श्रम गर्ने महिलालाई साढे २ प्रतिशत व्याजमा १५ लाखसम्म ऋण, कसरी लिने यस्तो ऋण ?कस्ता–कस्ता कामका लागि पाइन्छ ऋण ? 

438

कसरी लिने यस्तो ऋण ?
यस्तो ऋण लिन सबभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर लिनुपर्छ।

त्यसपछि कम आधार व्याजदर भएको बैंक छानेर नजिकको शाखामा गई आवेदन दिन सकिन्छ। महिला उद्यमशील कर्जा मागको आवेदन बैंकले उपलब्ध गराउँछ।

आवेदनका साथै आफूले गर्ने व्यवसायको सम्पूर्ण विवरण बैंकले उपलब्ध गराएको परियोजनाको ढाँचामा भर्नुपर्छ। आफू र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ।

बैंकको शाखाले ऋण दिन नमानेमा वा प्रक्रियाबारे बुझाउन नचाहेमा उजुरीसमेत गर्न सकिने व्यवस्था छ। राष्ट्र बैंकको क्षेत्रीय कार्यालय वा प्रमुख कार्यालयको फोन नम्बर ०१– ४४११४०७ मा फोन गरी वा इमेल [email protected]  मा उजुरी गर्न सकिन्छ।

कस्ता–कस्ता कामका लागि पाइन्छ ऋण ? 

सिलाईबुनाई, पेन्टिङसम्बन्धी काम, राडीपाखी, ऊनी तथा गलैंचा बनाउने उद्योग खोल्न यस्तो ऋण पाइन्छ। हस्तकला व्यवसाय गर्न, सुनचाँदी, तामा, पित्तलसम्बन्धीका कामका लागि पनि ऋण पाइन्छ।

त्यस्तै, सेरामिक्स, पुतली तथा खेलौनासम्बन्धी व्यवसाय, धुपबत्ती बनाउने, चित्रकला तथा कागजका काम गर्न चाहनेले पनि यो ऋण लिन सक्छन्। चिया तथा खाजा पसल सञ्चालन गर्न, टेम्पो वा ट्याक्सीका लागि, ठेलागाडा, स्टेसनरी तथा साइबर सञ्चालन गर्न ऋण पाइन्छ।

यीबाहेक सबै कृषि कामका लागि महिलाहरूले यस्तो ऋण लिन सक्छन्। खाद्यान्न तथा अन्नबाली उत्पादनका लागि पनि ऋण सुविधा छ। चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसारजस्ता नगदेबाली गर्नेले ऋण लिन पाउँछन्।

लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेडा, खुर्सानी, पिँडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि पनि ऋण पाइन्छ।

आँप, सुन्तला, स्याउ, अनार, अम्बा, कागती, केरा, लप्सी, लिची, मेवाजस्ता फलफूल खेतीका लागि ऋण लिन सकिन्छ।

यीबाहेक गाई, गोरु, भैंसी, बाख्रा, कुखुरा, मौरीपालनका लागि ऋण लिन सकिन्छ। मत्स्यपालन, बंगुरपालन, रेशमकिरा पालनका लागि पनि बैंकले सस्तो व्याजमा ऋण दिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here