निर्देशक प्रदिप श्रेष्ठ निर्देशित फिल्म ‘ब्ल्याक’ टिमले आफ्नो प्रचारलाई तिव्र बनाएको छ । प्रदर्शन मिति नजिकिँएसँगै निर्माण टिमले मोफसलका मुख्य स्टेशन केन्द्रित प्रचार अभियान बोकेर यतिबेला पूर्वी नेपाल पुगेको छ ।
निर्देशक श्रेष्ठले फिल्मले जिन्दगीका रङहरुको ब्याख्या गरेको जनाए । निर्मात्री आश्मा पाण्डेले विर्तामोड र दमक पश्चात् इटहरी पुगेकी आफू पूर्वकै चेली भन्दै दर्शकलाई आफ्नो फिल्मले निराश नबनाउने साथै पूर्वेली दर्शकको साथ र सहयोगको अपेक्षा राखेकी छिन् ।
यसअघिका फिल्मभन्दा भिन्न रहेको भन्दै अभिनेत्री आँचलले ‘ब्ल्याक’ आफ्नो पुस्ताका सबै दर्शकको प्रतिनिधित्व फिल्मले गरेको दाबी गरिन् ।
उनले भनिन्, ‘बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा फिल्मले बोकेको छ । पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी फिल्म घुमेको छ।’
अभिनेता आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने भन्दै पृथक स्वादको प्रेमको आभाष ‘ब्ल्याक’ ले दिलाउने जनाए ।
मोफसल केन्द्रिय प्रचारलाई अघि बढाउने क्रममा आज हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवल हुँदै पोखरा पुगेर राजधानी फिर्नेछ ।
फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायत लिड रोलमा छन् ।


















