सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ तर प्रचार हुन सकेन : माधवकुमार नेपाल

116

दमौली /  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले एकीकरण प्रक्रिया टुङ्गोमा पुग्न नसक्दा सरकारले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको जनाउनुभएको छ ।

तनहुँको आँबुखैरेनीमा आज आयोजित कार्यकर्ता भेटघाटमा उहाँले एकता प्रक्रियामा ढिलाइ हुँदा समस्या उत्पन्न भएको बताउनुभयो । उहाँले एकतालाई टुङ्गोमा पु¥याउन विलम्ब गर्न नहुनेमा जोड दिनुभयो ।

नेता नेपालले भन्नुभयो, ‘कम्युनिष्ट पार्टीको सरकार बनेदेखि नै सरकारले राम्रा काम गरेको छ, तल्लो तहसम्म पार्टी एकता प्रक्रिया नसकिएकाले सरकारका राम्रा कामको प्रचारप्रसार हुन सकिरहेको छैन ।’ पार्टी सङ्गठन चुस्तदुरुस्त भए मात्रै सरकारका गतिविधिसमेत सफल हुने नेपालको भनाइ थियो ।

पार्टी एकीकरणमा ढिलासुस्ती भएको भन्दै पूर्व प्रधानमन्त्री नेपालले सबैलाई न्याय हुनेगरी पार्टी एकीकरणको प्रक्रिया टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकीकरणका लागि धेरै ढिलाइ भइसकेको छ, कार्यकर्तालाई व्यवस्थित गर्दै चाँडै नै यसलाई टुङ्गोमा पु¥याउँछौ ।’

उहाँले सरकारबाट पनि केही कमजोरी हुनसक्ने भन्दै त्यसलाई सच्याउँदै अगाडि बढिने बताउनुभयो । भोलिका दिनमा आलोचना हुने ठाउँ नदिइकन सरकार अगाडि बढ्नुपर्नेमा उहाँको भनाइ थियो । आज नै वरिष्ठ नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले बन्दीपुर गाउँपालिकामा रहेको बाख्रा अनुसन्धान केन्द्रको समेत निरीक्षण गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here