बमजनकाे आश्रममा अनुयायीहरुको हत्या गरेर लाश गाडी, पछि उत्खनन् गरेर अस्थिपञ्जर जलाईएको आशंका

401

आफुलाई ‘लिटिल बुद्ध’ दाबी गर्दै आएका बम्जनको आश्रममा बेपत्ता भएका अनुयायीहरुको अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ ।

रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई आनीहरु (चुन्मो र डोल्मो) को अस्थिपञ्जर खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ ।

अनुयायीहरु बेपत्ता भएको खबर बाहिर आएसँगै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले बाँडेगाउँको यहि आश्रमबाट उनीहरु बेपत्ता भएपछि प्रहरीले शुक्रबार बाँडेगाउँस्थित बमजनको आश्रममा छापा मारेको थियो ।

उनीहरुको लाश जमिनमुनि गाडीएको सूचना पाएपछि शनिवार आश्रम भन्दा करिव ३ सय मिटर परको जंगलमा प्रहरीले लाश गाडिएको स्थानमा उत्खनन् गर्दा अस्थिपञ्जर भने भेटिएन, तर लाश गाडिएको भनिएको स्थानमा नुनका प्याकेटहरु फेला परेका छन् ।

‘लाश गाडीएको भनिएको स्थानमा उत्खनन् गर्दा नुनका प्याकेटहरु फेला परेका छन्, लाशलाई सडाउन नुन हालिएको हुनसक्छ’, एक प्रहरी अधिकारीले भने । सर्च अपरेसनका क्रममा प्रहरीले आश्रम भन्दा केहि पर कोइलासमेत फेला पारेको छ । ‘हत्या गरेर लाश गाडे, पछि उत्खनन गरेर जलाए’, नाम नखुलाउने शर्तमा एक प्रहरी अधिकारीले भने,–‘हामीले नुन हालेर गाडीएको सूचना पाएका थियौं, यहाँ उत्खनन् गर्दा नुनका प्याकेटहरु भेटिएका छन् ।’

लास सडिसकेपछि अस्थिपञ्जरलाई उत्खनन् गरि केहि वर ल्याई जलाइएकोले अस्थिपञ्जर फेला नपरेको बताइएको छ । दुईदिनको अपरेसनपछि बेपता वाइवा, आले र आनीहरुको टोड्केभीरकै जंगलमा हत्या भएको भन्नेमा प्रहरी पुगेको छ । फेला परेका प्रमाणहरु परिक्षणपछि मात्र घटनाबारे टुंगोमा पुगिने जिल्ला प्रहरी कार्यालयले जानकारी दियो । बमजन आश्रममा अहिलेपनि १४ जना अनुयायीहरु बसिरहेका छन् ।

१४ जनामध्ये ७ जना पहिलेदेखि नै यहि बसिरहेका हुन् भने अन्य पछि विभिन्न जिल्लाबाट ल्याइएका हुन् । पुराना ७ जना अनुयायीहरुसँग पनि प्रहरीले विशेष सोधपुछ गरेको छ । आश्रममा रहेका अनुयायीहरु सबै जना जिल्ला बाहिरका हुन् । नेपाल समाचारपत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here