काठमाडौं / एकीकृत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पदीय भागबण्डाबारे विवाद उठ्न थालेको छ ।
नेकपाको एकीकरण कार्यदल एकीकरणसम्बन्धी बाँकी काम टुंग्याउन फेरि सक्रिय भएको छ । गत २४ पुसमा स्थगित बैठक बाँकी काम टुंगो नलागेसम्म लगातार बस्ने गरी सोमबारबाट सुरु भएको हो ।
मंगलबारबाट स्थायी समितिको कार्यादेशअनुसार करणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनसम्बन्धी सबै विषय टुंगो लगाउँदै जाने दिशामा छलफल केन्द्रित गर्ने सहमति भएको नेताहरूले जनाएका छन् ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओली स्विट्जरल्यान्डको डाभोसमा आयोजित विश्व आर्थिक सम्मेलनबाट १२ माघमा फर्किएलगत्तै प्रतिवेदन बुझाउने गरी लगातार छलफल गर्ने कार्यदलको तयारी छ ।
‘स्थगित भएपछि बैठक सुचारु भएको छ, तर सोमबारको बैठकमा संक्षिप्त मात्र छलफल भएको छ,’ कार्यदल सदस्य लेखराज भट्टले भने, ‘मंगलबारबाट विषयमै केन्द्रित भएर लामो छलफल गर्दै जाने सहमति भएको छ ।’ आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
गत १२ पुसमा सम्पन्न स्थायी समिति बैठकले संगठनात्मक एकीकरणको बाँकी काम र केन्द्रीय सदस्यहरूको कार्यविभाजनको गृहकार्यका लागि नौ सदस्यीय कार्यदल बनाएको थियो । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले पुस मसान्तभित्रै काम सकेर सुझाबसहितको प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिए पनि नेताहरूबीचको मतान्तर र व्यस्तताले समयसीमाभित्र काम सम्पन्न हुन सकेको थिएन । तर, अब भने सबै विषयमा सहमति हुन नसके विकल्पसहितका सुझाब दिने गरी छलफल केन्द्रित हुने कार्यदलका नेताहरूको भनाइ छ ।
विधान परिमार्जनमा सहमति भए पनि कार्यदल सदस्यहरूबीच प्रदेश संगठन कमिटीको नामावली हेरफेरका विषयमा विवाद भएको थियो । जिल्ला र जनसंगठनको एकीकरण तथा केन्द्रीय सदस्यहरूको कार्यविभाजनमा मापदण्ड बनाउने गरी कार्यदलले छलफल गर्न बाँकी छ ।
कार्यदलमा नेताहरू रामबहादुर थापा बादल, विष्णुप्रसाद पौडेल, योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, लेखराज भट्ट, वर्षमान पुन र रघुवीर महासेठ सदस्य छन् । यसबीचमा कार्यदलमा ६ पटक छलफल भइसकेपनि नेताहरूको व्यस्तताले गत २४ पुसयता बैठक बसेको थिएन ।


















