टीकापुर / आफ्नै श्रीमतीको हत्या गरी कैलालीको जानकी गाउँपालिका-७ गोलौरीका एक व्यक्तिले आत्महत्या गरेका छन् ।
आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षीय प्रेमलाल चौधरीले ३२ वर्षीया श्रीमती रमा चौधरीको हत्या गरी आत्महत्या गरेका हुन्।मृतक दम्पत्तीका दुई छोरा छन्। एक नाबालक छोरा घरमै र अर्का छोरा गाउँमा रहेको जनाइएको छ।
इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उनले श्रीमतीको टाउकोमा दुई पटक बञ्चरो प्रहार गरेका थिए। प्रेमलालले श्रीमतीको हत्या गरेर आफू घरको बार्दलीमा झुण्डिएको अवस्थामा स्थानीयले फेला पारेको जनाए ।
घरको बार्दलीमा झुण्डिएर छट्पटाई रहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेर डोरी काटेर बचाउने प्रयासमा अस्पतालमा लगेको हो । चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।


















