पार्टी विभाजन गर्ने विवेकशीलवाला नेताहरूमा हार्दिक सलाम !

281

-चन्द्रप्रकाश बानियाँ

डा. केसीको सौह्रौं अनशन जारी छ । गङ्गामायाहरूको जस्तो निजी लाभहानीको लागि गरिएको अनशन केसीको होइन । उनी जनताका लागि लडिरहेका छन् । पटक पटकको एकल आन्दोलनबाट जनता कति बलियो हुन्छ भन्ने उदाहरण उनले देखाएका छन् । सरकार नेकाको होस् कि कम्युनिष्टको, उनको मागमा निरन्तरता छ । उनको सत्याग्रहको अर्जुनदृष्टिमा जनहित छ । डा. केसी र सरकारबीच चलेको यो लुकामारीले जुनसुकै पार्टीको सरकार भएपनि उसको चरीत्र एउटै हुन्छ भन्ने कुरा भने प्रमाणित गरिदिएको छ । पार्टी जुनसुकै रङको किन नहोस् सत्तामा पुगेपछि उसले राज्यको चरीत्र बदल्ने होइन, आफूलाई राज्यको चरीत्र अनुसार रूपान्तरण गर्दो रहेछ । डा. केसीका माग फेरिएका छैनन् । फेरिने सरकारहरू नै हुन । जुन सरकार आए पनि रवैयामा परिवर्तन भएको देखिएन । सबै नीजि शिक्षण कलेजहरूलाई १० वर्षमा गैरनाफामुलक बनाउनुपर्ने, उपत्यका बाहिर दुरदुर्गमका गरीब जनताको पहुँच चिकित्सा शिक्षामा पुग्नेगरी सरकारले शिक्षण कलेजहरू खोल्नुपर्ने, त्यसका लागि राजधानीमा आगामी १० वषर््ासम्म निजी शिक्षण कलेजलाई सम्बन्धन दिन नहुने डा. केसीका मुख्य मागहरू हुन् । यसपटक संयोगले नामको मात्र भए पनि कम्युनिष्ट पार्टीको एकल बहुमतको बलियो सरकार बनेको छ । नयाँ सरकारले त्यस्तो जनपक्षीय कार्यक्रम ल्याउने छ जसले डा. केसीलाई नै अप्रसांगिक बनाइदिने छ भन्ने आम सर्वसाधारणलाई लागेको थियो । कमसेकम त्यही माग राखेर डा. केसीहरूले फेरि सत्याग्रह गर्नुपर्ने छैन भन्ने मान्यता बनाइएको थियो । हिजोका सरकारहरू जनपक्षीय हुन नसकेका हुनाले डा. केसीले बारम्बार अनशन गर्नुपरेको हो भन्ने बुझाई जनताको थियो । जनपक्षीय सरकारका लागि डा. केसीका माग अस्वीकार्य हुनुपर्ने कारण छ भनेर कल्पना पनि गरिएको थिएन । तर परिणामले जनताको त्यो मान्यता खण्डित गरिदियो । नेकाको होस् वा राजाको अथवा कम्युष्टिको नै किन नहोस् सरकार भनेको सरकारै हो, त्यो जनपक्षीय किमार्थ हुन सक्दो रहेनछ ।

उसो त एमालेलाई जनताले परीक्षण गर्न बाँकी थियोजस्तो लाग्दैन । २०५१ यता अधिकांश समय एमाले सत्तामै थियो । पटक पटक सरकारको नेतृत्व गर्ने अवसर पनि पाएको थियो । सत्तामा पुगेपछि उसले फरक चरीत्र देखाउन सकेको थिएन । सरकारमा एमालेको साझेदारीबाट भूई तहका जनतालाई कुनै लाभ मिलेको थिएन । तैपनि कम्युनिष्ट पार्टीको एकल बहुमतको सरकार नभएको हुनाले जनताको पक्षमा भने चाहे जसरी कामगर्न नसकेको हो भन्ने गरिन्थ्यो । आम नागरिकले त्यो संकथनलाई पत्याएको पनि थियो । मनमोहन अधकारी नेतृत्वमा गठित अल्पमतको सरकारले अल्प समयमा देखाएको जनपक्षधरजस्तो लाग्ने १÷२ वटा लोकप्रिय कार्यक्रमहरूले कम्युनिष्टिहरूले मनफुकाएर काम गर्न पाउँदा सत्ताको चरीत्र फेरिदो रहेछ भन्ने सन्देश दिएको थियो । आशा गर्ने ठाउँ बनेको थियो । त्यसमाथि निख्खर कम्युनिष्ट भनेर चिनिएको तत्कालीन माओवादीको एउटा ठूलो हिस्सा एमालेमा मिसिएको हुनाले सत्ताको चरीत्रमा क्रान्तिकारी रूपान्तरण हुने आशा गरिएको थियो । वास्तवमा प्रचण्ड नेतृत्वको माओवादी एमालेमा मिसिनु गडगडाउँदो खहरे ठूलो नदीमा मिसिएर आफ्नो अस्तित्व गुमाएजस्तै भयो । दुई पार्टीको एकीकरणबाट नयाँ बनेको नेकपालाई माओवादीजस्तो होइन, एमालेजस्तो बनाइदियो । र २०५१ को लेखा नयाँ पार्टी कति हो कति प्रतिगामी कित्तातिर पो भासियो ।

मोहन वैद्य र नेत्रविक्रम चन्दहरूले विद्रोह नगरेका भए प्रचण्ड माओवादी अस्तित्वको संकटमा पर्ने थिएन । उनीहरू पार्टीमा टिकी रहेका भए प्रचण्ड माओवादी शैद्धान्तिक विचलनको भासमा जाकिने थिएन । बरु डा. भट्टराईको विद्रोहले उती खति पु¥याउँदैनथ्यो होला । किनकि समृद्धि नामको मुर्कट्टा दर्शन अघि सारेर राजनीतिक मैदानमा घस्रँदै गरेका भट्टराईबाट क्रान्तिकारीहरूलाई कुनै नोक्सान पुग्दैनथ्योे । वैद्यचन्दहरूको विद्रोहले प्रचण्डको पार्टीलाई निरीह बनाइदियो । कित जङ्गल फर्कनुपर्ने कि भने पुँजिवादी सत्ता समक्ष आत्मसमर्पण गर्नुको विकल्प बाँकी रहेन । पुजिंवादी राजनीतिमा क्रान्तिकारी चरीत्र जोगाउनु सजिलो विषय होइन रहेछ । प्रचण्डहरू पुनः जङ्गल फर्कनसक्ने सम्भावना क्षीण थियो । सत्ताको कित्तामा सामेल हुनुको अर्थ आत्मसमर्पण गर्नु नै थियो । आत्मसमर्पण रोज्नु प्रचण्डहरूको वाध्यता थियो, सायद । तर आम नेपालीहरूले भने एक चिम्टी चिनीले एक कप चियाको स्वाद परिवर्तन गरिदिएजस्तै प्रचण्डहरूले एमालेलाई बदल्ने छन् र माओवादी मिसिएको पार्टीको रङ र स्वाद पनि माओवादी अर्थात क्रान्तिकारी हुनेछ भने कल्पना गरेको थियो । त्यस्तो हुनु थिएन, भएन । वैद्य र चन्दलले पार्टी नफुटाइदिएका भए सत्ताकै निमित्त एमालेको शरणमा प्रचण्ड जानु पर्दैनथ्यो । अलग पार्टी बचेका भए त्यसको गुण चरीत्रमा स्खलन आउँदैनथ्यो होला भन्ने कल्पना यतिखेर नेपाली समाजले गर्न थालेको छ । र पार्टी टुक्रयाउने भूमिकाका कारण बनेका वैद्य र चन्दहरूलाई धारेहात लगाउन थालेको छ । मुख्य विगारा तिनै हुन भनेर सराप्न थालेको छ । नेताद्वयको लहडका कारणले जनताको आशामा तुषारोपात भएको मान्यता समाजले बनाएको छ ।

भर्खर भर्खर उज्ज्वल थापा नेतृत्वमा विवेकशील साझा नामको पार्टी विभाजन भएको छ । कसैको पनि घर टुट्नु भनेको सपना टुट्नु हो । मिलेर गर्न सकिने कुरा विभाजित भएर गर्न सकिदैन । नेका र नेकपा दुबै ठूला दलहरूबाट निराशाबाहेक मुलुकले केही प्राप्त गर्ने लक्षण देखिएन । स्वभावतः ती दुई पार्टीको असफलताले तेश्रो शक्तिको लागि मार्ग प्रशस्त गरिदिन्छ । थापाहरू विवेकशील साझाबाट अलग हुने होइन, त्यसमा बाबुरामहरू जेडियुन्, ससफो पनि सामेल होस् र मुलुकलाई भरपर्दो विकल्प दिउन् भन्ने कामना नेपालीहरूको थियो । नेताहरूको व्यक्तित्व, चिन्तन र व्यवहार उति आकर्षक नदेखिए पनि तेश्रो शक्ति एउटा अनिवार्य आन्दोलनको रूपमा विकसित हुनेछ भन्ने आशा मुुलुकले राखेको थियो । समय र आवश्यकताले नयाँ नेतृत्व जन्माउने हो । शक्ति सञ्चय गर्नुपूर्व पार्टी विभाजन हुँदा जनतामा एकखालको निराशा उन्त्पन्न भएको छ । तर एक अर्को अर्थमा विशेकशीलले गरेको निर्णय विवेकपूर्ण हो कि जस्तो पनि देखिँदो रहेछ । एकपटक शक्तिमा पुगेको र फेरि फेरि पनि पुग्ने सम्भावना प्रबल रहेको पार्टी तत्कालीन माओवादीबाट पनि मुलुकले ठूलो आशा राखेको थियो । पार्टी फुटेर लथालिङ्ग भएपछि जनताको आशा निराशामा परिणत भयो । अब त मुलुकमा केही हुन्छ कि भनेर आशा पलाएकोे बेलामा पार्टी छिन्नभिन्न भयो । त्यसले पार्टीलाई मात्र होइन, मुलुक र जनतालाई ठूलो धक्का लाग्यो । तेश्रो शक्तिको रूपमा उदियमान विवेकशील साझा पनि कुनै दिन साठीको दशकको माओवादीजस्तै चम्कन सक्दथ्यो । त्यतिखेर पार्टी फुटेको भए माओवादी विभाजित हुँदा जसरी नेपाली जनता मर्माहत भयो त्यसरी नै दोश्रो चोटखान विवश हुन्थ्योहोला । पटक पटक एउटै नियति दोहोरिँदा जनतामा ‘सबै जोगी कानै चिरेका’ भन्ने निराशाभाव सम्प्रेण हुन्थ्यो ।

त्यतिबेला फुटेर जनतालाई हतास, निराश बनाउनु भन्दा यतिखेरै फुटेको राम्रो । यो फुटले अति थोरै नागरिकहरूलाई चोट पु¥यायो, भविष्यमा सिंगो मुलुकले शोक मनाउनुपर्ने पनि हुन्थ्यो होला । बेलैमा बुद्धि पु¥याएर विवेकशीलवालाहरूले राम्रो गरेका छन् । जनताको आशा अपेक्षामा तुषारोपात हुने दुर्भाग्यबाट देशलाई जोगाइदिएका छन् । किनकि विकेशील साझा फुटोस् वा मासियोस् त्यसले यतिखेर नेपाली समाजलाई खास फरक पार्दैन । त्यसैले यो फुटाई विल्कुल सामयिक र विवेकसम्मत छ । कमसके कम फेरि अर्को एकपटक खिन्न हुनुपर्ने, आँसु चुहाउनुपर्ने र निराशा हुनुपर्ने नियतिबाट नेपाली समाज जोगिएको छ । विवेकशीलवालाहरू त्यस अर्थमा धन्यवादका पात्र छन् । तीनकोटी नेपालीको तर्फबाट एकमुष्ट हार्दिक सलाम !- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here