जापानकी २१ वर्षे युवती संसारकै सबैभन्दा सुन्दर ट्रक ड्राइभरको रूपमा चर्चित भएकी छिन् । जापानको कोची प्रान्तमा हुर्किएकी राइनो सासाकीले कहिले पनि ट्रक ड्राइभर बन्ने सोच नभएको जनाइन् । तर सात वर्षअघि आफ्ना ट्रक ड्राइभर बुवा एकाएक बिरामी भएपछि उनले बुवाकै पाइला पछ्याउने निर्णय गरिन् ।
बिरामी भएपनि कामलाई निरन्तरता दिइरहेका बुवालाई घरभन्दा हज्जारौं किलोमिटर टाढा, बाटोमा एक्लै र हेरबिचार गर्ने कोही नभएको देख्दा उनले सहन सकिनन् । त्यतिबेला स्कूलमा ‘डान्स टिचर’ को रूपमा काम गरिरहेकी उनले आफ्नो बुवालाई ट्रकको लामो यात्रामा साथ दिने निर्णय गरिन् । उनले ट्रकको लाइसेन्स पनि पाइन् ।
ट्रक चलाउन सुरु गरिसकेपछि पनि उनले आफ्नो नृत्य सिकाउने जागिरलाई निरन्तरता दिने प्रयास गरिन् । तर ट्रकमा लामो यात्रामा निस्किएपछि आफ्नो कामका लागि घर फर्कन कहिलेकाँही सम्भव नहुने पनि उनले अनुभव गरिन् । त्यसकारण उनी आफ्नो पुरानो व्यवसाय छोड्दै पूर्णकालीन ट्रक ड्राइभर बनिन् ।


















