भारतले गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो : ग्रेटर नेपाल

438

काठमाडौं / ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतको गणतन्त्र दिवसको दिन प्रेस विज्ञप्ति जारी गरि भर्त्सना गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालद्वारा जारी विज्ञप्तिमा छिमेकी देश इन्डियाको ७० औं गणतन्त्र दिवसका अवसरमा भारतीय जनताप्रति हार्दिक बधाई र शुभकामना समेत दिईएको छ भने मोर्चाले सन् १९४७ अगस्त १५ यता विगत ७३ वर्षदेखि नेपालको करिब ६०००० वर्ग किलोमिटर जमिन कब्जा गरेर त्यहाँ गणतन्त्र दिवस मनाउनु प्रजातन्त्र , स्वतन्त्रता र मानव अधिकारको घोर अपमान हो भनिएको छ ।

मोर्चाले नेपाली भूमिमा उपनिवेश कायम गर्नुलाई अपराधको संज्ञा दिँदै भनेको छ, ` लामो समयसम्म उपनिवेशमा रहेर स्वतन्त्रता प्राप्त गरेको भारतले नेपाली भूमिको स्वतन्त्रतामाथि सैनिक बुट प्रहार गर्नु सामान्य कुरा नभएर जघन्य अपराध हो र उसले यो अपराध बोध नगर्नु झन् ठूलो अपराध हो ।

मोर्चाका अध्यक्ष नेपाल भन्छन , `अर्काको सम्पत्ति लुटेर धनी हुने सामन्तजस्तै भारतले नेपाली जमिन कब्जा गरेर अाफ्नो क्षेत्रफल बढाउनु लाजमर्दो र क्षोभजनक कुरा हो । ´ ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले विगत डेढ दशकदेखि १८१६ मार्च ४ मा बेलायतसँग भएको सुगौली सन्धिमा गुमेर फिर्ता हुन बाँकी जमिनमा इन्डियाले कायम गरेको उपनिवेशको तत्काल अन्त्यको माग गर्दै अाएको छ र यो माग अाज २६ जनवरी २०१९ का दिन इन्डियाले गणतन्त्र दिवस मनाइरहँदा पुन: दोहोर्याउँदै नेपाली भूमि सिक्किम , दार्जिलिङ , कुमाउ , गढवालमा गणतन्त्र दिवस मनाउन लागेकामा त्यसको भर्त्सना गरेको छ ।

` यस घडीमा मोर्चा नेपाल र भारतका दुवै सरकारलाई सन् १९६० मा संयुक्त राष्ट्र संघद्वारा पारित उपनिवेशको अन्त्यसम्बन्धी १५१४ नं. को प्रस्तावको पालना गरी संयुक्त राष्ट्र संघको निर्णयको सम्मान गर्न पनि थप आग्रह गर्दछ ।´ मोर्चाले  जारी विज्ञप्तिको अन्त्यमा उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here