सरकार र बुद्धिजीवीहरूमा एनजीओकरणको दुस्प्रभाव

157

– हुकुमबहादुर सिंह

अहिलेको ओली–दाहाल सरकार पूर्ण रूपमा कम्युनिस्ट सारमा दलाल पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सरकार हो । दलाल पुँजीपतिवर्ग भनेको जसले कुनै पनि उपयोगी वस्तु उत्पादन गर्दैन, तर दाता राष्ट्रहरूका लागि उपयोगी सेवा प्रदान गराउँछ । निजी लाभका लागि आफ्नो देशको गरिबीको लिलाम गर्दछ । यस्तै सेवा अहिले ओली–दाहाल सरकारले गर्दैछ ।

अहिलेको विश्वमा दलाल पुँजीपतिवर्गको प्रतिनिधित्व गर्नेहरू विभिन्न एनजीओ तथा आइएनजीओहरूको नाममा पनि आउने गर्दछन् । हिजोका क्रान्तिकारी बुद्धिजीवीहरू अहिले अनगिन्ती संख्यामा यसमा संलग्न छन् । सन् १९८० को दशकको सुरूमा एनजीओका बारेमा क्रान्तिकारी बुद्धिजीवीहरूमा जो तीखो प्रतिक्रिया थियो, त्यो अहिले धेरै मात्रामा टुटिसकेको छ । जनकार्यहरूमा उनीहरू बोल्सेभिक तौरतरिकाबाट विचलित भएर एनजीओलाई आवरण तथा मञ्चका रूपमा प्रयोग गर्ने तर्क दिंदै स्वयम् एनजीओ मेशिनरीका कलपूर्जा बन्न गइरहेका छन् । जहाँसम्म एनजीओलाई कुनै पनि रूपमा प्रयोग गर्ने तर्क छ, त्यसबारे यति भन्नुनै काफी हुन्छ, धेरैजसो शक्तिशालीहरू नै कम शक्तिशालीलाई प्रयोग गर्छन् । कम शक्तिशाली पनि आफूभन्दा बढी शक्तिशालीको प्रयोग गर्न सक्छ, तर त्यसबेला मात्रै जुनबेला उसको वर्गचरित्र, कार्यप्रणाली र आन्तरिक अन्तरविरोधहरूलाई राम्रो तरिकाले सम्झन र हल गर्न सक्छ ।

अर्कोपक्ष के हो भने एनजीओलाई आवरण तथा मञ्चका रूपमा प्रयोग गर्नेको विरोध त गर्ने तर जनआन्दोलन तथा अन्य केहीका नाममा एनजीओसँग बिनासर्त सहभागी बन्नेहरूको पनि कमी छैन । उनीहरू एनजीओका विभिन्न गोष्ठी, अन्तरक्रिया तथा सेमिनारहरूमा भाग लिने गर्दछन् र तिनमा सहभागी भएर एनजीओसँगका मतभेदका बारेमा चुँ पनि नबोल्ने गरेको पाइन्छ ।

विश्व इतिहासमा र नेपालकै पनि इतिहासमा के स्पष्ट छ भने जुन ठाउँमा वर्गसंघर्ष तीब्र हुन्छ तथा लामो समयसम्म जारी रहन्छ, त्यहाँ एनजीओको भूमिका नाङ्गो भइसकेको हुन्छ । यिनका सबै आवरणहरू उत्रिन्छन् । र यी साम्राज्यवादका एजेन्टका रूपमा खुला भएर सामुन्ने आउँछन् । तर जब वर्गसंघर्ष हराउँदै जान्छ, एनजीओका लागि उत्तम समयको जन्म हुन्छ । कार्लमाक्र्स–फ्रेडरिक एंगेल्सको समयमा विश्व साम्राज्यवादको जालो यसरी अहिलेझै फैलिएको थिएन । त्यसकारण उहाँहरूले लेखेका लेख रचनाहरूमा बुर्जुवावर्ग र बुर्जुवा समाज भन्ने पाइन्छ । यही बुर्जुवावर्ग र बुर्जुवा समाजको विकसित रूप ‘साम्राज्यवाद’का विविध आयामहरूको व्याख्या र विश्लेषण लेनिनले गर्नुभएको छ । दोस्रो विश्वयुद्धसँगै र त्यसपछि माक्र्सका पालाको बुर्जुवावर्गमा रहेको राष्ट्रवादी चरित्र क्रमशः हराउँदै त्यसमा दलाल प्रवृति र चरित्रको विकास हुँदै गयो । त्यसकारण त विश्वको पुँजीवादी क्रान्तिको नेतृत्व पनि कम्युनिष्ट क्रान्तिकारीहरूले गर्नुपर्ने आवश्यकता र बाध्यता पर्दै गयो । यसैलाई क.माओले नयाँ जनवादी क्रान्तिको आवश्यकता औल्याउनु मात्रै भएन स्वयम् उहाँको नेतृत्वमा चीनमा नयाँजनवादी क्रान्ति जो एउटा पुँजीवादी क्रान्ति हो, सम्पन्न गर्नुभयो । उहाँको नेतृत्वमा चीनमा नयाँ जनवादी क्रान्ति त सम्पन्न भयो तर यो सफलतापूर्वक समाजवादी क्रान्तिको मार्गतर्फ अगाडि बढ्छ कि त्यही क्रममा प्रतिक्रान्ति भएर पुनः पुँजीपतिवर्गले आफ्नो सत्ता हातमा लिन्छ भन्नेबारे उहाँले वारम्वार त्यहाँका क्रान्तिकारीहरूलाई अझै हाम्रो जित सुनिश्चित छैन ।

अझै पनि प्रतिक्रान्तिद्वारा पुँजीपतिवर्गले आफ्नो सत्ता हातमा लिन सक्छ भनेर निरन्तर क्रान्तिको पक्षमा वकालत गर्नुभएको थियो । यही ‘साम्राज्यवाद’ले अहिले एकाधिकार दलाल पुँजीवादको चरित्र धारण गरेको छ । दलाल नोकरशाही चरित्रको रूपमा सरकारी तथा गैरसरकारी शासनतन्त्रमा यसले जरा गाडेको छ । बुर्जुवावर्ग र बुर्जुवा समाजले सर्वहारा वर्गमाथि शासन गरेको छ । यस्तो शासनका अनेकौ रूप र रंग हुन्छन् र त्यसका आवरणहरू एनजीओ तथा आइएनजीओमार्फत पनि बाहिर देखिन्छन् र नेपालमा त यस्तो अवस्था आइसकेको छ, कम्युनिस्टहरू र त्यसको नामधारी सरकार स्वयम् एनजिओकरणको मार्गतर्फ लम्किरहेको छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here