नेपाल–जापान सम्बन्धमा नयाँ आयाम

165

-प्रा.डा. गोपाल शिवाकोटी

विश्व शक्ति राष्ट्रको रूपमा उदय हुने महत्वाकांक्षालाई बोकेको तथा सैनिक शक्तिलाई सुदृढ गरिरहेको तथा नयाँ व्यापार समूहको नेतृत्व लिने आकांक्षा बोकेको जापान र समृद्ध र सुखी नेपालीको नारा अगाडि सारेर जापानको सहयोगमा सामाजवाद प्राप्त गर्न अघि बढेको नेपाल र जापानबीच नयाँ सम्बन्ध विकसित हुन गएको छ । जापानले नेपालसँग कामदारहरू लिने तथा नेपालले जापानबाट लगानी भिœयाउने कार्यक्रम अगाडि बढाएपछि नयाँ आयाम विस्तार भएको छ । हालै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीले औपचारिक भ्रमण गर्नु भएको छ भने जापानका परराष्ट्र मन्त्रीले पनि यसै हप्तामा नेपालको दुईदिने भ्रमण गर्ने यो उच्चस्तरीय भ्रमणले नेपाल र जापानबीचको जनस्तर र राज्यस्तरमा समेत नयाँ उँचाइ लिने विश्वास गरिएको छ ।

जापानसँगको नयाँ सम्बन्धमा दक्ष र अदक्ष दुवै खालका कामदारहरू जापान जान पाउने भएका छन् । जापानले यो सम्बन्धमा सम्झौताको मस्यौदा पठाएको छ । यसमा जापानले १४ क्षेत्रमा कामदार लिने भएको छ । यसमा घरेलु स्याहारसुसार, व्यापार, उद्योग व्यवसाय, इलेक्ट्रोनिक, पशुपालन र कृषि व्यवसायमा जान पाउने तोकिएको छ । यसअधि नेपालबाट जापानले प्रशिक्षार्थी कामदारहरू लिने गरेकोमा अहिले आएर पूर्ण कामदारहरूलाई नै लैजाने भएकोले नेपालीहरू उत्साहित भएका छन् । जापान नेपालको लागि आकर्षक गन्तब्य हो र जापानमा कामदारहरूलाई दिइने तलब पनि आकर्षक रहेकोले नेपालीहरू उत्साहित भएको देखिएको छ । यसैले गर्दा कामदार पठाउने मेन पावरहरूबीच चलखेल भैसकेको देखिएको छ ।

जापानले नेपालबाट करिब १ सय २० बर्ष अगाडि देव समशेरको पालामा सरकारको अनुरोधले ८ जना युवाहरूलाई अध्ययन गर्न लगेको थियो जापानमा शिक्षा पाएका यी व्यक्तिहरूले नेपालको विकासमा महत्वपूर्ण योगदान गरेको देखिन्छ । जापानमा इन्जिनियर पढेर आएका व्यक्तिहरूले नेपालको निर्माण र विकासको पूर्वाधार तयार गर्ने कामसमेत गरेका थिए । अहिले १ सय २० वर्षपछि छात्रवृत्तिमा पढाउनका लागि लैजान लागेको होइन जापानका विभिन्न १४ वटा क्षेत्र नर्सिङ, उत्पादन, होटल, कृषि, माछापालन, खाद्यान्न उत्पादन सेवालगायतका क्षेत्रमा श्रमिकको आपूर्तिका लागि खुल्ला गर्न लागेकोले जापानको परम्परागत मित्रताभन्दा नयाँ आयामको सम्बन्धमा विकास भएको देखिन्छ । नेपाल र जापान दुईवटा अलग किसिमका भौगोलिक संरचना भएका राज्य हुन् । जापान जलपरिवेष्टिक प्रशान्त क्षेत्रमा रहेको टापु राज्य हो भने जापान मध्यएसियामा रहेको राज्य हो । यति हुँदाहुँदै पनि नेपालीसँग जापानीहरूको एकरूपता रहेको छ । दुवै देशका अधिकांश जनता बुद्धमार्गीहरू रहेका छन्, त्यसैले गर्दा जापानी र नेपालीबीच भावनात्मक संरचनाको एकतासमेत पाइन्छ ।
यद्यपि दोस्रो विश्वयुद्धको समयमा जापानी र नेपाली सेनाहरू थाइल्याण्ड बर्मालगायतका पूर्वी एसियाली राज्यहरूमा लडाइँ गरेका थिए । दोस्रो विश्वयुद्धमा जापानले पराजय स्वीकार गरेपछि कपितपय नेपालीहरू घर फिर्ता भएका र कतिपय नेपालीहरू बर्मा, थाइल्याण्ड आदि देशमा बसोवास गरी त्यतै बसेका थिए । अहिले जापानमा बढ्दै गएको बृद्धबृद्धाको संख्याले युवाहरूको संख्यामा कमी आएको अवस्था छ । उत्पादनलगायतका क्षेत्रहरूमा सघाउनका लागि नेपालीहरु जान थालेका हुन् र यसले जापानको कमाउँदै गएको जनशक्तिलाई आपूर्ति गर्ने काम नेपालीहरूले गर्ने भएका छन् । यसैले पाँच वर्षभित्र नेपालले ३ लाख पचास हजारभन्दा बढी जनशक्ति लिने भएको र यसमा नेपालीलाई प्राथमिकता दिएर नेपालीहरूप्रतिको जापानीहरूको विश्वास र आस्थालाई उजागर गरिदिएको छ ।

जापानमा अहिले राजतन्त्रात्मक व्यवस्था रहेको छ । नेपालमा गणतान्त्रिक व्यवस्था सुरु भएको अवस्थामा नेपालले जापानबाट प्राप्त रेमिटेन्स लगानी प्रविधिबाट नेपालको विकास समृद्धि र समाजवादको स्थापना गर्न चाहन्छ भने जापान नेपालबाट जनशक्ति लगेर जापानको विकासलाई निरन्तरता दिन र उसको सैनिक महत्वकांक्षा तथा विश्वव्यापी व्यापारलाई कब्जा गर्ने रणनीतिमा सफल हुन चाहन्छ । अहिले जापानले अमेरिकाको नयाँ व्यापार संयन्त्र निर्माण गर्ने प्रयासस्वरूप ट्रान्सप्यासिफिक सम्झौताका सदस्यराष्ट्रसँग संवाद गर्ने जिम्मा लिएको छ । जनवरी २०१७ मा अमेरिकाको ट्रान्सप्यासिफिक व्यापार सम्झौताबाट बाहिरिने घोषणा गरेपछि यसको प्रतिक्रियास्वरूप यस क्षेत्रका ११ वटा मुलुकले सिपिटिपिपी सम्झौता गरेका थिए र यसको नेतृत्व जापानले लिएको थियो । जापानले यस क्षेत्रको व्यापार बारेमा वार्ता गरेअनुसार नै २०१७ को अन्त्यमा नयाँ व्यापार सम्झौतामा हस्ताक्षर भएको थियो ।
८ मार्च २०१८ मा ११ राज्यले दस्तखत गरेको सिपिटिपिपी सम्झौता गरेकोलाई जापानका लागि उपलब्धिको रूपमा लिइएको छ । यो व्यापार सन्धिको सफलताको लागि जापानले केही जोखिमसमेत उठाउनुपर्ने हुनसक्छ भन्ने शंकाहरू रहेका छन् । सेवा उद्योग, इलेक्ट्रोनिक, सूचना प्राविधि, उत्पादन तथा निर्माण उद्योग, वित्तीय क्षेत्र र बौद्धिक सम्पतिका आधारमा अन्य सदस्य राष्ट्रभन्दा अगाडि रहेको छ तथापि यी क्षेत्रमा जापानमा बढ्दै गएको बृद्धबृद्धाहरूको संख्याले गर्दा नयाँ युवाशक्तिहरूको कमी हुन थालेको प्रमुख चुनौती हो । यही चुनौतीलाई पूरा गर्न जापानले नेपालबाट दक्ष र अदक्ष कामदारहरू भिœयाउन लागेको होे । यी क्षेत्रहरूमा व्यापार सम्झौतामा रहेका क्यानाडा र जापानलाई चुनौती दिन सक्ने राज्य हुन् तर यी दुवै राज्यहरू पनि जनसख्याको कमीको समस्या भोगिरहेको अवस्था छ । अन्य सम्झौतामा संलग्न राज्यहरू भियतनाम, मलेसिया, मेक्सिको र अन्य औद्योगिक राष्ट्रले जापानका मझौला तथा साना उद्योगको लागि प्रस्तुत गर्न सक्ने देखिन्छ ।
यस्तो अवस्थामा आफ्ना उच्च प्राविधिक उद्योगको बचाउमा जापान आउन सक्ने अवस्था रहेको छ । दीर्घकालमा कृषि, पशुपालन, मत्स्यपालन तथा अन्य साना उद्योग व्यवसायमा जापान अरुसँग भर पर्न सक्ने खतरा पनि अगाडि रहेको छ । तर उच्च प्रविधि आधुनिक तथा सेवा उद्योगलाई निरन्तरता दिंदा यी समस्याले ल्याएका चुनौतीसँग आतिनु पर्ने स्थिति रहेको छैन । सबैखालका उद्योग व्यवसायीहरूलाई बचाउन जापानले विदेशी श्रमशक्तिहरूको खरिद गर्न लागेको हो र यसको लागि नेपाललाई जापानले प्राथमिकता दिएको देखिन्छ । यसले गर्दा जापानले युवा जनशक्तिको आपूर्ति गर्न सक्दछ र आफ्नो औद्योगिककरणलाई बचाउन र गति दिन सक्ने छ । यसको लागि दक्ष र अदक्ष सबैखालका नेपाली श्रमिकहरू लिने कुरा गत मार्च ८ को जापानको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको होे ।
जापानले श्रमिकहरू लैजाने मुलुकहरूमा नेपाल, फिलिपिन्स, चीन, इन्डोनेसिया, कम्बोडिया र भियतनाम रहेका छन् । यी देशमा पहिलो चोटि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार श्रमिक लैजाने निर्णय पनि गरिएको छ । आवश्यकताअनुसार यो सख्यामा बृद्धि हुन सक्ने देखिएको छ । नेपालबाट दक्ष अदक्ष सबैखालका कामदारहरू लैजानु नेपालको हितमा रहेको छ । यसको लागि निश्चित मापदण्डमा जापानसँग सम्झौता हुने भएको छ र यसको मस्यौदा समेत नेपाललाई प्राप्त भइसकेको छ । खाडी मुलुक, दक्षिण कोरिया र मलेसियाका साथै जापान पनि बैदेशिक रोजगारीको आकर्षक केन्द्र रहेको छ । अहिले पनि प्रशिक्षार्थीको लागि गएका तर गैरकानुनी रूपमा जापानमा काम गर्नेहरूको संख्या प्रशस्त रहेको छ । नेपालीहरूको इमान्दारिता र श्रम गर्ने बानीले गर्दा जापानीहरूसमेत प्रभावित रहेका छन् । कामदारहरूको कमी भएपछि ‘वर्किङ भिसा’मा कामदारहरू लैजान थालिएको हो । अहिले गैरकानुनी बाटोबाट जापान जानका लागि पनि दलालहरूले रु. १२ लाखसम्म लिने गरेका छन् । दक्ष कामदारको रूपमा होटलहरूमा काम गर्ने गरेको देखिन्छ । तर नक्कली कागजात बनाएर जानाले अनेक किसिमका समस्या भोग्नुपरेको छ । यी कामदारहरू लिनको लागि जापानले १ सयभन्दा बढी केन्द्रहरू खोल्ने र जापानी भाषा र सीप सिकेकाहरूलाई प्राथमिकतामा राख्ने गरेबमे देखिएको छ । जापानी भाषामा अध्ययन गराउने विभिन्न केन्द्रहरू सञ्चालन हुँदै आएका छन् । जापानीहरूप्रति नेपालीको रुची पहिले देखिनै रहेको हो ।
जापानले अहिले कामदारको रूपमा मात्र केही समयका लागि लैजाने निर्णय गरेको भएपनि दक्ष व्यक्तिहरू भएमा परिवारहरूसमेत लैजाने व्यवस्था जापानले गर्दैछ । यसरी परिवारसमेत गएका व्यक्तिहरूलाई जापानी नागरिकता दिन सकिने खुकुलो प्रावधान पनि जापानको रहेको छ । त्यसैले उच्चस्तरका जनशक्तिहरू जापानमै नागरिकता लिएर बस्न सक्ने खतरा पनि देखिएको छ ।

नेपालमा प्रतिवर्ष सढे चार लाखभन्दा बढी श्रमिक जनशक्ति बढी उत्पादन हुने गर्दछन् र प्रत्येक दिन खाडीलगायतका मुलुकहरूमा १५ सयसम्म श्रमिकहरू बैदेशिक रोजगारमा जाने गरेका छन् । सरकार पनि यी नै राजगारहरूबाट प्राप्त रेमिट्यान्सको आधारमा चलाएको अवस्था छ । अहिले बैदेशिक रोजगारबाट मुलुकको आम्दानीको २९ प्रतिशत अंश रहेको छ । जापानमा श्रमिकहरू रहेपछि यसको अंश पनि विस्तार हुँदै जाने दखिन्छ । नेपालले बैदेशिक रोजगारीबाट युवाशक्तिलाई रोजगारी र सरकार चलाउने गरी आएकोले नेपालको समृद्धि र विकासमा यसबाट फाइदा पुग्ने विश्वास गरिएको छ भने यसले जापानको लगानी भिœयाउन पनि सहयोग प्राप्त हुने आशा बढाएको छ ।

जापानको के चरित्र रहँदै आएको छ भने आफूले व्यापार विस्तार गर्ने मुलुकहरूमा पूर्वाधार निर्माण गरी जापानी व्यापार विस्तार गर्दै आएको देखिन्छ । नेपालमा जापानी यातायात साधन विक्री गर्नु अगाडि यसका मर्मतसम्भारको व्यवस्था गरी यातायातका साधनहरूको निर्यात गरेको हो । यस्तै जापानले ट्रान्समिसेनल प्रोडक्टको उत्पादन पनि सन् १९७० देखि अपनाउदै आएको छ । अन्य देशमा हुण्डाइ र सुजुकी आदिको टेक्नोलोजी निर्यात गरी सोही मुलुकमा उत्पादन गरेर आफ्नो नाफा फिर्ता गर्ने गरेको छ । भारतमा थुप्रै यस्ता उद्योगहरू खोलिएका छन् । नेपालमा पनि जापानबाट प्रविधि ल्याएर नेपालमै मोटर गाडीहरू, मोटर साइकल तथा अन्य इलेक्ट्रोनिक सामान उत्पादन प्रारम्भ गरेर नेपाललाई समृद्ध बनाउन सकिन्छ ।

दोस्रो कुरा जापान गएका श्रमिकहरूले श्रम सिकेर आई नेपालमा प्रयोग गर्न सक्ने हुँदा कुशल प्रविधियुक्त जापानलाई कामदार आपूर्ति गर्ने कार्य दुवै देशको लागि आपसी हितका र स्वार्थका विषय हुन सक्दछन् । जापान एशियाको पुर्वतर्फको प्रसान्त महासागरमा रहेको टापु देश हो, यसको क्षेत्रफल ३, लाख ७४ हजार ७ सय ४४ वर्ग किलोमिटर रहेको छ । यहाँको जनसख्या १२ करोड ६९ लाख २० हजार रहेको छ । यहाँको प्रतिव्यक्ति आय ३६ हजार ६ सय ८० डलर रहेको छ । यहाँ जापानी भाषा बोलिन्छ, यहाँको मुद्रा येन हो, यहाँको धर्म सिन्तो बुद्ध धर्म रहेको छ । नेपालसँग जापानको सम्बन्ध सन् १८९९ देखि सुरु भएको हो । त्यसबेला माथि भनिसकिएको छ देव समशेरले ८ जना विद्यार्थी पढ्न पठाएका थिए र जापानको मिचिको संविधानबाट प्रभावित भएर नेपालमा जापानको जस्तो व्यवस्था भएको थियो । तर चन्द्र समशेरले उनलाई पदच्युत गरी धनकुटा धपाएकाले उनको यो मिचिको संविधान लागु हुने कार्य सुरु हुन सकेन । तर पठाएका विद्यार्थी र यो जापानी संविधान लागु गर्ने कुराले नेपालमाथि जापानको प्रभाव परेको थियो ।

नेपालसँग सम्बन्ध कायम भएपछि जापानले नेपालको सबै क्षेत्रमा सहयोग गर्दै आएको छ । नेपालका उच्चस्तरीय भ्रमण पनि दुवै देशबीच हुँदै आएका छन् र पर्यटकहरूको संख्या पनि बढ्दै आएको छ । शिक्षण अस्पतालको निर्माण, पुल्चोकमा साझा यातायातको ग्यारेज निर्माण र बसको व्यवस्था । त्यस्तै विपी राजमार्गको निर्माण, पुराना खानेपानी तथा ढललाई सुधार गर्ने काम, बसपार्कको निर्माण, कालीगण्डकी जलविद्युत परियोजनाको निर्माण, विमान स्थलको सुधार, खाद्यान्नको आपूर्तिजस्ता कार्यहरू गर्दै आएकोमा अबको सम्बन्धले नेपाल र जापानबीचको सम्बन्धलाई नयाँ आयाम थप्दै अरु उँचाइमा पुग्ने विश्वास गरिएको छ । तर जापानको दक्षिण एसियामा कनेक्टिभिटी तथा कार्यक्रमको दक्षिण चीन सम्बन्धमा चीनसँगको बढ्दो तनावलाई सन्तुलन नगरिएमा यसबाट चीनसँगको सम्बन्धमा असर पर्न सक्ने हुँदा नेपालले गम्भीर भएर सम्बन्ध स्थापना गर्नु आवश्यक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here