एजेन्सी/स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले लेगानेसलाई ३–१ गेलले हराएको छ । यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडसँगको दूरी पाँच अंकले बढाएको छ ।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाका लागि ओउसमाने डेम्बेलेले ३२ औं मिनेटमा पहिलो गोल गरेका थिए । लुईस स्वारेजले ७१ औं मिनेटमा र कप्तान लियोनल मेस्सीले ९० औं मिनेटमा गोल थप्दै बार्सिलोनाको जित सहज बनाएका थिए ।
लेगानेविरुद्ध मेस्सी दोस्रो हाफमा मात्र मैदान छिरेका थिए । ६४ औं मिनेटमा परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका मेस्सीले एक गोल गर्न सफल भएको थियो। खेलको ५७ औं मिनेटमा लेगानेसका मार्टिन ब्रेथवेटले एक गोल फर्काए ।
जितसँगै लिगमा २० खेलेको बार्सिलोनाले ४६ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ४१ अंक छ । लेगानेस २२ अंकसहित चौधौं स्थानमा छ । यसैगरी आइतबार राति नै भएको अन्य खेलमा लिभान्तेले रियल भालाडोलिडलाई २–० र रियल बेटिसले गिरोनालाई ३–२ गोलले हराउन सफल भयो । रायो भालेकानो र रियल सोसिएडाडले २–२ तथा भिल्लारियल र एट्लेटिक बिल्बाओले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।


















