के हो मानव अधिकार ? जन्मसिद्ध अधिकार नभएको देशमा मानव अधिकारका कुरा !

470
Nisha Tamang

– निशा तामाङ

मानव अधिकारबारे धेरै बहसहरू भएका छन् । धेरै गोष्ठीहरू भएका छन् । तर मानव अधिकार के हो भन्नेबारे अझैपनि स्पष्ट रूपमा एकमत भएको पाइदैन । यथार्थमा प्रत्येक व्यक्तिले आफू मानव भएर जन्म लिएपछि पाएको जन्मसिद्ध अधिकार नै मानव अधिकार हो भनिन्छ । त्यसो हो भने राजाको छोरो जन्मिदाँ बितिकै उसको जन्मसिद्ध अधिकार राजाको उत्तराधिकारी बन्ने हो कि होइन ? अवस्य हुनुप¥यो ! त्यसैगरी जमिन्दारको छोराको जन्मसिद्ध अधिकार के हो ? मजदुरको छोराको जन्मसिद्ध अधिकार के हो ? किसानको छोराको जन्मसिद्ध अधिकार के हो ? मजदुर र किसानका छोरा देशको शासक बन्न पाउने कि नपाउने ? यस्ता विषयहरूले मानव अधिकारको खेती गर्नेहरूलाई छोएको पाइदैन ।

मानव अधिकारको विषयमा बहस गर्नेहरूले केवल मानव अधिकारका कुरा गर्दछन् । मानव अधिकार संविधानमा लेखिन्छ । तर मानव अधिकार कानुनमा प्रतिबन्धात्मक वाक्यांशद्धारा रोकिन्छ । मानव अधिकार रहेको उल्लेख गरिन्छ । तर अर्को तर शब्द लेखेर त्यसलाई प्रतिबन्ध लगाइन्छ । त्यसैले राज्य मानव अधिकारको विरुद्धमा हुन्छ भन्ने कुरा स्पष्टसाथ बुझ्नु पर्ने हुन्छ । व्यक्तिको जीवन, स्वतन्त्रता, समानता र मर्यादासंग सम्बन्धित संविधान तथा अन्य प्रचलित कानूनद्वारा प्रदान गरिएको मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा नेपालले पनि दस्तखत गरेको छ । नेपाल मानव अधिकार प्रतिबद्ध छ भन्ने कुरामा नेपालले प्रतिबद्धता जनाएको छ ।

विश्वको शक्तिशाली राष्ट्रको रूपमा आफूलाई दाबी गर्ने अमेरिकाका शासकहरूले मानव अधिकारको सबैभन्दा बढि वकालत गरेको पाइन्छ । संसारका सबै मुलुकहरूमा मानव अधिकार भए नभएको सर्वेक्षण गर्ने अधिकार आफूलाई भए सरह अमेरिकी शासकहरू ठान्दछन् । मानव अधिकार उल्लंघन भएको आरोप सहित शक्ति प्रयोग गरेर दमन गर्ने र व्यापक नरसंहार गर्ने अमेरिकी शासकहरूको क्रियाकलापमा मानव अधिकारको व्याख्या बुझ्न नसकिने अवस्थाको छ । आकाशबाट बमबारी गरेर मानव अधिकारको रक्षा गर्ने अमेरिकी शासकहरूको रवैयाले कस्तो खालको मानव अधिकारको वकालत गरिरहेको छ ? यो जटिल प्रश्न संसारका मानव अधिकारको खेती गर्नेहरूका सामु चुनौती बनिरहेको छ । बोल्न सक्दैनन् मानव अधिकारको खेती गर्नेहरू । आकाशबाट बमबारी गरेर जनसाधारणहरूको नरसंहार गरिदा मानव अधिकारको संरक्षण गरेको दाबी गरिन्छ । यो कस्तो मानव अधिकारको परिभाषा हो ? हामीले अनुभव गरेको कुरा हो अमेरिकाले इराकी शासक सद्दाम हुसेनलाई जुन आरोपमा आरोपित ग¥यो, त्यो आरोप प्रमाणित हुन सकेन । मानव अधिकारको संरक्षण गर्ने नाममा सद्दाम हुसेनको बाँच्ने अधिकार समेत समाप्त गरियो । कस्तो मानव अधिकार हो ? अमेरिकाले पेट्रोलियम पदार्थको खानी कब्जा गर्न सद्दामलाई फाँसी लगाउनु पर्ने ? सद्दामलाई खोज्ने नाममा लाखौं इराकीहरूलाई बाँच्ने अधिकारबाट बञ्चित गर्नुपर्ने ? मानव अधिकारको परिभाषा कसरी गर्ने ?

मानवअधिकारका सिद्धान्तसँग सम्बन्धित दस्तावेजहरू हेर्दा मानव अधिकारलाई अन्तर्राष्ट्रिय जगतमा विस्तृत व्याख्या गरिएको पाइन्छ । अधिकारहरूको कार्यान्वयनका सम्बन्धमा छुट्टाछुट्टै महासन्धिहरू, घोषणापत्रहरू, मार्ग निर्देशनहरू तयार भएका छन् । अधिकारहरूको प्रभावकारी कार्यान्वयनको लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न संयन्त्रहरू पनि निर्माण भएका छन् । तर मानव अधिकारको व्याख्या गर्ने क्रममा अमेरिका नै हावी भएको पाइन्छ । अन्तर्राष्ट्रिय स्तरमा मानव अधिकार कार्यान्वयन गर्न विभिन्न संयन्त्रहरू निर्माण गरिएतापनि मानव अधिकारसम्बन्धी दायित्व पूर्ण रूपमा पूरा गर्न सकिरहेको अवस्था नदेखिनुमा अन्तर्राष्ट्रिय जगतको छाता संगठन संयुक्त राष्ट्र संघ पनि प्रभावकारी बन्न सकिरहेको छैन । संयुक्त राष्ट्र संघको प्रभावकारिता नदेखिदा संसारकै मुलुकहरूमा अमेरिकाको दादागिरी कायमै देखिन्छ । जसले गर्दा संसारभरि नै मानव अधिकारको अवस्था दिन प्रतिदिन बिग्रिँदै गएको छ ।

नेपालको संविधान, २०७२ मा अन्तर्र्रािष्ट्रय मानव अधिकार कानुनमा भएका अधिकांश अधिकारहरू समावेश पनि गरिएका छन् , राज्यले समावेशी नीति पनि लिएको छ । महिला, दलित, आदिवासी, सीमान्तकृत अल्पसंख्यकका समस्या पूर्ण रूपमा समाधान नभए पनि यी समस्यालाई छुट्टै सम्बोधन गर्नुपर्छ भन्ने कुरा राज्यले स्वीकार गरेको छ । राज्य मानव अधिकारप्रति जिम्मेवार रूपमा प्रस्तुत हुन प्रयास गरिरहेको छ । मानव अधिकारको कार्यान्वयनका लागि स्वतन्त्र न्यायपालिकाका अतिरिक्त राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारू आयोग र मुस्लिम आयोगलगायतका विभिन्न आयोगको परिकल्पनासमेत संविधानमा गरिएको छ । तर कार्यान्वयन स्तरमा हेर्ने हो भने जनताको जन्मसिद्ध नैसर्गिक अधिकार शिक्षा , स्वास्थ्य, गाँस र वासका साथै रोजगारी उपलब्ध गराउनेसम्ममा पनि राज्यको पहल समेत देखिदैन । यी सबै अवसरबाट नेपालको बहुसंख्यक जनसंख्या बञ्चित रहेको अवस्था छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here