काठमाडाैं । बनेपामा आउँदो भदौमा राष्ट्रिय खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाल केनसिनकान कराते संघले आगामी भदौ ४ गते शनिवार उक्त प्रतियोगिताको आयोजना गर्ने भएको हो ।
प्रतियोगितामा विभागीय टिम, विभिन्न कराते संघ, डोजोलगायतका निकायबाट करिब २५० खेलाडीको सहभागिता रहने अनुमान गरिएको छ । प्रतियोगितामा प्रत्येक वजन समूहमा प्रथम हुने खेलाडीलाई रु १५ हजार, द्वितीयलाई रु १० हजार र तृतीय हुने दुई खेलाडीलाई जनही रु पाँच हजार नगद पुरस्कारसहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
यस्तै, महिला तथा पुरुषतर्फ सर्वश्रेष्ठ खेलाडी घोषित गरी पुरस्कृत गरिने छ । प्रतियोगिता सञ्चालन गर्न विभिन्न पाँच समिति गठन भएका छन् । नेपाल फुल कन्ट्याक्ट कराते महासंघबाट प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताका लागि रु १४ लाख ६५ हजार खर्चिने जनाइएको छ । रासस


















