काठमाडौं – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोलाई पत्र लेख्दै ७० करोड घुस मागेको विवादमा सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्रलाई कारबाही गर्न निर्देशन दिएको छ ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटासँग कमिसन डिल गरेका मिश्रलाई कारवाही गर्न बिहिबार समितिले साइबर क्राइम ब्यूरोलाई निर्देशन गरेको हो ।
लेखा समितिका एक सदस्यले मिश्रबाट समितिका सदस्यहरुको चरित्र हत्या गर्ने काम भएको भन्दै कारबाहीको लागि सिफारिस गरेको जानकारी दिए ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्ट विजयप्रकाश मिश्रसँग ७० करोड घुस मागेको विवादमा फसेपछि बाँस्कोटाले आजै राजीनामा दिएका छन् । बिहिबार बिहान स्वीस एजेन्टसँग बाँस्कोटाले गरेको कमिसनबारेको कुराकानीको अडियो सार्वजनिक भएको थियो ।


















