आँखा अस्पताल र गुठी संस्थानको जग्गा विवाद : भूमिसुधारमन्त्री अर्याल

237

काठमाडौंँ/भूमिसुधार तथा व्यवस्थामन्त्री पद्माकुमारी अर्यालले त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल र गुठी संस्थानको जग्गा विवाद चाँडै समाधान हुने बताएकी छिन् । आँखा अस्पतालको आधुनिक प्रविधिसहित स्तरोन्नत्ति भएको भवनको उद्घाटन गर्न पुगेकी मन्त्री अर्यालले दुवै पक्षको सहमतिमा समस्या समाधान हुने बताएकी हुन्।
उनले ‘यो जग्गा जनहितका लागि प्रयोग गरिनुपर्छ, आँखा अस्पतालले जनसेवा गरिरहेको छ, विवाद समाधान गर्ने विषयमा प्रक्रिया अघि बढिसकेको छ, छिट्टै समाधान हुन्छ।’

नेपाल आँखा अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीले आँखा अस्पताल र गुठी संस्थान रहेको सो स्थानमा दश रोपनी जग्गा रहेको र अस्पतालले त्यो जग्गा माग गरेको बताए। ‘त्रिपुरेश्वर आँखा अस्पताल नेपालकै पहिलो आँखा अस्पताल हो। सस्तो र सर्वसुलभ उपचार सेवा प्रदान गरिरहेको छ,’ उनले भन्नु भयो । आँखा अस्पताललाई व्यवस्थित बनाउदैँ शिक्षण संस्थाको रुपमा पनि विकास गरिरहेको बताए। उनले भने,‘ आँखाका विशेषज्ञ उत्पादन गरी देशभर सेवा प्राप्त होस् भन्ने उद्देश्य राखेका छौं, काठमाडौँका चार स्थानमा पनि हाम्रो स्याटालाइट यूनिट छ।’

अस्पतालले काठमाडौं थानकोट, टोखा, खोकना र साँखुमा आँखा युनिट राखी सेवा दिइरहेको छ। आएका बिरामीमध्ये कसैलाई शल्यक्रिया गराउनुपर्ने भए अस्पतालले त्रिपुरेश्वर अस्पताललाई शल्यक्रिया गरी घर पु¥याइदिने व्यवस्था पनि गरेको छ। अस्पतालका कार्यकारी निर्देशक दमनबहादुर घलेले नयाँ प्रविधिसँगै बिरामीमैत्री तरिका अवलम्बन गरेकाले बिरामीले छिटो–छरितो उपचार सेवा पाउने बताउनु भयो । अस्पतालको नवनियुक्त मेडिकल डाइरेक्टर डा कमलबहादुर खड्काले नयाँ व्यवस्थाअनुसार बिरामीलाई बहिरङ्ग सेवाबाट आवश्यक परे सिधै स्पेशल क्लिनिकमा पठाइ त्यहीबाटै सबै उपचार सेवा प्रदान गरिने जानकारी दिनु भयो । क्यानडास्थित अपरेशन आइसाइट युनिभर्सल संस्थाको ७० लाखको आर्थिक सहयोगमा अस्पताल स्तरोन्नत्ति गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here