाली टोपी लगाइदिएपछि पोषाकको शोभा बढेको देखिन्छ । त्यसैले नेपाली टोपीलाई राष्ट्रियताको प्रतिकका रूपमा नेपाली नागरिकहरूबीच स्थापित गराउन टोपी दिवसको विशेष महत्व छ ।
नेपालको राजनीतिमा परिवर्तन आएसंगै राष्ट्रिय पोषाकलाई फरक रूपमा व्याख्या गरिएको छ । आ–आफ्नो परम्परागत पोषाकलाई राष्ट्रिय पोषाक नमानेर दौरा–सुरुवाल, कोट र टोपीलाई राष्ट्रिय पोषाक मान्नु पर्ने बाध्यात्मक अवस्था नेपाली समाजमा सर्वमान्य हुन नसकेको अवस्थामा नेपाली टोपीको विशेष महत्व बढेको छ । टोपी सबै नेपालीका लागि स्वीकार्य हुनसक्ने पहिरन हो । त्यसैले दौरा–सुरुवाल नलगाउनेका लागि पनि टोपी पहिरन कुनै असजिलो पहिरन हुँदैन । टोपीको गरिमा बढाउन ,नेपालको परिचय विश्वव्यापी रूपमै सहज गराउन टोपी दिवसलाई राष्ट्रिय दिवसमै मनाउने गरी यो दिवसका दिन राष्ट्रिय विदा समेत गर्नु आवश्यक हुन गएको छ । यो सवालमा टोपी प्रेमीहरूले दबाब सृजना गर्न आवश्यक छ ।- [email protected] जनधारणाा साप्ताहिक


















