पाठेघरको मुखको क्यान्सरबाट बच्न सकिन्छ

197

चितवन / पाठेघरको मुखमा हुनसक्ने क्यान्सरका बारेमा जानकारी भएपनि जनचेतनाको अभावमा वर्षेनी धेरै महिलाको यो रोगबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार सन् २०१८ मा विश्वमा पाँच लाख ७० हजार महिलाको पाठेघरको मुखको क्यान्सरका कारण मृत्यु भएको छ । विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले देशका विभिन्न ठाउँमा पुगेर महिलाको पाठेघरको मुखको परीक्षण गर्दै आएको छ । अस्पतालले स्वास्थ्यकर्मीलाई परीक्षणसम्बन्धी तालीमसमेत दिँदै आएको छ ।

अस्पतालको क्यान्सर रोगथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख भोला सिवाकोटी अस्पतालमा सन् २०१७ मा ४ हजार ९७५ जना नयाँ क्यान्सरका बिरामी थपिएकामा ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको बताउनुहुन्छ । उहाँका अनुसार सन् २०१६ मा चार हजार ७७५ मध्ये ६०५ मा पाठेघरको मुखको क्यान्सर देखिएको थियो भने सन् २०१५ मा चार हजार ५८१ बिरामीमध्ये ५४४ जनालाई पाठेघरको मुखको क्यान्सर देखिएको थियो ।

अस्पतालले चालू आर्थिक वर्षमा विभिन्न ठाउँमा पुगेर पाँच हजार महिलाको पाठेघरको मुखको श्रव परीक्षण गरेको छ । यस वर्ष १० हजार महिलाको परीक्षण गर्ने अस्पतालको लक्ष्य रहेको छ । यससँगै ४० स्वास्थ्यकर्मीलाई तालीम दिइसकेको सिवाकोटीले जनाउनुभयो ।

पाठेघरको क्यान्सर सामान्य अवस्थामा शरीरमा कोषहरू बन्ने र निश्चित समयपछि आफैँ नष्ट भइरहेको हुन्छ । कुनै कारण यो प्रक्रिया रोकियो भने अनियन्त्रित रूपमा कोष विभाजन भएर ट्युमर (क्यान्सर)हुन्छ । ट्युमरमा रक्त प्रभाव नहुने भएकाले अङ्ग विशेषले निश्चित आकार ग्रहण गर्न नसक्ने, कुहिने, वरिपरिको भागमा ट्युमर फैलिने र बाह्य सतह छेडिने चिकित्सक बताउँछन् । विवाहित यौन जीवनसँग आवद्ध महिलामा पाठेघरको मुखको क्यान्सर हुनसक्छ ।

महिला क्यान्सर रोग विशेषज्ञसमेत रहनुभएका विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य समयमा परीक्षण गर्न सकेमा यो रोगबाट बचाउन सकिने बताउनुहुन्छ । महिलामा सबैभन्दा बढी स्तन र त्यसपछि पाठेघरको मुखमा क्यान्सर हुने आचार्यले जनाउनुभयो ।

नेपालमा वर्षेनी कति महिलालाई पाठेघरको मुखमा क्यान्सर हुन्छ र कतिको मृत्यु हुन्छ भन्ने यकिन तथ्याङ्क छैन । साधारणतया यो रोग ४० वर्षपछि देखा पर्ने भए पनि नेपाललगायतका अविकसित देशमा ३० वर्षभन्दा कम उमेरका महिलामा समेत यो रोग देखिने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here