विदेशमा धन लुकाउनेमा बिनोद चौधरीको नाम किन आएन ?

1571

–निमकान्त पाण्डे
फोब्र्सको विश्व अर्बपति सूचीमा नाम पार्न सफल भएका नेपाली उद्यमी विनोद चोधरी आफूलाई नेपालको एक नम्बर धनाढ्य पनि दाबी गर्ने हैसियतमा छन् । उनीसँग जे जति सम्पत्ति छ, त्यो हिसाबले उनको दाबी ठीक पनि हो । तर उनी धनाढ्य हुन् भन्दैमा उनले गरेका कर्तुतहरू बाहिर आउनु हुँदैन भन्ने कदापि होइन र हुँदैन पनि । हालै अन्तर्राष्ट्रिय खोज पत्रकारिता केन्द्र लगायतको सहयोगमा विदेशमा कर छली गरेर धन लुकाउने नेपालीहरूको नाम सार्वजनिक भयो । तर ठूलै अनुसन्धान र खोज गरेर नाम बाहिर ल्याइएको भनिएको उक्त रिपोर्टमा बिनोद चोधरीको नाम देखिएन । बरु विदेशमा गैरकानुनी रूपमा धन नै नभएका विनोदकै कान्छा भाइ अरुण चौधरी र चन्द्रप्रसाद ढकाललाई उक्त सूचीमा राखियो । अरुण चौधरीले जुन मुलुकमा उनको कम्पनी रहेको दाबी गरिएको छ, त्यो मुलुकमा आफ्नो परिवारका कुनै सदस्यले यात्रासमेत नगरेको भनेर स्पष्टीकरण दिइसकेका छन् । खोज जहिले पनि सत्यता र वास्तविकताको नजिक हुनुपर्छ । तर रिपोर्टमा त्यस्तो देखिएन । सायद यसतर्फ खोजकर्ताहरूले आगामी दिनमा ध्यान दिनेछन् र दिनुपर्छ पनि ।

विदेशमा नेपालको पुँजी लैजाने विषयमा बिनोद चौधरीको नाम किन उल्लेख गरिएको हो भने चौधरी स्वयंले आफ्नो पुस्तकमा आफूले कसरी स्वदेशमा रहेको धनलाई विदेशमा लैजान सफल भएँ भन्ने कुरा गर्वसाथ उल्लेख गरेका छन् । जबकि नेपालको कानुनले नेपालको पुँजी पलायनलाई गैरकानुनी मान्दै आएको छ । उनी आफैले खुलासा गरेको विषयमा खोज पत्रकारिताको खोज नपुग्नु विडम्बना मात्र होइन, रिपोर्टमाथि नै आशंका गर्नुपर्ने हुन्छ । जुन व्यक्तिले खुलेआम नेपालको पूँजी चोर बाटोबाट पलायन गरेर विदेशमा कम्पनीहरू सञ्चालन गरिरहेको छ, त्यो व्यक्तिका बारेमा रिपोर्ट एक शब्द बोल्दैन, जबकि पूँजी नै पलायन नगरेका व्यक्तिका बारेमा विदेशमा धन र कम्पनी छ भनेर लेखिन्छ । यसले यस्ता किसिमका रिपोर्टमाथि आम जनताको विश्वास र भरोसा टुट्ने सम्भावना रहन्छ । रिपोर्ट सार्वजनिक भएसँगै व्यवसायीहरू चन्द्र ढकाल, अरुण चौधरी र उपेन्द्र महतोले आफूहरूले पूँजी पलायन गरेको भए वा ट्याक्स छलेर विदेशमा लगानी गरेको भए त्यसलाई सरकारीकरण गर्न चुनौतीसमेत दिएका छन् । जबकी बिनोद चौधरीले नेपालबाट पूँजी पलायन गरेर विदेशमा लगानी गरेको घामजस्तै छर्लङ्ग छ । त्यसैले रिपोर्टमाथि आशंका गर्नुपरेको हो ।

नेपालबाट सबैभन्दा धेरै पुँजी बाहिर लैजाने नेपाली नागरिक बिनोद चौधरी नै हुन् भन्ने दाबी एक पूर्वसचिबले यस पंक्तिकारसँग गरेका थिए । उनले स्वदेशी पूँजी पलायनका लागि छोराहरूलाई नै बिदेशी नागरिक बनाइसकेका छन् । विदेशी नागरिक बनेका छोराहरूको नामबाट विदेशमा लगानी गर्न सहज हुने भएकाले उनले यस्तो खेल खेलेका हुन् । उनको यो खेलबाटै अनुमान गर्न सकिन्छ, नेपालमा कमाएको पूँजी बिनोदले विदेशमा कति पलायन गराएका होलान् भनेर ?
पूँजी पलायनमा त उनी अब्बल छन् नै स्वदेशमा कसरी अकुत धन आर्जन गर्ने भन्ने खेल पनि उनले अनौठो प्रदर्शन गरिरहेका छन् । उनको नामको सीजी इलेक्ट्रोनिक्समा भएको आगलागी घटनामा देखाइएको बिमा दावी बिमा ठगी ठहर भएबाटै स्पष्ट भएको छ । सो बिमा काण्डबाटै उनी कस्ता खालका अर्बपति हुन् भन्ने कुरा पुष्टि भइसकेको छ । उद्योगपतिको आवरणमा गलत काम गरेर धन आर्जन गर्नु उनको पेशा नै बनेको छ ।

भर्खरै टेलिकम सञ्चालन अनुमतिका लागि सर्वाेच्चले गरेको फैसलाले विनोद चौधरी आफ्नो स्वार्थ पुरा गराउन न्यायालयलाई समेत आफ्नो प्रभावमा पार्न सफल भएको देखिन्छ । आर्थिक रूपमा शक्तिशाली बनेका यिनले राजनीतिमा पनि आफ्नो आर्थिक शक्तिलाई दुरूपयोग गर्दै आएका छन् । पेशाले उद्योगपति देखिने चौधरी राजनीतिमा कुनै योगदान बिनै राजनीतिक नेतृत्वलाई आर्थिक प्रलोभनमा पारी पटक–पटक सांसद पद खरिदसमेत गर्दै आएका छन् । यो प्रवृत्ति स्थापित हुने हो भने नेपालको राजनीति व्यापारीहरूको जिम्मा लगाइदिए हुने देखिन्छ । राजनीति गर्नका लागि स्कुल जीवनदेखि नै प्रशिक्षण भइरहेको हुन्छ । विद्यार्थी राजनीतिबाट राजनीतिक व्यक्तित्व बनाएका प्रभावशाली नेताहरूलाई उछिन्दै पैसाको बलमा राजनीतिक नेतृत्व तहमा पहुँच हुने गलत परम्परा बस्न थालेको अवस्थाले राजनीति घिनलाग्दो खेल साबित हुन थालेको छ ।

जनप्रतिनिधि हुनका लागि जनताको मन जित्नुपर्ने सामान्य राजनीतिक सिद्धान्तको विपरीत हुने गरी विनोद चौधरीलगायत केही व्यक्तिहरूले समानुपातिक निर्वाचन पद्धतिको दुरूपयोग गर्दै पहिले तत्कालीन नेकपा एमाले र हाल नेपाली कांग्रेसको प्रतिनिधिसभा सदस्य बन्न सफल भएका छन् । जनताको माझमा लामो योगदान दिएर निर्वाचन लड्नुपर्ने ठाउँमा चौधरीजस्ता व्यापारीले सांसद पदलाई खरिद बिक्रि गर्ने वस्तु बनाएका छन् । खरिद गरेर पाएको सांसद पदले व्यक्तिगत स्वार्थका लागि त काम गर्ला तर वर्षाैँदेखि परिवर्तनको अपेक्षा गरेका जनतालाई धोका बाहेक के प्राप्त होला र ? सायद यसको जवाफ चौधरीलाई सांसद पद बिक्री गर्ने राजनीतिक दलहरूले नै दिन सक्लान् ! तर आर्थिक प्रलोभनमा सांसद पद बिक्री गर्ने दललाई सम्बन्धित दलका नेता कार्यकर्ताले प्रश्न गर्न समेत सकिरहेका छैनन् । नेपालको राजनीतिमा देखा परेको यो सबैभन्दा डरलाग्दो अवस्था हो । राजनीति सिद्धान्त, विचार, आस्था र निष्ठाका आधारमा गरिने जनसेवा र राष्ट्रसेवा हो न कि वर्षाैसम्म गैरकानुनी ढंगले धन संकलन गरेर राजनीतिलाई नै भ्रष्टीकरण गर्ने क्षेत्र ! त्यसैले बिनोद चौधरीजस्ता व्यापारीले धनको बलमा सांसद पद खरिद गर्ने प्रवृत्तिबारे निष्ठाको राजनीति गर्ने जो सुकैले भण्डाफोर गर्न सक्नुपर्छ । बिनोद चौधरी जस्ता व्यापारीका कारण मुलुकको पूँजी पलायन मात्र भएको छैन, नेपालको राजनीतिलाई गलत दिशातर्फ लैजाने बलियो आधार पनि बनिरहेको देखिन्छ । यस्तो प्रवृत्तिका कारण नै नेपालको राजनीति भ्रष्टीकरणको दलदलमा समेत फस्दै गइरहेको छ । आगे नेताजीहरूलाई चेतना भया ! जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here