गोरखा/शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पाखरेलले सामुदायिक विद्यालयहरु प्रतिस्पर्धामा आउन नसक्नुको कारण शिक्षकहरु नै भएको बताएका छन् ।
पार्टीको झण्डा बोकेर हिँड्ने शिक्षकहरुको ध्यान शिक्षण भन्दा राजनीतितर्फ धेरै केन्द्रित रहेको दोषा दिनु भयो । ‘राजनीतिक पार्टी र ट्रेड युनियनको सदस्यता झोलामा बोकेर हिँड्ने पढाउन ध्यान नदिने शिक्षकहरुले विद्यालयको पठनपाठन सुधार गर्न सक्दैनन्,’ मन्त्री पोखरेलले जानकारी दिनु भयो ।
शहीद लखन गाउँपालिका—९ नाम्जुङ्गको जनशक्ति माविको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै समयको परिवर्तन सँगै शिक्षकले आफ्नो भूमिकालाई परिवर्तन गर्दै लैजानु पर्नेमा जोड दिनु भयो । निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको व्यवस्थापन पक्ष कमजोर रहेको उनले स्वीकार गरेका छन् । ‘शिक्षामा सरकारले ठुलै लगानी गरेको छ, तालिम पनि पर्याप्त दिएकै छ, तर शिक्षक, अभिभावक र सरोकारवालाले स्वामित्व लिन सकेनन्, त्यसैले सामुदायिक विद्यालय पछाडि परेको हो,’ मन्त्री पोखरेलले जनाउनु भयो । शिक्षालाई विकाससँग जोडेर गुणस्तरीय शिक्षा प्रदान गर्न सबै लागि पर्नुपर्ने उनको तर्क छ । आगामी दुई वर्षभित्र प्रत्यक गाउँपालिकाको एक विद्यालयमा प्राविधिक शिक्षा पुर्याउने उनले दावी गरे ।
कार्यक्रममा उनले ०७५ फागुन २१ गते भित्र संघीय शिक्षा ऐन जारी हुने बताएका छन् । ऐनअनुसार बालबालिकालाई विद्यालय नपठाउने अभिभावकलाई स्थानीय सरकारबाट दिइने सबै सेवासुविधा रोक्का गरिदिने उनको भनाइ छ । विद्यालय भवन उद्घाटन गर्न गोरखा आएका मन्त्री पोखरेलले सोमबार गोरखा नगरपालिका(१० स्थित मनकामना बहिरा आवासीय माविको अनुगमन गरेका छन् ।
विद्यालयलाई प्राविधिक धारमा संचालन गर्नका लागि अनुमतिसँगै आवश्यक अनुदान उपलब्ध गराउन बिद्यालयले माग गरेको छ ।

















