गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । ‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत हो । यो गीत दर्शकबीच लोकप्रिय भएर चार महीना नपुग्दै दुई करोड बढी दर्शक पाएको हो ।
नवराज पन्तको शब्द, वसन्त थापाको सङ्गीत रहेको गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर छ । यिनै चार सर्जक, कलाकार मिलेर विसं २०६८ मा ल्याएको लोकदोहोरी गीत ‘डाँडै फुर्के सल्लो’ पनि त्यसताका निकै चर्चित बनेको थियो ।
युट्युब बाहिर पनि गीतको लोकप्रियता उत्तिकै बढेको छ । रचना, स्वर र सङ्गीत तीनै पक्ष स्रोताले निकै रुचाएका छन् । ‘म्युजिक भिडियो’ ले युट्युबमा दर्शक तानेको छ ।
‘भिडियो’ मा नायिका मरिष्का पोखरेलसँगै गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ ।

















