काठमाडौं / तीनदेखि शिक्षण अस्पतालमा उपचाररत डा. गोविन्द केसीले आफूलाई आइसियू बाहिर सारिदिन अनुरोध गरेका छन् ।
आफूले ‘बेड अकुपाई’ गर्दा आइसियू जरुरी भएका सर्वसाधारण बिरामी मर्कामा पर्ने भन्दै उनले आफ्नो उपचारमा संलग्न मेडिकल टिमलाई यस्तो अनुरोध गरेका हुन् ।
डा.केसीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले त्यहीँ उपचाररत रहन आफूहरुले गरिरहेको आग्रह अस्वीकार गर्दै आइसियूबाट निस्किने चाहना व्यक्त गरेका डा.सुवास आचार्यले जनाए । शिक्षण अस्पतालको आइसियू इन्चार्जसमेत रहेका क्रिटिकल केयर स्पेसलिस्ट डा. आचार्यले भने, ‘उहाँले आइसियू बाहिर सार्न अनुरोध गर्नुभएको छ ।’
डा.केसीको चाहनाका विषयमा उनको उपचारमा संलग्न मेडिकल टिमले आवश्यक जाँच र सल्लाह गरिरहेको उनले जनाए । बाहिर संक्रमण हुन नसक्ने खालको ठाउँमा आवश्यक उपकरणको व्यवस्था गरेर मात्रै उनलाई सार्न सकिने डा आचार्य बताउँछन् । त्यस्तो स्थानको पहिचान गरेर आवश्यक तयारी गरिएपछि दिउँसोसम्म सार्न सकिने डा आचार्यले जनाए । ‘म चिकित्सा शिक्षा सुधार होस् भनेर ज्यान नै दाउमा राखेर भोकहड्ताल गरिरहेको छु । त्यसैले मलाई आइसियूमै राख्नुपर्दैन। आइसियू बेडको अभावमा सर्वसाधारणलाई समस्या नपरोस्,’ उनको भनाईलाई उद्धृत गर्दै डा.आचार्यले भने ।
अनसनरत डा.केसीको स्वास्थ्य निरन्तर खस्किँदो छ । उनलाई छातीको संक्रमण नियन्त्रणका लागि एन्टिबायोटिक चलाइएको छ । डा।केसीलाई छाती दुख्ने, रिंगटा चल्ने, मांसपेशीको दुखाइ र कमजोरी महसुस भइरहेको छ । उनको रक्तचाप पनि न्यून रहेको छ भने अक्सिजन पनि कम हुँदै गएपछि थप अक्सिजन दिइएको छ ।
उनलाई चिकित्सकको निरन्तर निगरानीमा राखिएको छ । जुनसुकै बेला उनको स्वास्थ्य अवस्था जटिल हुन सक्नेतर्फ उपचारमा संलग्न चिकित्सकले सचेत गराइरहेका छन् ।


















