काठमाडौ, चिकित्सा विधेयकमा संशोधनको माग राखी विगत १० दिनदेखि इलाममा आमरण अनशन शुरु गरेका प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई शुक्रबार बिहान काठमाडौँ ल्याइएको छ ।
डा. केसीलाई इलाम अस्पतालबाट राति २ बजेतिर भेन्टिलेटरसहितको एम्बुलेन्समा राखेर झापाको चन्द्रगढी विमानस्थल ल्याइएको र तत्कालै नेपाली सेनाको एमआई १७ नाइटभिजन हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
डा. केसीको माग विरुद्ध इलाममै विगत आठ दिनअघि आमरण अनशन शुरु गरेका विद्यार्थी विजय थापाको स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि उनलाई पनि आजै काठमाडौ ल्याउने तयारी भएको छ । गए राति केसीेसँगै अर्को एम्बुलेन्समा राखेर थापालाई पनि काठमाडौँ ल्याउन झापा ल्याइएकामा चन्द्रगढी विमानस्थल ल्याएपछि केसीको स्वास्थ्य अवस्था झन जटिल बन्दै गएकाले तत्कालै उनलाई सेनाको हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको थियो ।
केसीको स्वास्थ्य अवस्थाका कारण थापालाई पनि एउटै हेलिकोप्टरमार्फत काठमाडौँ ल्याउने प्रयास सफल हुन सकेन् । । थापालाई भद्रपुरस्थित मेची अञ्चल अस्पतालमा चिकित्सकको रेखदेखमा राखिएको छ । उनलाई पनि हेलिकोप्टरबाट काठमाडौ ल्याउने तयारी भइरहेको छ ।


















