बहिर्गमन योजनाको दोस्रो विकल्प, अधिकांश पूरानै योजनाको पुनरावृत्ति

196

लण्डन/बेलायती प्रधानमन्त्री टरिजा मेले दोस्रो ब्रेक्जिट योजनालाई गत सोमबार सार्बजनिक गर्नुभयो । विकल्पमा ल्याइएको भनिएको यो योजनामा पनि पहिलो योजनाभन्दा सारमा खासै भिन्नता भएको देखिँदैन । मे ले यूरोपेली यूनियन (इयू) बाट बेलायतको बहिर्गमनका लागि इयूसँग गरेको सम्झौताको विपक्षमा बेलायती संसदले मतदान गरेपछि ल्याएको दोस्रो योजना घुमाइफिराई पूरानै योजनामा भएका अधिकांश कुराहरूलाई पुनः प्रमाणिकरण गर्ने र संसदबाट स्वीकृत गराउने अभिप्रायबाट आएका बिषय भएको विपक्षी सांसदहरूको भनाइ छ । आयरल्याण्डको सीमा विषयमा पूरानो अडानबाट यूरोपेली संघ पछि नहट्ने भएपछि दोस्रो विकल्प पनि खासै परिवर्तित अवस्थामा आउन नसकेको हो ।

बे्रक्जिट बिषयमा मे को योजनामा विरोधीहरूबाट अविश्वास भएपछि बेलायती सांसदहरूले गत हप्ता बहिर्गमनबारे इयूसँग गरेको सम्झौतालाई अत्यधिक धेरै मतान्तरले विफल पारिदिए । यसबारे प्रधानमन्त्रीले पुनः वार्ता गर्न गरेको प्रस्ताव इयू नेताहरूबाट स्वीकार भएन । प्रतिपक्षी दल लेबर पार्टीका नेता जेरोमी कोर्बिनले अस्वीकृत सम्झौतासँगै प्रधानमन्त्री मेलाई नै व्यापक रूपमा अस्वीकार गरेको आरोप लगाए ।

यो वास्तवमै एक प्रकारले सन् १९९३ मा सार्वजनिक भएको बिल मुर्रेको ‘ग्राउनडहग डे’ जस्तो भएको छ जसमा मौसमविद्ले एकै दिनमा पटक पटकको असफलतालाई व्यहोर्नुपरेको नियतिलाई प्रस्तुत गरिएको छ ।
दोस्रो योजनामा प्रधानमन्त्रीले बहिर्गमनबारे आफ्नो योजनालाई महत्वका साथ वर्णन गरेकी छन् । मे ले ‘व्याकस्टप’ भनिने समय दिने नीतिबारे सांसदहरूको चासोलाई बुझेको बताइन् । उनले इयूसँगको ब्रेक्जिट सम्झौताका लागि अवलम्वन गरिएको सुरक्षा नीतिले इयू सदस्य आयरल्याण्ड तथा संयुक्त अधिराज्यको उत्तरी आयरल्याण्डमा भन्सार जाँच नगर्ने कुराको प्रत्याभूत गराएको छ ।

प्रधानमन्त्री मेले आफ्नो पहिलो प्रस्तावलाई संसदले विफल गराएपछि ‘हाउस अफ कमन्स’मा नयाँ विकल्पका सम्बन्धमा आफ्ना सहकर्मीहरूसँग थप कुरा गर्ने र आयरल्याण्ड र उत्तरी आयरल्याण्डबारे हाम्रो दायित्व के रहनेछ भन्ने बिषयमा निर्णय लिने बताउँदै उक्त कुरा संसदमा थप धेरै समर्थन जुटाउन सफल हुने विश्वास व्यक्त गरिन् । “छलफलबाट निस्केका निष्कर्षलाई इयूमा लगिनेछ,” उनले बताएकी थिइन् ।

तर इयूले बहिर्गमनबारे भएको सहमतिबाट फिर्ता नहुने सङ्कल्प ग¥यो । “सम्झौताबाट पछि हट्नु परेका दोहोराएर वा प्रष्टाएर उनले समयको बर्बादी मात्र गरेकी छन्” जर्मनेली राजनीतिज्ञ तथा यूरोपेली संसदमा समाजवादी समूहका उदो बुलम्यानले भने । तर मे सम्झौताको पक्षमा दृढसङ्कल्पका साथ लागेकी छन् । उनले ब्रेक्जिटबारे लिइने निर्णय सबै आफ्नो हातमा नभएको बताएकी छन् । जनवरी २९ अर्थात् ब्रेक्जिटभन्दा ठीक दुई महिना पहिले ‘हाउस अफ कमन्स’मा मतदान हुने यो दोस्रो योजना अनुमोदन हुने प्रधानमन्त्री मेको विश्वास छ ।

प्रधानमन्त्रीको योजनाप्रति समर्थन जनाउने वा नरम बहिर्गमनको पक्षमा रहेका सांसदहरू, जसले इयूसँग निकट आर्थिक सम्बन्ध राख्न चाहन्छन्, ले सम्झौताविहीन अवस्थामा इयूबाट बहिर्गमन हुनुभन्दा पूरानो प्रस्तावमा, जुन प्रधानमन्त्रीको इयूसँगको छलफलपछि सम्झौता भएको हो, केही सुधार गरेर अघि बढ्न सुझाब दिएका छन् । मेको बुझाईमा दोस्रो योजनाले ब्रेक्जिटपछि इयूको एकल बजार र संयुक्त भन्सारबाट अलग्गिने आफ्नो पूरानो अडानलाई केही नरम पारेको छ ।
लामो विवादपूर्ण बहसपछि इयू र बेलायतबीच बे्रक्जिट सम्झौतामा गत नोभेम्बरमा हस्ताक्षर भैसकेको छ तर यसलाई बेलायती संसदले वैधता नदिएसम्म सम्झौता कार्यान्वयन गर्न सकिँदैन ।

सहमतिलाई लिएर यूरापबारे विभाजित दुई समूहका केही सांसदहरूबीच सहकार्य हुँदा संसदबाट प्रधानमन्त्रीद्वारा प्रस्तावित बहिर्गमन प्रक्रिया विफल भएको हो । जनमतसङ्ग्रहमा ब्रेक्जिटको पक्षमा मतदान गर्ने पक्षधर सांसदले इयूसँग प्रधानमन्त्रीले केही महिनापहिले गरेको सम्झौता संयुक्त अधिराज्यलाई इयू समूह राष्ट्रको नियममा बाँध्नेहुँदा स्वतन्त्र व्यापार नीति निर्माणका लागि व्यवधान पु¥याउने बताएका छन् । त्यस्तै यूरोप पक्षधर अर्थात् बेलायत इयूबाट बहिर्गमन गर्नुहुन्न भन्ने पक्षधर समूह बेलायतले अहिले इयू सदस्यका रूपमा, जुन घर्षणविहिन आर्थिक सम्बन्धको उपभोग गरिरहेको छ, लाई इयू अधिनस्थ अवस्थामा पु¥याउने भनाइ राख्छ ।

मेले गत हप्ता संसदमा आफ्नो प्रस्ताव ४३२ का विरुद्ध २०२ मतले विफल भएपछि आगामी बाटो तय गर्दा सबै पक्षसँग सल्लाह गरेर अर्को विकल्पको प्रस्ताव गर्ने बताएकी थिइन् । तर यसलाई कोर्बिनले विपक्षीको मुद्दालाई कमजोर पार्ने एउटा रणनीतिका रूपमा आएको योजना बताएका छन् । अन्य प्रतिपक्षी नेताहरूले पनि प्रधानमन्त्रीले अरूको अवधारणालाई नसुनेको बताएका छन् ।

सोमबारको प्रस्तावमा मेले इयू पक्षधर सांसदको बे्रक्जिट समयलाई नै लम्ब्याउने वा बेलायत इयूबाट छुट्टिने वा नछुट्टिने सम्बन्धमा दोस्रो जनमतसंग्रह गर्नुपर्ने धारणालाई अस्वीकार गरेको पाइन्छ ।
विपक्षी दलको चासोबारे आएका प्रश्नमा उनले कानून निर्माता, ट्रेढ यूनियनका अधिकारी, व्यवसायिक समूहहरू र नागरिक समाजका विभिन्न समूहसँग बेलायत र इयूको भविष्यको सम्बन्धबारे सल्लाह गर्ने र ‘सम्भव हुनेसम्म बृहद् सहमति निर्माण गरेर अघि बढ्ने’ दृढता बताएकी छन् । सरकारले श्रमिकको अधिकार र सुरक्षा वातावरणलाई धमिलो नपार्ने पनि मेको नयाँ योजनामा समाबेश छ ।

प्रधानमन्त्री मेले सरकार ब्रेक्जिटपछि पनि बेलायतमा स्थायी रूपमा बस्न चाहने इयू नागरिकलाई लक्षित गरी ८४ अमेरिकी डलर बराबरको छुट दिने योजना पनि अघि सारेको बताएकी छन् । इयू संसदका ब्रेक्जिट परिचालन समूहका प्रमुख गे भर्होस्टाडले इयू समूह राष्ट्रका नागरिकलाई लक्षित गरी दिएको छुटबाट ३० लाख नागरिकलाई फाइदा पुग्ने भन्दै यसको स्वागत गरेका छन् । मेको तत्कालको लक्ष्य भनेको ब्रेक्जिट पक्षधर कन्जर्भेटिभ तथा आफ्नो दलकै उत्तरी आयरल्याण्डको सहयोगी डेमोक्रेटिक यूनियनिस्ट पार्टीको मन जित्ने रहेको छ । दुवै समूहले ‘वोर्डर ब्याकस्टप’ लाई नहटाएसम्म सम्झौताको समर्थन नगर्ने बताएका छन् ।

‘ब्याकस्टप’ले संयुक्त अधिराज्यलाई इयूसँग संयुक्त सीमाशुल्क उठाउने प्रस्ताव गरेको छ जसले आइरिस बोर्डरमा अनावश्यक जाँचको झमेलामा पार्नेछैन । तर यो स्थायी समाधान ननिस्कँदासम्मको उपायमात्र हो । तर ब्रेक्जिट पक्षधर सांसदहरूले भने इयू व्यापार नियमको पालना गर्नुपर्दा यसबाट बेलायतलाई समस्या पर्ने बताउँछन् ।  दोस्रो योजनाले विपक्षीको मागको सम्बोधन गरिहालेको त छैन तर पहिलेको जस्तो उनीहरूलाई वेवास्ता गरेर अघि बढ्न नसकिनेतर्फ सचेत बन्दै सबै पक्षलाई मिलाएर अघि बढ्न विश्वासको वातावरणको आवश्यकतालाई औल्याउन खोजेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here