पहिलो एक दिवसीय क्रिकेट खेलमा घरेलु टोली न्यूजील्यान्डमाथि भारतले सहज रुपमा हराउनु सफल भयो । आज भएको खेलमा भारतले न्यूजील्यान्डलाई आठ विकेटले पराजित गरेको हो । १५६ रनको सामायन चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ३४।५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । सुरुमा ५० ओभरमा १५८ रनको चुनौती पाएपनि भारतले जवाफी ब्याटिङ गर्दै गर्दा खराब मौसमका कारण खेल रोकिएको थियो । पछि एक ओभर घटाएपछि भारतले १५६ रनको लक्ष्य पाएका थियो ।
भारतको जितमा ओपनर शिखर धनवले उत्कृष्ट ब्याटिङ गरे । उनले अविजित ७५ रन बनाए । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४५ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्यूजील्यान्डले खराब प्रदर्शन गर्दै ३८ ओभरमा सबै विकेटको क्षतिमा १५७ रन मात्रै बनाएको थियो । न्यूजील्यान्डका लागि कप्तान केन विलियम्सनले ६४ रन बनाएपनि अन्य खेलाडीले राम्रो स्कोर बनाउन सकेनन् । बलिङतर्फ भारतका कुलदीप यादवले ४ विकेट लिदा मोहम्मद सामीले तीन विकेट लिन सफल भए । जितसँगै भारतले पाँच खेलको एक दिवसीय क्रिकेट सिरिजमा १-० को अग्रता बनाएको छ ।
















