काठमाडौं / पुस २७ गते पृथ्वी जयन्तीको दिन पारेर भारतले नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापालाई निम्तो गरेको छ । प्रधानसेनापति थापा यो निम्तो मान्न भारत जाने वा नजाने भन्ने बारेमा विभिन्न अडकलबाजी भइरहेका छन् ।
नेपालको एकीकरण दिवस मनाउने दिन भारतीय राष्ट्रपतिलाई सलामी दिन नेपालका प्रधानसेनापति भारत जानु ठीक नहुने तर्क पनि केहीले गरेका छन् । नेपाली सेनाको स्थापना पृथ्वीनारायण शाहले गरेका हुन् । पृथ्वीनारायणकै जयन्तीका रूपमा मनाइने नेपाल एकीकरण दिवसको दिन पारेर नेपालका प्रधानसेनापतिलाई भारतले बोलाउनुको पछाडि नेपालमा नेपाली सेनाप्रति अविश्वास पैदा गराउने षडयन्त्रका रूपमा विज्ञहरूले औंल्याएका छन् ।
भारतले नै तय गरेको यो निम्तोको समयलाई प्रधान सेनापतिले पछि सार्नुपर्ने सुझाव पनि आएका छ । सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ता सुझावहरू आएका छन् । नेपाली सेनाबाटै संस्थापक पृथ्वीनारायण शाहको अपमान गराउने भारतको षडयन्त्र भएकाले भारतको निम्तोको समयलाई सार्नुपर्ने सुझाव विभिन्न व्यक्तित्वहरूबाट आएको छ । नेपालका लागि पृथ्वीनारायणको भन्दा ठूलो महत्व भारतको रहेको देखाउने र नेपालको सार्वभौमिकतामाथि हमला गर्ने योजनाका रूपमा प्रधानसेनापतिको यो भ्रमण तय गरिएको विचार विश्लेषक भरत दाहालको रहेको छ । दाहालले नेपालका प्रधानसेनापतिलाई फसाउन सरकारमा रहेका नेताहरूले गरेको यस्तो कुकर्म अस्वीकार नगरे प्रधान सेनापति थापा आजीवन कलंकित बन्ने ठोकुवा पनि गरेका छन् ।

















