फेरि एक पटक सीके राउतलाई सुझाव !

155

-प्रीती रमण

जनधारणा साप्ताहिकको यस अघिको अंकमा मैले सीके राउतलाई केही सुझाव राखेकी थिएँ । एकसाता भित्रै घटनाक्रमहरू निकै रोमाञ्चित ढंगले उद्घाटित भएका छन् । त्यसैले फेरि एकपटक सीके राउतलाई सुझाव दिनुपर्ने आवश्यकता महसुस भयो । नेपाललाई बिखण्डन गर्ने माग सहित स्वतन्त्र मधेश गठबन्धनका नाममा गतिविधि गरिरहेका सीके राउत पछिल्लो पटक त्यो मागलाई त्याग गरेको भन्दै सरकारसँग ११ बुँदे सम्झौता गरेपछि निकै चर्चामा आएका छन् । नेपालको अखण्ड अस्तित्व स्वीकार गर्दै नेपालको संविधानको मातहतमा रहेर यहाँको सार्वभौमसत्ता, स्वतन्त्रता र अखण्डतालाई स्वीकार गर्ने कुरामा सहमति गरेका उनले मुलधारको राजनीतिमा आउन पार्टीको नाम समेत परिवर्तन गरेका छन् । तर सम्झौता पछि पनि उनले त्यो सम्झौताको पूर्ण पालना भने गरेको पाइदैन । मधेशलाई छुट्टै देश बनाउनुपर्छ भनेर यूएनपिओमा दर्ता गरेका उनले अझै त्यसबाट पछि हटेका छैनन् र त्यसप्रति आत्मालोचना पनि गरेका छैनन् ।

जेलबाट छुटेको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापा (बादल) लगायतका उच्चपदस्थहरूको उपस्थितिमा ११ बुँदेमा सहमति गरेका उनले सहमति लगत्तै आफ्ना आधिकारिक सामाजिक सञ्जालहरूबाट एक किसिमको भ्रम सिर्जना गर्न खोजेको देखियो । उनले सामाजिक सञ्जाल मार्फत सरकार मधेशमा जनमत संग्रह गर्न तयार भएको दाबी गरे । जबकी उनले संविधानलाई स्वीकार गरेपछि संविधानले राष्ट्र विभाजनका लागि स्वीकृति दिँदैन, त्यसमाथि सम्झौताको पहिलो बुँदामा अभिभाज्य नेपालको रक्षा गर्ने जिम्मा सबैको हो भन्ने कुरामा उनले सहमति गरेका छन् । यत्तिमात्र होइन उनी सहमति लगत्तै तराई जाने क्रममा जनकपुरमा मुलुक बिखण्डन र स्वतन्त्र मधेशका नारा घन्किए । यसले सरकारलाई समेत झस्कायो ।

हालै नयाँ पार्टी स्थापना कार्यक्रममा प्रवेश गर्न राउतले कार्यकर्तालाई नागरिकता अनिवार्य गराएका समाचार प्राप्त भए । कतिपयले यसलाई राउत परिवर्तन भएको रूपमा पनि व्याख्या गरे । जबकी उनले नागरिकताको माग गर्नुको मुख्य कारण दलदर्तासँग जोडिएको थियो । संविधानमा राजनीतिक दल दर्ताका लागि आवश्यक विभिन्न प्रावधान अन्तर्गत केही व्यक्तिको नागरिकता पनि आवश्यकता पर्छ । कार्यक्रममा उनले स्वतन्त्र मधेशसँग सम्बन्धित राष्ट्रिय गीत गाउन लगाएको समाचारहरू पनि बाहिर आएका छन् । यसरी राज्यसँग पुरानो बाटो त्याग गरेको भन्दै महत्वपूर्ण सम्झौता गरेर पनि उनले त्यसको अक्षरसः पालना गर्न नचाहनुले कहीँ न कतै आशंकाहरू बाँकी नै रहेको देखिन्छ । यस्ता आशंका समग्र मुलुकका लागि मात्र नभएर स्वयम राउतका लागि पनि अनुकुल हुँदैनन् । त्यसैले उनले आफूले सरकारसँग गरेको प्रतिवद्धताबाट पछि हट्नु भनेको आफैलाई संकटमा धकेल्नु मात्र हो ।

राउतले सुरु गरेको एउटा सकारात्मक पक्ष भनेको उनले स्वतन्त्र मधेश गठबन्धनको नाम परिवर्तन गरेर ‘जनमत पार्टी’ नामांकरण गरेका छन् । भलै उनले स्वतन्त्र मधेश गठबन्धन बिघटन गरेको खुलाएका छैनन् । तथापि दल दर्ता गरेर मुलधारको राजनीतिमा आउने उनको प्रयास सकारात्मक छ । यदि उनी सरकारसँग गरेको सम्झौताप्रति इमान्दार र प्रतिवद्ध छन् भने उनले यूएनपिओमा दर्ता गरेको स्वतन्त्र मधेशको निवेदनलाई फिर्ता गनुपर्छ । उनमा कतिपय परिवर्तनहरू देखिन थालेका छन् । अमेरिकामा पुगेर वैज्ञानिक बनिसकेको मान्छेले आफ्नो क्षमतालाई सकारात्मक क्षेत्रमा प्रयोग गर्ने हो भने उनीप्रति अहिले आम जनतामा जुन किसिमको घृणा पैदा हुने गरेको छ, त्यो परिवर्तन भएर उनी सम्पूर्ण नेपालीका मनमा बस्न पनि सक्ने छन् ।

यसै पनि उनी राजनीतिक यात्रामा लागेका छन् । राजनीतिमा राम्रो काम गर्नेहरूले नै जनताको मन जित्न सक्छन् । कहिलेकाहीँ भूलबस गलत बाटोमा लाग्न सकिन्छ । विगतमा विभिन्न आन्दोलनमा संलग्न व्यक्तिहरू जसका कारण दशाँै हजार मानिसले ज्यान गुमाउनु परेको थियो, अहिले मुलुधारको राजनीतिमा मुख्य भूमिकामा रहने गरेका छन् । त्यो अवसर सच्चिएको खण्डमा राउतले नपाउने भन्ने कुनै कारण छैन । तर त्यसका लागि उनी जतिसक्दो छिटो सच्चिन आवश्क छ । उनी कुनै एउटा क्षेत्र वा समुदायको भन्दा पनि समग्र नेपाल र नेपालीको प्रतिनिधि बन्न सके भने मात्र उनको राजनीतिक भविष्य पनि उज्ज्वल हुन सक्ने छ । उनले विगतमा लहडमा लिएको निर्णयलाई त्यागेर समग्र मुलुकको हितप्रति प्रतिवद्ध हुन सकुन् । शुभकामना छ ।

मधेशवासीहरू वास्तवमा भन्ने हो भने शासकहरूबाट ठगिएकै छन् । मधेशी जनताको अवस्था कस्तो छ भन्ने कुरा सबैलाई थाहा छ । यहाँ उल्लेख गरिरहनु आवश्यक छैन । छिमेकी देश भारतबाट हुने सीमा अतिक्रमणको सबैभन्दा ठूलोे पीडा मधेशवासीहरूले नै भोग्नु परिरहेको अवस्था छ । दक्षिणतर्फबाट तटबन्ध लगाएर पानीको प्राकृतिक बहावलाई रोकेर नेपाली भूमि जलमग्न गराउने काम भारत पक्षबाट वर्षैपिच्छे भइरहेको अवस्था छ । नेपालका शासकहरू चाहे तराई–मधेशबाटै प्रतिनिधित्व गरेका किन नहोउन ! कसैले पनि मधेशवासीको डुबान समस्याबारे भारतसंग वार्ता गर्न हिम्मत गरेको पाइएको छैन । के सीके राउतले यसको निम्ति पहल गर्न सक्लान् ? भारतसंग नेपालका समस्याहरू अनगिन्ती छन् । दौरा, सुरुवाल र टोपी लगाएका अनुहारहरूले नै दस्तखत गरेर भारतलाई कोशी र गण्डकी नदीहरू सुम्पिएका हुन् । राष्ट्रिय पोशाक लगाएपछि जस्तोसुकै राष्ट्रघात गरेपनि माफी हुन्छ भन्ने खालको मानसिकता नेपाली शासकहरूको मस्तिष्कमा रहेको छ । त्यसैले त्यस्ता नक्कली राष्ट्रवादीहरूलाई नंग्याएर नेपालको राष्ट्रिय हितका लागि केही गर्न सक्ने नेताको अभाव नेपालमा महसुस भइरहेका बेला सीके राउतले बिखण्डनका नगारा बजाउनु भन्दा छिमेकी देश भारतको अतिक्रमणकारी गतिविधिलाई नियन्त्रण गर्न सक्नु पर्दछ ।

नेपाल धेरै अवसरहरू भएको देश हो । यो देशको जलसम्पदा मात्र सदुपयोग गर्न सक्ने हो भने भारतलाई नेपालप्रति निर्भर गराउन सकिन्छ । तर नेपालका नक्कली राष्ट्रवादीहरूले नेपालको जलसम्पदा सबै भारतको जिम्मा लगाइसकेको अवस्था छ । के सीके राउतले त्यस्ता राष्ट्रघाती जल सम्झौतामा नेपालको हितबारे भारतसंग कुरा उठाउन सक्लान् ? देशको आवश्यकता त्यही हो र मधेशको आवश्यकता पनि सीके राउतले बुझ्न सके त्यही नै हो ।- [email protected] -जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here