घोराही र तुलसीपुरमा नाटक मञ्चन हुने

376

दाङ /  एक महिना अघि काठमाण्डौको सर्वनाम थिएटरमा मञ्चन भएको नाटक ‘करोट’ अब दाङको घोराही र तुलसिपुरमा मञ्चन हुने भएको छ । प्रणव आकाशद्वारा लिखित तथा निर्देशित नाटक ‘करोट’ माघ १६ देखि १९ सम्म घोराहीमा र २१ र २२ मा तुलसीपुरमा मञ्चन हुने भएको हो ।

ख्याल बगालको प्रस्तुती तथा आयोजना र हेल्पिङ ह्यान्ड्स दाङ र उदाहरण समूह नेपालको सहआयोजनामा घोराही र तुलसीपुरमा नाटक मञ्चन गरिने भएको हो । रबिलाल थारुको निर्माण रहेको नाटक घोराहीको म्यांगो गार्डेनमा देखाईने उदाहरण समूह, नेपालका नवीन अभिलाषीले जानकारी दिनुभयो ।

प्रणव आकाशद्वारा निर्देशित तेस्रो नाटक हो ‘करोट’ । उहाले यस अघि मान्छे पोल्ने भट्टि र भुरभुरा रहर निर्देशन गर्नुभएको छ । ‘मान्छे पोल्ने भट्टि’ नेपाली भाषाको नाटक हो भने ‘भुरभुरा रहर’ र ‘करोट’ थारु भाषाको नाटक हो । करोटको अर्थ थारु भाषामा कोल्टे फेर्नु हुन्छ ।

कलेजका विद्यार्थी, थारु समुदायको बारेमा जानकार सहित आम मानिसलाई लक्षित गरेर निर्माण गरिएको नाटक थिएटर शैलीमा मञ्चन गरिने निर्देशक आकाशले बताउनुभयो ।

तर, यसपाली नाटकलाई थारु भाषाको नाटक भनेर प्रचार नगरिएको आकाश बताउनुभयो । ‘यसपटक नाटकमा ५० प्रतिशत नेपाली भाषाको प्रयोग गरेको छु । भाषाका कारण दर्शकलाई नाटक बुझ्न कठिनाइ भएमा यस विधाप्रतिको मोह घट्ने डरले यसो गरेको हुँ ।’

पश्चिमी भेगका मानिसहरुलाई नाटकका बारेमा त्यति ज्ञान नभएकाले त्यता नाटक पनि निकै कम हुने आकाश बताउनुभयो । ‘आफ्नै ठाउँमा नाटकको बारेमा छलफल गर्ने बाटो मिल्छ त्यसकारण मैले ‘करोट’ लाई सुलब ‘ब्ल्याक बक्स’ बनाउने कोसिस गरेको छु ।’ दाङमा पनि कला सम्बन्धी केही विकास होस भन्ने धारणाका साथ धेरै पहिलेदेखि ‘ब्ल्याक बक्स’ बनाउने बारे छलफल भएको उहाले बताउनुभयो ।

त्यहाँका कतिपय जनतालाई नाटक प्रत्यक्ष देखाइने कला हो भन्ने कुरा पनि थाहा नभएको बताउँदै आकाश भन्नुभयो, ‘दाङमा थिएटर खोल्नुको कारण जतिपनि दर्शक नाटक हेर्न आउनुहुन्छ उहाँहरुलाई पोजिटिव म्यासेज दिम भन्ने हो ।’

राजधानीमा नाटकघर र नाट्य समूहको संख्यामा लगातार वृद्धि भैरहेका बेला काठमाडौं बाहिर पनि यसरी नाटकघर खोल्ने जमर्को हुनु र नाटक मञ्चन हुनु नेपाली रंगमञचका लागि सङ्केत हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here