काठमाडौं / किर्तिपुर नगरपालिका वडा नं. ६, चारघरे स्थित श्री जालपादेवी मन्दिर प्रांगण निर्माणको क्रममा ९० बर्ष भन्दा पुरानो मुर्ति फेला परेको छ । पहिरोले गर्दा क्षती भएकाले प्रांगण निर्माण क्रममा शनिवार पुरातात्विक महत्वको १ थान प्राचिन ढुङगाको मुर्ति फेला परेको थियो ।
स्थानीय बासिन्दा प्रविण बस्नेतले मन्दिर प्रांगणको जमिनभन्दा करिब ४ फिट गहिराईमा विष्णुको २० इन्च लम्बाई र २२ इन्च चौडाई भएकोले मुर्ति फेला परेको बताउनुभयो । २०११ सालमा पहिरोमा परी मन्दिर भग्नावशेषमा परिणत भएपछि पछि नयाँ मन्दिर स्थापना गरीएको थियो । किर्तिपुर नगरपालिकाको एउटा प्रमुख धार्मिक स्थलको रुपमा सुपरिचित थियो । झण्डै ५ रोपनी क्षेत्रफलमा रहेको सार्वजनिक जमिनमा अवस्थित मन्दिरको लम्बाई १५ फिट र चौडाई १४ फिट ३ इन्च रहेको छ । मन्दिरको पश्चिमको भागमा ८ फिट, पूर्व, उत्तर र दक्षिण भागमा ३ फिट ६ इन्च उचाईको पर्खाल लगाइएको छ भने तीन तर्फ पर्खाल माथि फलामको ग्रील राखिएको छ । यो मन्दिरको चारै कुनाबाट पोल राखी बीच भागमा चदुवा राख्ने तथा मन्दिरको चारैतिर वरीपरी झल्लर राख्ने गरिएको छ । मन्दिरको भित्ताहरु ढुंगा तथा माटोले बनेको भएपनि भित्ताहरु विभिन्न समयमा दाताहरुले आई सिमेन्ट तथा सेतो टायलले ढाकिएको छ ।
लिच्छविकालिन देवी देवताको मुर्ति भएको यस मन्दिरमा स्थानीय जेष्ठ नागरिकहरुको कथन अनुसार ‘राजा नरेन्द्र देव मल्लका पालामा यो मन्दिरको जिर्णोद्धार गरेको बताउनु भयो । हालै मन्दिर करीव २० मिटर मुनी रहेको र वि.सं. २०३४ को वर्षा याममा गएको पहिरोले मन्दिर पुरै ध्वस्त भएको थियो र स्थानीयको पहलमा नै मन्दिर माथि सारिएको बताउनु भयो । मन्दिरमा हरेक दिन श्रद्धालु भक्तजन दर्शन गर्न आउने गरेपनि वडा दशैको नौरथा भरी तथा पौष शुक्ल पुर्णिमा देखि माघ शुक्ल पुर्णिमासम्म ठूलो मेला लाग्ने गर्दछ । गत २०७२ वैशाख १२ गते आएको महाभूकम्प पछि मन्दिरको मुख्य भाग भाँसिएको र पर्खालहरु चर्किएको भएतापनि अहिले सम्म कुनै जिर्णोद्धारको कार्य भएको छैन । यद्धपी बृहत चारघरे धार्मिक समितिले यसको जिर्णोद्धारको प्रयास जारी राखेको छ ।




















