ओलीलाई माधव नेपालले यस्तो दिए जवाफ !

209

सत्ताँरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेको बलियो एकता र गुटगत राजनीतिको लाईनमा उभिन भन्दै वरिष्ठ नेता माधवकुमार नेपाललाई देखाएको ललीपप खेर गएको नेताहरु बताउँछन ।

नेकपाका अधिकाशं नेताहरुले ओली विधि र पद्धतिलाई चुनौती दिदै व्यक्तिवादी अराजकताको बाटोमा हिडेको र मनपरी ढंगबाट सरकार सञ्चालन गरिरहेको भन्दै विरोध गरिरहेको अवस्थामा वरिष्ठ नेता माधव कुमार नेपाललाई हिजो भएको भेटको क्रममा आफ्नो पक्षमा ल्याउन ‘पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउने’ पदको ललीपप देखाएका थिए ।

उक्त भेटको क्रममा ओलीले पार्टीको विवाद प्रचण्डको कार्यशैलीका कारण उब्जेको भन्दै नेता नेपाललाई प्रचण्ड क्याम्पमा नउभिन सल्लाह दिदै आफुले उनलाई निर्वाचनपछि प्रधानमन्त्री वा महाधिवेशनपछि पार्टी अध्यक्ष बनाउने आश्वसन (पदको ललीपप) देखाएका थिए ।

ओलीको कुरा सुनेपछि त्यसको प्रतिउत्तरमा नेता नेपालले भने प्रस्तावमा विश्वास गर्न नसकिने भन्दै पदीय ललीपपमा आफु नफस्ने प्रष्ट पारे । बरु उनले पार्टी विधि र पद्दतिमा चलाउन आवश्यक हुने भन्दै निति प्रधान हुने तर्क गरे । नेता नेपालले ओलीलाई पार्टीभित्रको समस्या उनकै कार्यशैलीका कारण उत्पन्न भएको भन्दै सुर्धिन आग्रह समेत गरे ।

नेपाले ओलीलाई कडा जवाफ दिदै भने ‘समस्या तपाईसँग छ, व्यक्तिवाद त्याग्नुस्, सहमतिमा चल्नुहोस् ।’ उनले व्यक्तिवाद त्यागेपछि मात्रै सहमति र एकताको विकल्प खुल्ने र विवाद हल हुने भन्दै ओलीलाई सुर्धिन सल्लाह दिएको बताइएको छ ।

ओलीले दुई पदमा आश्वसन देखाउँदै ‘अहिलेलाई मिलेर एकताका साथ अघि बढौँ, पार्टीभित्र देखिएका चुनौती सम्बोधन गर्दै अघि बढौँ ।’ भनेर नेपाल समक्ष राखेको प्रस्तावमा उनले भने विश्वास गर्न नसकिने तर्क सहित अस्विकार गरे ।

नेता नेपालले जवाफमा ओलीलाई भने ‘तपाईं एउटा कुरा भन्नुहुन्छ, काम अर्कै गर्नुहुन्छ । मैले सबै जानेको छु, सबै बुझेको छु । मैले नै पार्टी चलाएको छु जस्तो आफू सर्वेसर्वा ठान्नुहुन्छ । यो पार्टी एकजनाले बनाएको होइन, तपाईं–हामी सबै मिलेर, लाखौँ कार्यकर्ताको योगदानबाट बनेको हो भन्ने ठान्नुस् ।’

उनले ओलीलाई चेतावनीसहित भने–‘पार्टीलाई विधिसम्मत ढंगले सामूहिक नेतृत्व प्रणालीका आधारमा सञ्चालन गर्नेबित्तिकै धेरै समस्या समाधान हुन्छ । त्यसैले तपाई व्यक्तिवाद त्याग्न तयार हुनुहोस्, सहमति र एकताका साथ अगाडि बढ्न सकिन्छ ।’ नेपालको त्यस्तो जवाफमा ओली मौन थिए ।

कडा रुपमा प्रस्तुत हुँदै नेपालले भने, ‘आफूलाई सर्वेसर्वा ठान्ने, विधि र पद्धतिलाई चुनौती दिँदै अघि बढ्ने, तपाईकै कार्यशैलीका कारण समस्या उत्पन्न भएको हो । यसमा तपाईले तत्काल सुधार गर्नस्, समस्या समाधान हुन्छ । त्यसका लागि बैठक राख्नुस्, त्यहि सबै विषयमा छलफलसहित संस्थागत रुपमा समाधानको विधि खोजौ ।’

करिब साढे दुई घन्टा लामो छलफलका क्रममा नेता नेपालले महाधिवेशनमा लैजाने पार्टीको विचारको बहसबारे संस्थागत निर्णयबाट खुला नगरीकनै ओलीले जनताको बहुदलीय जनवाद मान्नेहरू एक ठाउँ हुनुपर्ने भन्दै, गुटको आकारमा मदन भण्डारी फाउन्डेसनका नाममा भेला गर्न थालेको भन्दै कडा प्रतिवाद समेत गरे ।

उनले भने–‘पार्टीको विचारसम्बन्धी बहस संस्थागत रूपमा खुला भएकै छैन, पार्टीको विवाद समाधान कार्यदलले सिफारिस गरेर कुनै पनि फाउन्डेसन विस्तार नगर्ने, गतिविधि नगर्ने सिफारिस गरेर स्थायी समितिले निर्णय गरे पनि तपाईंले उल्लंघन गरेर गतिविधि गराइरहनुभएको छ, त्यस्ता पार्टी एकताविरोधी गतिविधि बन्द गराउनुस् ।’

नेपालको सुझावलाई ओलीले प्रचण्ड भन्दा पुर्व एमालेबिच पहिले एकता हुनुपर्ने कोणबाट छलफल गरेका थिए । उनले भने–‘प्रचण्डले पार्टी सञ्चालनको कुनै पनि जिम्मेवारी नसम्हाल्ने, तर गुटको बैठक राखेर गलत कुरा गरेर नेतालाई भड्काउने, सरकारलाई असफल पार्ने र घेराबन्दी मात्रै गर्ने गरे । त्यसैले पार्टी एकता बचाएर अघि बढ्न पहिला कम्तीमा पूर्वएमाले एकैठाउँमा उभिएर अगाडि बढ्दा सहज हुन्छ।’

त्यसको प्रत्युत्तरमा नेपालले सबै समस्याको हल बैठकमा छलफल र सामुहिक निर्णयको विधिबाट हुने भएकाले तत्काल सचिवाल बैठक राख्न सुझाव दिए । त्यस विषयमा कार्यकारी अध्यक्ष प्रचण्ड सहित पाँच सचिवालय सदस्यहरुको अनौपचारिक बैठक र त्यसको निर्णय सहित ओली समक्ष लिखित रुपमा तत्काल बैठक राख्न माग गरेका छन ।

ओलीले सचिवालयका नेताहरुले बैठक बोलाउन लिखित माग गरेअनुसार विधानबमोजिम प्रक्रिया अगाडि बढाउन महासचिव विष्णु पौडेललाई निर्देशन दिएको विषयमा सार्वजनिक भएपनि बैठकको मिति भने घोषणा गरेका छैनन ।

नेकपाको आन्तरिक विवादका कारण कात्तिक १५ मा बस्ने भनेको केन्द्रीय कमिटी बैठक बस्न सकेन । त्यस्तै चैतमा गर्ने भनिएको नेकपाको एकता महाधिवेशन समेत विवादले अनिश्चित बन्दै गएको नेताहरुको भनाई छ । उक्त छलफलमा नेता नेपालसँग नेताहरू सुरेन्द्र पाण्डे, भीमबहादुर रावल र रघुजी पन्तसहित बालुवाटार पुगेका थिए ।

पार्टीभित्र चलेको ओलीको मनपरीतन्त्र रोक्न विधि र पद्दतिको पक्षमा उभिने बलियो विश्वास सहित पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड सहितका नेताहरुको छलफल बाक्लो बन्दै गएपछि ओली आत्तिको र सचिवालयमा आफ्नो गुटको बहुमत जुटाउने कोसिसमा लागेका कतिपयको भनाई छ ।

पूर्व एमाले र माओवादी केन्द्रको नाममा ओली र प्रचण्ड समूहबिच पार्टी एकता भएर बनेको नेकपामा अहिले ओली अल्पमतमा परेको महसुस गर्दै प्रधानमन्त्रीको कुर्सि र पार्टी अध्यक्षको पद रक्षाको स्वार्थमा ‘पूर्व एमाले एकता’ को नाममा नेताहरुसँग छलफल गर्दै आफ्नो आन्तरिक गुट बलियो बनाउने योजनामा लागेको प्रष्ट देखिएको नेताहरुको भनाई आइरहेको छ ।

पछिल्लो समय उनी पूर्व एमाले समूहको नाममा ‘जवज’ को वहस र आन्तरिक गुटमा केन्द्रीय छलफल तल्लो तहसम्म चलाउने लागेपछि त्यसले पार्टी एकताको भावना विरुद्ध, विभाजन र विवादतिर लग्ने भन्दै नेकपा एकताका पक्षधर नेताहरुले चिन्ता समेत गर्दै आएका छन ।

पार्टीको विधि, पद्दतीलाई चुनौति दिदै ओलीले सरकार सञ्चालनमा समेत मनपर्जि ढंगबाट काम गर्न थालेपछि त्यसलाई रोक्नका लागि पछिल्लो समय नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश लगाएतका नेताहरु एक ठाउँमा उभिएका छन ।

(विभिन्न समाचार माध्यमहरुमा आएको समाचार श्रोत अनुसार )oli madhav nepal

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here