सुदूरपश्चिम प्रदेशमै श्रम स्वीकृति

161

काठमाडौं/शुक्रबारदेखि सुदूरपश्चिमको धनगढीबाटै श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रम स्वीकृति दिन लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश ४को पोखरा र प्रदेश ६को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवाहरुलाई विकेन्द्रिकृत गरी सरल र सहज बनाउन धनगढीबाट पनि सेवा दिन लागिएको मन्त्रालयले जनाएको छ । त्यसका लागि मन्त्रालयले धनगढीको प्रदेशगत श्रम तथा रोजगार कार्यालयमा वैदेशिक रोजगार इकाइ गठन गरिएको छ । हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवं अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।  अब प्रदेश १ को राजधानी विराटनगरबाट पनि श्रम इजाजत सेवा सञ्चालनको व्यवस्था मिलाउने मन्त्रालयले जानकारी दिएको छ । यसअघि सरकारले काठमाडौंको ताहाचलस्थित वैदेशिक रोजगार विभागको कार्यालयबाट मात्र श्रम स्वीकृति दिँदै आएका थियो । ताहाचलमा श्रम इजाजत लिन अत्यधिक भिड लाग्दा ठूलो सास्ती हुने गरेको थियो । संघीयताको मर्मअनुरुप नै काठमाडौंमा केन्द्रिकृत गरिएको सेवालाई प्रदेशसम्म लागिएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here