भेनेजुयताको संकटका विषयमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति निकोलस मडुरोको समर्थन गर्दै अमेरिकाको निन्दा गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले चासो देखाएको छ । नेपालस्थित अमेरिकी दुतावासले दाहालको विज्ञप्तिलाई लिएर परराष्ट्र मन्त्रालयसँग सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको छ । दाहालले गत शुक्रबार भेनेजुयलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए । भेनेजुयलाका जनता, सार्वभौमसत्तामाथि हस्तक्षेप भन्दै यसलाई साम्राज्यवादी कु को प्रयास भएको बताएका थिए ।
भेनेजुयलाका राष्ट्रिय सभाका अध्यक्ष जुवान गुइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि भेनेजुयलामा राजनीतिक संकट सुरु भएको हो । भेनेजुयलाको संकटलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भएका छन् ।
अमेरिका र उसका पक्षधर राष्ट्रले गुइडोलाई समर्थन गरेका छन् । रुस, चीन, भारत, टर्कीलगायतले राष्ट्रपति वैधानिक चुनावी प्रक्रियाबाट निर्वाचित भएको भन्दै मडुरोलाई समर्थन गरेका छन । यही सन्दर्भमा दाहालले पनि विज्ञप्ति जारी गर्दै मडुरोको समर्थन गरेका थिए ।
















