काठमाडाैं आज जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच माननीय उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले महाशिवरात्री तथा सेना दिवस-२०७६ को अवसरमा नेपाली सेनाले प्रथम पटक प्रकाशित गरेको Unity Journal Volume-I को विमोचन गर्नु भएको छ ।
विमोचन कार्यक्रममा सम्बोधन गर्नुहुँदै रक्षा मन्त्री पोखरेलले नेपाली सेनाद्वारा संवैधानिक जिम्मेवारीहरु वहन गर्ने क्रममा राष्ट्रिय सुरक्षा र एकताका विषयहरुमा आम नागरिक र विषय विज्ञहरुबाट अनुसन्धानात्मक लेख रचनाहरुको संगालो ‘युनिटी जर्नल’ प्रकाशन गर्ने पहल गरेकोमा नेपाल सरकार र उहाँको व्यक्तिगत तर्फबाट हार्दिक आभार व्यक्त गर्नु भएको थियो । उहाँले राष्ट्रिय एकताका सम्भावित चुनौतिहरु पहिचान गरी समयमै राष्ट्रिय हित र स्वार्थहरुको सुरक्षाका लागि उपयुक्त रणनीति तयार गर्न अनुसन्धान र प्रकाशनहरुको महत्वपूर्ण भूमिका रहेको बताउनु हुँदै राष्ट्रिय सुरक्षालाई सम्बर्द्धन र विश्वसनीय बनाउने उद्देश्यका साथ प्रकाशन गरिएको ‘युनिटी जर्नल’ बौद्धिक वर्ग र सेनाभित्रको जनशक्तिको एकिकृत र रचनात्मक प्रयासको रुपमा लिएको जनाउनु भएको थियो ।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कार्यक्रममा मन्तव्य राख्नुहुँदै राष्ट्रिय एकताको महत्व स्थापित गर्न ‘युनिटी जर्नल’ कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नु भएको थियो । उहाँले उक्त जर्नल रणनैतिक र सामरिक विषयमा चासो राख्ने सर्वसाधारणदेखि विद्यार्थी तथा विज्ञ पाठकहरुलाई समेत उपयोगी हुने विश्वास व्यक्त गर्नु भएको थियो । साथै उहाँले जर्नलमा प्रकाशित अनुसन्धानमूलक लेख रचनाहरुले राष्ट्रिय महत्वका विषयमा साझा धारणा निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने समेत जनाउनु भएको थियो ।
बौद्धिक व्यक्तित्वहरुबाट प्राप्त ९७ वटा लेख रचनाहरु मध्ये ३२ वटा लेख रचनाहरु समावेश गरी प्रकाशित भएको उक्त जर्नलमा बिहारी कृष्ण श्रेष्ठ, पशुपति नेपाल र गेजा शर्मा वाग्ले क्रमशः प्रथम, द्धितिय र तृतिय हुन सफल हुनुभएको थियो । उहाँहरुलाई माननीय उपप्रधान तथा रक्षा मन्त्री पोखरेलले क्रमशः रु.दुई लाख, रु.एक लाख र रु.पचास हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भएको थियो । साथै उक्त विमोचन कार्यक्रममा अन्य २९ वटा लेख तथा रचनाकारहरुलाई प्रधानसेनापति महारथी थापाले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।
कार्यक्रममा राष्ट्रपतिका सुरक्षा सल्लाहकार, विभिन्न विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाहरुका कुलपति एवं उपकुलपतिहरु, विश्वविद्यालयका रजिष्ट्रार, डिन, प्राध्यापक वर्ग, प्रिन्सिपल तथा कमाण्डाण्टहरु, रक्षा सचिव, नेपाली सेनाका भूतपूर्व प्रधानसेनापतिहरु, बलाधिकृत तथा बलाध्यक्ष रथीहरु, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत, रथीवृन्द तथा अधिकृतहरु, इतिहास तथा संस्कृति विदहरु, युनिटी जर्नलको सम्पादक मण्डल, नेपाल प्रहरीका उच्चपदस्थ अधिकृतहरु, लेख रचना उपलब्ध गराउने लेखकहरु, तथा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
नेपाली सेनाद्वारा पहिलो पटक आयोजना गरिएको खुला सामरिक लेख रचना प्रतियोगिताबाट राष्ट्रका बौद्धिक तथा शिक्षित वर्गहरुलाई राष्ट्रिय सुरक्षाका विभिन्न आयामहरुमा खोज र अध्ययन गर्ने बानीको विकास भई भविष्यमा राष्ट्रिय सुरक्षा विषयमा जानकार व्यक्तित्वहरुको संख्यामा बृद्भि हुँदै जाने, निकट भविष्यमा स्थापना हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (National Defence University) लाई कार्यान्वयनमा लैजान र बौद्धिक व्यक्तिहरुका उत्कृष्ट लेखहरुको निरन्तर अध्ययनबाट आम नागरिक तथा नेपाली सेनाका सकलदर्जालाई अध्ययनमा थप टेवा पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




















