आज एक हुँदै लोहनी र राणा

185

काठमाडौं /   दुई पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)बीचको एकता शुक्रबार  हुने भएको छ ।

प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणा र राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै एकताको सहमतिपत्रमा हस्ताक्षर गरे संगै आज पार्टी एकताबारे घोषणा गर्ने भएको होे  ।

‘संयुक्त वक्तव्यमा नेकपा नेतृत्वको वर्तमान सरकारले संविधानको मर्म र भावनालाई उपेक्षा गरेको छ भने सत्तालाई जनताको हितको सट्टा सिमित शासकका आसेपासे (सिमित भारदार) को आर्थिक हितमा केन्द्रित छ’, वक्तव्यमा भनिएको छ, ‘यो परिवेशमा प्रतिपक्ष देशको राष्ट्रियता, प्रजातन्त्र र जनहितको सिद्धान्त तथा अवधारणालाई बचाउन सत्ता बाहिर रहेका राजनैतिक शक्तिले जनताको हितलाई केन्द्र बिन्दुमा राखेर एकता प्रक्रिया अगाडि बढाउनु अनिवार्य भएको छ ।’

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष राणाले जनताको चहाना बोमोजिम पार्टी एकताको घोषणा हुन लागेको जनाए ।प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले प्रजातान्त्रिक राजसंस्थाको सिद्धान्त र दुई अध्यक्ष हुने सहमतिमा पार्टी एकता हुन लागेको जनाए  । ‘अहिले यिनै कुरामा सहमति भएको छ पछि अरू कुरा पनि थपिन सक्छन्’, उनले भने ।

०७४ साउनमा सरकारमा सहभागिताको विषयमा मतभेद भएपछि अध्यक्ष कमल थापा र वरिष्ठ नेता राणाबीच विवाद बढ्दै गएपछि राणाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका थिए । केही समयअघि थापा र राणा राप्रपाको एकता प्रक्रिया अघि बढेपनि सैद्धान्तिक कुरा नमिलेपछि गत कात्तिकमा कुरा भाँडिएको थियो ।

राजसंस्थाको छायाँमा २०४७ जेठ १५ मा दुईवटा राप्रपा स्थापना भएका थिए । स्थापनाको एकवर्षमै दुवै पर्टीबीच एकता भयो । तर, समय क्रमसँगै यो पार्टी पुनः विभाजन भयो । त्यसपछि राप्रपाले पटक–पटक जुट र फुटको नियती व्यहोर्दै आएको छ । पछिल्लो पटक ०७३ मंसिरमा राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको थियो । त्यसलगत्तै राप्रपाका अर्का प्रभावशाली नेता डा.लोहनीले एकीकृत राप्रपा (राष्ट्रवादी) लाई छुट्टै गठन गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here