रुस र टर्कीका राष्ट्रपतिले सिरिया द्वन्द्वबारे छलफल गर्ने

140

मस्को/रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका उहाँका समकक्षी रिसेप तयप एर्डोगानबीच सिरियाका बारेमा छलफल हुने भएको छ । रुसको राजधानी मस्कोमा उहाँहरुबीच बुधबार छलफल हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । सिरियाली द्वन्द्वका बारेमा एकअर्कामा ठीक विपरित धारणा राख्दै आएका देशका शीर्ष नेताहरुबीच हुन लागेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सिरियामा रुसले सरकारलाई सघाइरहेको छ भने टर्कीले विद्रोही समूहका लडाकूहरुलाई राष्ट्रपति बशर अल असदका विरुद्धमा लड्नका लागि सहयोग गरिरहेको छ । परस्पर विपरीत पक्षमा उभिएका दुई देशका नेताहरुले अहिले सात वर्षदेखि सिरियामा जारी द्वन्द्वको राजनीतिक समाधानका लागि उपाय खोज्ने अपेक्षा गरिएको छ । उनीहरुले त्यसका लागि सँगै मिलेर काम गर्ने प्रयास पनि गर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट दुई हजार अमेरिकी सेना फर्काइने भन्दै गत महिना गरेको घोषणाले पनि रुस र टर्कीका राष्ट्रपतिको भेट गराएको विश्वास गरिन्छ । टर्कीका राष्ट्रपति एर्डोगानले गत सोमबारको एउटा सम्बोधनमा टर्कीद्वारा नियन्त्रित उत्तरी सिरियाको “सुरक्षा क्षेत्र”का बारेमा रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्न लागेको बताउनुभएको थियो ।

अमेरिकाको समर्थनप्राप्त कुर्द लडाकूहरुले सिरियाको अधिकांश उत्तरी भागलाई नियन्त्रणमा लिएका छन् । रुसले लामो समयदखि सिरियाली राष्ट्रपति असदलाई सहयोग गर्दै आएको छ । रुसले त्यस क्षेत्रमा शान्ति स्थापनका लागि टर्की र इरानसँग त्रिपक्षीय शिखर बैठक आयोजना गर्ने योजना पनि बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here