काठमाडौं / टीकापुर घटनाको मुख्य अभियुक्त सांसद रेशमलाल चौधरीले शपथ लिने भएका छन् । बिहीबार बिहान साढे ११ बजे प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराको कार्यकक्ष सिंहदरबारमा उनलाई सांसदको शपथ ग्रहण गराउन लागिएको सभामुखमा प्रेस सल्लाहकार डिल्ली मल्लले जनाएका छन् ।
संविधान संशोधन गरेर आफ्ना माग पूरा गर्नुपर्ने, कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित राजपा सांसद रेशम चौधरीलाई पद तथा गोपनीयताको सपथ गराउनु पर्ने, उनीमाथि लगाइएको मुद्धा फिर्ता लिनुपर्ने माग राख्दै राजपाले आफूहरुको माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जनाएपछि सोही माग बमोजिम चौधरीलाई शपथ खुवाउने तयारी गरिएको छ।
चौधरी गत वर्ष भएको प्रतिनिधि सभाको चुनावमा कैलाली क्षेत्र नम्बर १ बाट ३४३४१ मत ल्याएर विजयी भएका थिए। उनको निकटतम प्रतिस्पर्धी तत्कालीन वाम गठबन्धबाट एमाले उम्मेदवार मदनकुमारी शाह ९गरिमा०ले १३ हजार ४०६ मत मात्र ल्याएकी थिइन्। चौधरी र शाहबीचको मतअन्तर २० हजार ९ सय ३५ थियो।
चौधरी कैलाली घटनाका मुख्य आरोपी भएको हुन्। घटनापछि उनी प्रहरीको फरार अभियुक्तको सूचीमा थिए। उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए।
हाल उनी डिल्लीबजार कारागारमा सजाय काटिरहेका छन् । टीकापुर घटनाका मुख्य योजनाकार भनेर चौधरीविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र चोरी–डकैतीमा मुद्दा दर्ता गरिएको थियो । टीकापुर घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित नौजनाको ज्यान गएको थियो ।


















