दुबई मैदानमा नेपालको ब्याटिङ धराशायी

125

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालको ब्याटिङ दुबई मैदानमा धराशायी भएको छ। यो समाचार तयार पारुन्जेल नेपालले २९ ओभरमा १०३ रन बनाएर आठ विकेट गुमाइसकेको छ।

ओपनर ज्ञानेन्द्र मल्ल चार बल खेलेर खाता नै नखोली आउट भए। तीन चौका प्रहार गरेका कप्तान पारस खड्काले २० रन मात्रै बनाउन सके।

अलराउन्डर सोमपाल कामी ३० रनमा एलबीडब्ल्यूको धरापमा परे। दीपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन्।

पवन सर्राफ चार रन र अलराउन्डर करण केसीले तीन रन मात्र बनाए। आरिफ शेखले ३४ बल खेलेर २५ रन बनाई टोलीलाई सम्हाल्ने प्रयास गरिरहेका छन्। उनलाई सन्दीप लामिछानेले साथ दिइरहेका छन्।

युएईका कप्तान मोहम्मद नाविदले प्रारम्भिक जोडी ज्ञानेन्द्र र विनोदको विकेट लिएका थिए भने इमरान हैदर र अमिर हायातले २-२ विकेट लिए।

ब्याटिङ नेपाली क्रिकेटको परम्परागत रूपमै कमजोर रहँदै आएको छ। पछिल्लो एकदिवसीय भेटमा पनि नेपाल युएईसँग ७८ रनले पराजित भएको थियो।

तीन खेलाडीको ‘डेब्यु’
युएईको दुबईमा आज शुक्रवारबाट सुरु भएको तीन एकदिवसीय शृङ्खलाबाट तीन नेपाली खेलाडी पहिलो पटक एकदिवसीय टोलीमा ‘डेब्यु’ गरेका छन्।

जसमा आक्रामक ब्याट्सम्यानका रूपमा पहिचान बनाएका विनोद भण्डारीको यो पहिलो एकदिवसीय खेल हो । राष्ट्रिय टोलीका भने उनी अनुभवी खेलाडी हुन्।

युवा खेलाडीहरू ललितनारायण राजवंशी र पवन सर्राफको भने पहिलो पटक राष्ट्रिय टोलीमा स्थान पाएका हुन्। डेब्यु खेलमा विनोदलाई प्रारम्भिक ब्याट्सम्यानको भूमिका दिइएको थियो।-बीबीसी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here