ट्राफिक अनुशासन सिकाउन हातमा ट्याटु खोप्दै पूर्वप्रहरी निरीक्षक

219

 काठमाडौं / पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथुको हातमा भने फरक खालको ट्याटु छ । उनले नाडीमा बनाएको ट्याटुमा लेखिएको छ– ट्राफिक नियम पालना गरौँ ।

प्रहरीको जागिर अवधिमा पूरैजसो समय सवारी व्यवस्थापनका लागि सडकमा बिताएका हाछेथुले अवकाशपछि पनि आफू ट्राफिक सचेतनामै सक्रिय हुने इच्छाअनुसार पीडा सहेरै ट्याटु बनाउने निर्णय गरे । एक घन्टाभन्दा लामो समय शरीरमा सियोले घोचेर ट्याटु बनाउन धेरै नै पीडा भएको सुनाए । ‘पीडा भए पनि मैले ट्याटुमार्फत नै सन्देश दिन खोजेको हुँ, आफैँ र आफूनिकटका व्यक्तिहलाई सचेत गराउन सकिन्छ भनेर मैले यो ट्याटु बनाएको हुँ,’ उनले भने ।

तीव्र गतिमा सवारी चलाउने, लेन अनुशासन पालना नगर्ने, गलत दिशाबाट ओभरटेक गर्ने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने तथा अन्य लापरबाहीका साथ सवारी चलाउने प्रवृत्ति व्यापक रहेको र यसलाई सुधार गर्न सके आधाजसो दुर्घटना न्यूनीकरण हुने उनको भनाइ छ ।

२९ वर्ष प्रहरी सेवामा बिताएर हालै अवकाश पाएका यी ‘सेलिब्रेटी ट्राफिक प्रहरी’ले ट्राफिक नियमको पालनाबारे सचेत गराउन नयाँ शैली अपनाएका हुन् । गत साता मात्र उनले त्यस्तो ट्याटु बनाएका हुन् । ‘ट्राफिक नियमको पालनाको महत्व बुझाउन यस्तो ट्याटु बनाएको हुँ,’ उनले भने, ‘ट्राफिक नियम पालनाको नारा सामान्य लाग्न सक्छ, यसबाट धेरैको जीवन बचाउन सकिन्छ ।’ नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here